वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

सरकारको ढिलाईले असुरक्षित गर्भपतन गर्न बाध्य

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, अशोज ११, २०७५ ।    

प्रेम बुढा/मधुवन।
सरकारले स्थानिय तहमा स्वास्थ्य निर्देशिका पठाउन ढिलो गरेका कारण जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गर्ने औषधी अभाव भएको छ । विगतमा सरकारले जिल्ला स्वास्थ्य कार्यालय मार्फत पठाउने गरेको गर्भपतनको औषधी खरिद गर्ने अधिकार पछिल्लो समय स्थानिय तहका स्वास्थ्य शाखालाई दिएको छ । तर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य निर्देशिका पठाउन ढिलाई गरेका कारण औषधी खरिद गर्न केही समय लाग्ने मधुवन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिहर सापकोटाले बताए ।
औषधी नहुँदा जिल्लाका स्थानिय तहका स्वास्थ्य संस्थाले विगत ९ महिना देखि गर्भपतन सेवा दिन सकेका छैनन । औषधीका नभएका कारण महिलाहरु तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन गराउने सेवाबाट वाञ्चित छन । स्वास्थ्य चौकीमा मेरीप्रिन्ट र मेगावोन औषधी ९ महिना देखी नभएको स्वास्थ्य चौकी सानोश्रीले जनाएको छ । अपरिपक्व माया र क्षणिक आकर्षणमा गासिने यौन सम्बन्धका कारण अधिकांस किशोरीहरु सानो उमेरमा पाठेघरको समस्याबाट गुज्रिने गरेका छन । किशोरावस्थाको आवेग र यौनमा खुल्लापन खोज्दा हुने सम्बन्ध व्यवस्थित नहुँदा असुरक्षित गर्भपतन गर्ने किशोरीहरु दिर्घकालिन स्वास्थ्य समस्यामा फस्ने गरेका सापकोटाको भनाई छ । ‘१३/१४ बर्षका किशोरीहरुले पनि असुरक्षित गर्भपतन गर्छन । यो संंख्या दिनप्रतिदिन बढ्दो छ ।’सापकोटाले भने- ‘तालिम प्राप्त व्यक्ति विनै र हाईडोजको औषधी प्रयोग गर्दा पाठेघर खस्ने, फेरी बच्चा नबस्ने समस्या छ ।’ उनका अनुुसार असुरक्षित गर्भापतनका कारण किशोरी तथा महिलाहरुमा पाठेघर सम्बन्धि रोग,बच्चा खेर जाने, बच्चा नबस्ने जस्ता जटिल स्वास्थ्य समस्या देखापर्ने गर्छन । गत बर्षको पुष महिना सम्मको तथ्यांक अनुसार सानोश्री स्वास्थ्य चौकी मा २६ र ढोढरी स्वास्थ्य चौकीमा ३० जना किशोरी तथा महिलाहरुले सुरक्षित गर्भपतन गरेका थिए । स्वास्थ्य चौकीमा ९ हप्ता सम्मको गर्भपतन गराउन पाउने वैधानिक व्यवस्था छ । त्यस्तै जिल्ला अस्पताल बर्दियामा गएको आर्थिक बर्षमा २१२ जनाले गर्भपतन सेवा लिएका छन । जसमा २ जना मात्रै २० बर्ष मुनिका किशोरी गर्भपतनको सेवा लिन आएका मेडिकल तथ्यांक संकलक लिला श्रेष्ठले बताईन । यो आर्थिक बर्षको साउन र भदौ महिनामा ३६ जनाले गर्भपतन सेवा लिइ सकेका छन । गर्भपतन गराउने वैधानिक संस्थाको बारेमा जानकारी र असुरक्षित गर्भपतनबाट स्वास्थ्यमा पर्ने असरका बारेमा जनचेतना जगाउनल सबैले भूमिका खेल्नु पर्ने अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेले बताए ।
यसैविच मधुवन नगरपालिकाले चौथो सुरक्षित गर्भपतन कार्यक्रम बुधवार मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: