वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

बस्तुभाउ चराउन सिमापारी श्रमदान

        छापाबाट   |   प्रकाशित मिति: शुक्रबार, अशोज १९, २०७५ ।    

बर्दिया-गुलरिया नगरपालिका १० का राम खेलावन गोडिया बस्तुभाउ चराउन दिनहुँ भारतीय जंगल जान्छन् । सीमावर्ती बासिन्दा उनलाई मुलुकभित्र बस्तुभाउ चराउन वन छैन । उनीमात्र होइन, गुलरिया, मधुवन, राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकावासी भारतीय वनमा चरिचरनका लागि निर्भर छन् ।
सीमा क्षेत्रमा वनजंगल नभएकाले अर्काको मुलुकमा प्रवेश गर्नुपरेको त्यहाँका बासिन्दाले बताए । बस्तुभाउ चराएको र घाँस–दाउरा गरेबापत वन कर्मचारीले उनीहरूबाट नगद असुल्छन् । वर्षमा दुईपटक भारतीय वन सफाइ गर्न दिनभर श्रमदान पनि गर्नुपर्छ ।
श्रमदानको मुख्य उद्देश्य निर्बाध रूपमा बस्तुभाउ चराउनु, घाँस–दाउरा गर्न पाउनु हो । गर्मी र हिउँदयाममा सीमा सुरक्षा बल (एसएसबी) र वन कर्मचारीले जंगल सरसफाइ, फारलाइन मर्मतका काम नेपालीबाट गराउँछन् । भारतीय वन विभागले सीमावर्ती कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्र उपयोग गरेबापत वार्षिक कर लिने गरेको छ । ‘श्रमदान गर्नुपर्छ, कर पनि तिर्नुपर्ने नियम छ,’ गोडियाले भने, ‘सित्तैमा घाँस कहाँ पाइन्छ ?’
तिहाइ (नगद वा खाद्यान्न) तिरे पनि बेलाबेला चरिचरनमा रोक लगाउँदा समस्यामा पर्ने गरेको गुलरिया १० का कालीबहादुर सुनारले बताए । श्रमदानबापत एसएसबीले घाँस, दाउरा लैजान दिए पनि वन कर्मचारीले असुली गर्ने गरेको उनी बताउँछन् । ४ दशकदेखि भारतीय जंगलमा घाँस, दाउरा र चरिचरनबापत नेपालीले वनका मुन्सीलगायत कर्मचारीलाई खाद्यान्न तिहाइका रूपमा बुझाउने गरेका छन् । एउटै परिवारले ६ महिनामा १५ किलो धान वा गहुँ बुझाउनुपर्छ ।
मानवीय क्षति
परनिर्भर भएकाले वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । चार वर्षअघि वनमा घाँस, दाउरा गर्न गएका गुलरिया ८ का राममिलन लोधलाई मूर्तिहा जंगलमा गोली प्रहार भएको थियो । गम्भीर घाइते लोधलाई गोली चलाउनेले मोटरसाइकलमा राखेर बेपत्ता पारेको दाबी परिवारले गर्दै आएका छन् । उनको अवस्था अझै अज्ञात छ । त्यस्तै रूख काटेको आरोपमा तीन वर्षअघि वनरक्षकले गुलरिया सुरजपुरस्थित सीमामा प्रवेश गरी स्थानीय मनोज यादवसहित चार जनालाई गोली प्रहार गरी घाइते बनाएको प्रशासनले जनाएको छ ।
बढैयाताल गाउँपालिकास्थित जमुनीका हर्कबहादुर शाहीलाई पनि ८ वर्षअघि गोली प्रहार गरी घाइते अवस्थामा बेपत्ता पारिएको थियो । अहिलेसम्म उनको अत्तोपत्तो छैन । सीमावर्ती गाउँनजिक जंगल नभएकाले स्थानीय भारतीय जंगलमा घाँसपात गर्न बाध्य छन् । कमल पन्थीको यो समाचार कान्तिपुरबाट लिईएको हो ।

प्रतिक्रिया दिनुहोस्: