वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

सिमाका बर्दियाली : धनीपुर्जा नेपालीका नाममा, जोतभोग भारतीयको

        छापाबाट   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक १३, २०७५ ।    

गुलरिया, बर्दिया।
गुलरिया नगरपालिका-८ थपुवा गाउँका स्थानीयसँग जग्गा धनीपुर्जा छ तर उनीहरूसित जोतभोगका लागि जग्गा छैन । आफूहरूले उपभोग गर्दै आएको जग्गा भारतीयले अतिक्रमण गरेको स्थानीय बासिन्दाको गुनासो छ । भारतीय सुरक्षाकर्मीको सहयोगमा जग्गा अतिक्रमण गरेको उनीहरूले बताए ।
स्थानीय फत्ता थारूको १० कट्ठा खेतीयोग्य जमिन भारतीयले कब्जा गरेको एक दशक भयो । अतिक्रमण अहिले पनि रोकिएको छैन । स्थानीय विश्राम थारूको २ बिघा ७ कट्ठा, खटिक थारूको १४ कट्ठा, रामदत्त थारूको १४ कट्ठा अतिक्रमणमा परेको छ । ‘सीमास्तम्भ सारेर मेरो जमिन भारततिर गाभिएको छ,’ स्थानीय जोगेश्वर थारूले भने, ‘लालपुर्जा मात्र भएर के गर्ने ? जमिनजति सबै भारततिर पारिएको छ ।’
आफूहरूसँग नेपाली जग्गाधनी पुर्जा भए पनि जग्गा भने भारतले कब्जामा लिएको उनीहरूले बताए । पीडित पक्षले स्थानीय प्रशासनलाई पटक–पटक यसबारेमा अवगत गराए पनि सुनुवाइ नभएको उनीहरूले गुनासो गरे ।
बबई नदीसँग सीमा जोडिएको थपुवा गाउँको जग्गा ०७१ र ०७४ सालमा आएको बाढीले झन्डै ३० प्रतिशत कटान गरेको थियो । यसरी बगरमा परिणत भएको भूभाग भारतीयले आफ्नो भएको दाबी गरेपछि उनीहरू जग्गाविहीन बनेका हुन् ।
सीमावर्ती क्षेत्रका मध्यम खालका सीमास्तम्भ नदीले बगाएपछि यहाँ जग्गा विवाद आएको स्थानीयले गुनासो गरे । ‘भारतले सीमा स्तम्भ सारेको ठाउँमा विगतमा नेपालले तटबन्ध गर्न दिएको थिएन,’ स्थानीय फत्ता थारूले भने, ‘जबरजस्ती हाम्रो जमिन कब्जा गरिएको थियो । अहिले त्यही जग्गा बबई नदीले कटान गरेको छ ।’
यहाँको दशगजानजिक भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्लाको कतरनिया वन्यजन्तु आरक्ष छ । जिल्ला जोड्ने नेपाल–भारत सीमामा रहेका अधिकांश दशगजा क्षेत्र जंगलका झारपातका कारण देखिन छाडेका छन् । बर्सेनि आउने बाढी र कटानले नेपाल–भारत सीमास्तम्भ बगाउँदै गएको छ । स्तम्भ बगाएका कारण सीमा छुट्याउन नसकिएकाले भारतीयले आफ्नो भूमि भन्दै मिच्ने गरेको स्थानीयले बताए ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक वर्षभित्र नेपाल–भारत संयुक्त नापी टोली आएपछि समस्या समाधान हुने बताए । ‘उक्त टोलीले अहिले दाङमा काम गरिरहेको छ,’ उनले भने, ‘त्यहाँको काम सकिएपछि बाँके र बर्दियामा सीमा छुट्याउने र सीमास्तम्भ निर्माण गर्ने काम सुरु हुनेछ ।’
पूर्व मानखोलादेखि पश्चिम राजापुर गाविसस्थित कर्णाली नदीमा ८३ दशमलव ८ किमि लामो सीमा रहेको छ । करिब ९० प्रतिशत सीमामा भारतीय जंगल पर्छ । विगत ४ वर्षयता बबई नदीमा आएको बाढी र कटानले ३२ वटा सीमास्तम्भ बगाएको सशस्त्र सीमा सुरक्षा बलले जनाएको छ । ०७१ र ०७४ मा आएको बाढीले ३२ वटा ठूला, साना र मझौला सीमास्तम्भ बगाएको थियो । बबई नदीको कटानले केही सीमास्तम्भ अझै पनि उच्च जोखिममा रहेको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।
सदरमुकाम गुलरिया नजिक रहेका तीनवटा सीमास्तम्भ उच्च जोखिममा छन् । सशस्त्र प्रहरी बलका अनुसार ती सीमास्तम्भ ठूलो बाढी आउनासाथ बग्ने निश्चित छ । दशगजामा नदी नियन्त्रणका लागि तटबन्ध बनाउन नमिल्ने भएका कारण सीमास्तम्भ जोखिममा पर्दै आएका हुन् ।
यसैगरी नेपाल–भारत छुट्याउने सीमामा गाडिएका मुख्य सातसहित ९३ सीमास्तम्भ अहिले हराएका छन् । पछिल्लो पटक सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नापी, राष्ट्रिय अनुसन्धान लगायत टोलीले भारतीय घना जंगलसँगै जोडिएको सीमामा रहेका २ सय ४५ सीमास्तम्भको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ४२ मुख्य स्तम्भमध्ये ३२ वटा मर्मत गर्नुपर्ने र ७ वटा पुन: निर्माण गरिनुपर्ने सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक कोइरालाले बताए । सहायक सीमास्तम्भ ६८ मध्ये ९ वटा फेला परेका छैनन् ।
सशस्त्र प्रहरी कार्यालयका अनुसार साना सीमास्तम्भ १ सय ३५ मध्ये १ मर्मत गर्नुपर्ने, ३१ पुनर्निर्माण र बाढीले २५ वटा बगाएको छ । कटानसँगै नदीले ओगटेको भूभाग भारतीय सुरक्षाकर्मीले आफ्नो भन्दै दाबी गर्दै आएका छन् । कटान नभएको जग्गा जोतभोग गर्न रोक लगाउँदै आएको गुलरिया ८ थपुवाका तुलसी थारूले गुनासो गरे । यसैबीच जिल्लास्थित स्थानीय प्रहरी र जनप्रतिनिधिले बबई नदीले सीमास्तम्भ बगाएको र विवादित क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।
सीमास्तम्भ नम्बर ६१ मा भारतीय नागरिकले दशगजा मिचेर पक्की सडक र घर निर्माण गरेका छन् । भारतीय पक्षले जिल्लाको गुलरिया नगरपालिका र राजापुर क्षेत्रमा सीमा अतिक्रमण गरेको विवाद विगत ४० वर्षदेखि कायम रहेको स्थानीय बताउँछन् । कतिपय सीमास्तम्भ तोडफोड गरिएको अवस्थामा फेला परेका छन् । जिल्लामा एक दशकअघि सीमा सुरक्षा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: