वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

छोरी जन्मे गेरुवा गाउँपालिकाले २ हजार दिने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०७५ ।    

मिन अधिकारी/गेरुवा, बर्दिया।
बर्दियाको गेरुवा गाउँपालिकाले छोरी जन्मे उनीहरुको संरक्षण र शिक्षाको लागि प्रति व्यक्ति दुई हजार रकम छुट्याउदै आएको छ । गाउँपालिकाले गत वर्षदेखी ‘छोरी जन्माउ,छोरी बनाउ’ भन्ने नारासहित कार्यक्रम ल्याएको थियो । गत वर्षदेखि जन्मिएका छोरीको जन्मदर्ता बनाएर आवेदन दिएका अभिभावकलाई बैंकमा बालबचत खाता खोल्न लगाई बालिकाको खातामा रकम भुक्तानि गरिरहेको छ । खातामा जम्मा भएको रकम बालिका १६ वर्ष पूरा भएपछि मात्र निकाशा गर्न पाइने व्यवस्था रहेको छ ।
गत आर्थिक वर्षको सुरुवात देखि नै छोरी जन्मिए दुई हजार रुपैयाँ दिने गाउँपालिकाले निर्णय गरेको थियो । आर्थिक वर्षको अन्त्य तिर भत्ता लिन आउनेको संख्या ह्वात्तै बढेको गेरुवा गाउँपालिकाका लेखा प्रमुख तुलसी राम श्रेष्ठले बताए । उनले भने –‘वर्ष भरी एक सय जनाको मात्र आवेदन पर्ने आंकलन गरेर गाउँपालिकाले २ लाख बजेट छुट्याएको थियो तर साउन मसान्तसम्म एक सय ६० जनाले यो सुविधा उपभोग गरेका छन् ।’ छुट्याएको बजेट अपुग भई दामासहिले रकम वितरण गरेको लेखा प्रमुख श्रेष्ठले बताए । उनले भने ‘बजेट अपुग भएर एक सय ६० जना बालिकालाई १ हजार २ सय ५० रुपैयाँ वितरण गरेका छौँ । चालु आर्थिक वर्षमा प्रोत्साहन भत्ताको लागि ५ लाख रुपैयाँ विनियोजना गरिएको छ । यस वर्षमा प्रति बालिका २ हजारका दरले रकम वितरण गरिनेछ ।
बालिकाको संरक्षण पनि हुने र पछि गएर बालिकाको अध्ययनमा सहयोग मिल्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको गाउँपालिकाले जनाएको छ । छोरीलाई पनि छोरा सरह बनाउने सोचका साथ गाउँपालिकाले वितरण सुरु गरेको प्रोत्साहन भत्ताका लागि आवेदन दिनेको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ साउन देखि सुरु भएको प्रोत्साहन भत्ताको सुविधा लिन आउने अभिभावकको संख्या शून्य रहेको थियो । ७५’ साउन यता हाल सम्म रकम मागका लागि गेरुवा गाउँपालिकामा २० जनाले आवेदन दिई सकेका छन् । छोरी जन्माउने बाबुआमाको प्रोत्साहन र उनीहरुको शिक्षा दिक्षाको लागि भत्ता उपलब्ध गराउन थालिएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताए । उनले भने–‘अझै पनि समाजमा छोरी जन्माउनेलाई नराम्रो दृष्टिकोणले हेर्ने, छोरीलाई बोझको रुपमा हेर्ने गरिएको छ । यसलाई न्युनीकरण गर्नका लागि रकम दिने व्यवस्था गरिएको हो ।’ रकम नगद दिँदा अभिभावकले मास्ने र छोरीको नाममा नराखिदिने हुनाले बैकमा बालबचत खाता खोलाई राखिदिने र बालबालिकालाई बचत गर्ने बानिको विकास गराउने लक्ष्य रहेको उनले बताए । केसीका अनुसार अहिले गेरुवा गाउँपालिकामा छोरी जन्माउनेलाई नकरात्मक दृष्टिकोणले हेर्ने क्रम घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्: