वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

थारु बस्तीमा माघीको रौनक (फोटो फिचर)

        भगतराम थारु   |   प्रकाशित मिति: शनिबार, पुस २९, २०७४ ।    

नेपालगन्ज, बाँके ।
थारु समुदायको माघी पर्व आउन दुई दिन बाँकी रहँदा थारु बस्तीमा चहलपहल बढेको छ । थारु समुदायको महान पर्व अर्थात थारु समुदायको नयाँ बर्षको रुपमा मानिने माघी पर्व नजिकिदै गर्दा थारु बस्तीमा चहलपहल बढेको हो ।

माघी पर्वलाई भव्य रुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् । माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएको हुनाले यसलाई तामझामका साथ मनाउने गरेको बर्दिया ठाकुरबाबा नगरपालिका ३ मिर्चैयाका हरि प्रसाद थारुले बताए । पर्व नजिकिदै गर्दा पैसाको जोहो गर्न आफुले अरुको घरमा मजदुरी गर्न जाने गरेको उनले बताए । मजदुरी गरेको पैसाले माघी मनाउने उद्देश्य रहेको चौधरीको भनाई छ ।

माघी मनाउनका लागि जाँड, रक्सी र घर लिपेर सक्यो बाँके फत्तेपुरका फुलमति थारुले भनिन । माघी पर्व भव्य तरिकाले मनाउने भएको हुनाले यसलाई अझ भव्य बनाउन सवै तयारी पुरा भएको उनको भनाइ छ । माघीमा आफन्ती आउने भएको हुनाले उनिहरुको सेवा सत्कारका लागि सम्पुर्ण तयारी पुरा भएको र घरमा धेरै आफन्ती एकै ठाउँमा जम्मा भएर मनाउने योजना रहेको फुलमतिको भनाइ छ ।

थारु समुदायले माघी महिनालाई नयाँ बर्षको रुपमा समेत भव्य रुपमा मनाउने गर्दछन् । माघी महिनामा थारु समुदायमा घर फुट्ने, अरुको घरमा कमैया बस्ने नवस्ने, जग्गा अधिया लगाउने नलगाउने, बडघर बस्ने नबस्ने, चौकिदार हेरफेर जस्ता महत्वपुर्ण योजना बनाउने भएको हुनाले माघी महिनालाई थारु समुदायले महत्वपुर्ण पर्वको रुपमा मनाउने गर्दछन् । थारु समुदायमा माघ १ गते देखि ७ गतेसम्म अझ धुमधामका साथ मनाउने गर्दछन् । पुषको अन्तिम दिन थारु समुदायका मानिसहरु रातभरि आगो ताप्ने, बंगुरको मासु, गैइजी, तरुल जस्ता विभिन्न परिकार बनाएर खाने चलन समेत रहेको छ । सोहीदिन पुषको अन्तिम दिन रातभरि आगो ताप्ने र भाले बासेको समय विहान २ बजेदेखि नजिकै रहेको खोला, नदिमा नुहाएर आफुभन्दा ठुलासंग आर्शिवाद समेत लिने चलन रहेको छ । माघ १ गते पहिलो दिन भएको हुनाले नजिकै रहेको मेला समेत जाने गर्ने गर्दछन् । माघी पर्वमा एक आपसमा साथीभाईहरुसंग मिलेर जाँड रक्सी समेत पिउने र मनोरञ्जन गर्ने युवायुवतीहरुले गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्: