वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

ई-सुशासन सुरु गर्दै नेपालगन्ज उपमहानगरपालिका

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४ ।    

नेपालगन्ज,बाके।
तपाई नेपालगन्ज उपमहानगरपालिकाको बासिन्दा हुनुहुन्छ ? तपाईको घरनजिकै निर्माण भईरहेको सार्वजनिक योजनाको काममा चित्त बुझेको छैन ? अब तपाई दलबलसहित उपमहानगरपालिकाको कार्यलय नै धाईराख्न पर्दैन । नागरिकलाई सहज र सरल ढंगले सेवा सुविधा प्रदान गर्न उपमहानगरपालिकाले सूचना प्रविधिको क्षेत्रमा अभुतपुर्व विकास गर्दैछ । अबदेखि घरमै बसेर मोवाईल मार्फत योजनाको गुनासो गर्न सक्ने गरी एप्सको विकास गरिएको छ । उपमहानगरपालिकाले निर्माण गरिरहेको एप्स औपचारिक प्रक्रिया पुर्‍याएर छिट्टै संचालन गर्ने तयारी गरेको छ ।

आगामी मार्चपछि एप्स सार्वजनिक हुनेछ । एप्समार्फत उपमहानगरपालिकामा संचालित सबै योजनाहरुको बारेमा जानकारी पाइनेछ । यसैगरी सडक बिग्रेमा, गुणस्तरमा चित्त नबुझेमा एप्समार्फत सिकायत गर्न सकिने ब्यवस्था गरिएको उपमहानगरपालिकाका सूचना प्रविधी अधिकृत घनश्याम बर्माले जानकारी दिए । ‘अहिले एप्सको नामका बिषयमा छलफल चलिरहेको छ’ बर्माले भने– ‘त्यसबाट घटनादर्ताको टोकन लिन र गुनासो टिपाउन सकिन्छ ।’

ई–सुशासन भएपछि अहिले संचालन भईरहेका कार्यक्रम समेत प्रभावकारी हुने अपेक्षा उपमहानगरपालिकाको छ । उपमहानगरपालिकाले ई–सुशासनमा बिशेष ध्यान दिन थालेको पाइएको छ । टोल फ्रि नम्बर समेत संचालनमा ल्याइएको छ । कार्यालयको टोलफ्रि नम्बर १६६०८१५२०५२ हो । यसमा फोन गर्दा तपाईंको पैसा लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्: