वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बर्दियाको एक विद्यालय जहाँ नपढाएरै तलव खान्छन् शिक्षक !

        प्रेम बुढा   |   प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४ ।    

मधुवन,बर्दिया ।
बाल शिक्षा देखी कक्षा ४ सम्मको एउटा सरकारी प्राथमिक विद्यालयमा जम्मा ८ जना विद्यार्थी पढ्छन भन्ने सुन्दा तपाईलाई आश्चर्य लाग्ला । यो वास्तविकता हो मधुवन नगरपालिका—४ मा रहेको दिपेन्द्र प्राथमिक विद्यालयकोे । त्यो पनि शिक्षकहरुको चरम लापर्बाहीका कारण विद्यार्थी गुणस्तरीय शिक्षाको नैसर्गिक अधिकारबाट बन्चित छन । अझ भनौं जुँगाको लडाईं बाच्छाको मिचाई जस्तै भएको छ यो विद्यालय ।

यस शैक्षिक शत्रमा भर्ना भएका १७ जना विद्यार्थी मध्ये पुष महिनासम्म आईपुग्दा विद्यालयमा कुनै दिन ८ जना विद्यार्थी उपस्थित हुन्छन् भने कुनै दिन त्यो भन्दा पनि कम । विद्यालय आउने अधिकांश विद्यार्थीहरु दिन विराएर गयल हुन्छन, आएका मध्ये एक जना सुस्त मनस्थितिकी र एक जना बोल्न नसक्ने छात्रा छन । सबै एउटै कक्षामा बसेर पढछन्, खेल्छन । तर विद्यार्थी उपस्थित नहुँदा प्रधानाध्यापकलाई चिन्ता छैन । शिक्षकले नपढाए बालबालिकाले के सिक्लान् शिक्षकलाई पिर छैन ।

महिनामा मुस्किलले हप्ता दिन त्यसमा पनि केही समयका लागि विद्यालयमा पुग्ने प्रधानाध्यापक घनराज खत्रीले नपढाएरै तलब खाईरहेका छन् । विद्यालयमा प्रधानाध्यापक बाहेक शिक्षक मुलचन्द्र चौधरी, पवित्रा गुरुङ कार्यरत छन । गत बुधबार विद्यालय पुग्दा पवित्रा गुरुङ उपस्थित थिइनन भने शिक्षक मुलचन्द्र चौधरी विद्यालय छेउको स्थानियको घरमा आगो तापिरहेका थिए । बाल शिक्षा र अन्य कक्षाका गरि ६ जना बालबालिका एउटा कक्षा कोठामा केही लेखिरहेका देखिन्थे । कार्यालय सहयोगी अमृता चौधरीले गत कात्र्तिकबाट विद्यालय छोडिसकेकी छन । विद्यार्थीहरु विद्यालय पोषाकमा आउदैनन् । विद्यालयले बालबालिकाको भविष्य माथी चरम लापरबाही गरेको स्थानिय राम बहादुर चन्दले बताए ।

यस कारण भयो विद्यालयको यस्तो अवस्था

विगतका शैक्षिक शत्रमा विद्यार्थीको संख्या कम हुन थालेपछि जिल्ला शिक्षा कार्यालयले नजिकका विद्यालयमा गाभ्ने र शिक्षकलाई पायक पर्ने स्कुलमा पठाउने विषयलाई जोड दियो । दिपेन्द्र प्राविका अभिभावक, व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक प्रधानाध्यापक विच मंसिर महिना अघी भएको छलफलले नजिकको नेपाल राष्ट्रिय नमूना मा.वि ढोढरीमा गाभिने निर्णय गर्यो । प्रधानाध्यापक घनराज खत्रीले गाभिएर(मर्ज भएर) जादा आफुनै पुनः प्रधानाध्यापक बन्न पाइने मनाशयले नजिकको बुद्ध प्राविमा समायोजन हुनु पर्ने माग राखे । निर्णयका बर्खिलाप गर्दै खत्रीले निर्णय लेखिएको माइनुट आफ्नो झोलामा हालेर हिडिरहेको भन्दै व्यवस्थापन समितिका अध्यक्ष टिकाराम चौधरीले भने ‘उहाँले त्यो फाईल सम्बन्धित ठाउँमा पुर्याउनु भएको छैन । आफनै जिद्दीमा बस्नु भएको छ ।’
उता प्रधानाध्यापक खत्रीले श्रोत व्यक्तिबाट नजिकैको बुद्ध प्राविमा समायोजन हुन अबरोध गरेकोे आरोप लगाए । उनले भने ‘अन्यत्र विद्यालयमा पदस्थापना गरिदियोस भन्ने चाहाना हो तर राजनितिक आडमा मलाई समस्यामा परिएको छ ।’
समयमा विद्यालयमा नजाने गए पनि हाजिर गरेर फर्कने र नपढाएरै तलब खान पाइने भएकोले पटक पटक ताकेता गर्दा पनि प्रधानाध्यापक खत्रीले निर्णय लेखिएको माइनुट पेश नगरेको विद्यालय निरिक्षक पूण्य प्रसाद न्यौपानेले बताए । विद्यालयको सेवा क्षेत्रमा ५२ घरधुरी पर्छन् भने चौधरी समुदायको बाहुल्यता बढि छ । सेवा क्षेत्र भित्र बालबालिकाको संख्या कमी रहेकोले विद्यार्थी संख्या कमी भएको प्रधानाध्यापक खत्रीको दावी छ । कक्षा १(बालशिक्षा भनेर राखिएको) मा ५, कक्षा दुई, तीन र चारमा ४/४ जना भर्ना भएका थिए । भर्ना भएका १७ मध्ये १३ जना चौधरी समुदायका बालबालिका छन् ।

यसो भन्छन जिल्ला शिक्षा अधिकारी

प्रधानाध्यापक घनराज खत्रीलाई काजमा ढोढरी पठाउने या कार्वाही गर्ने भन्ने बारे नगरप्रमुखसंग समन्वय गरि सात दिन भित्र जानकारी पठाउन श्रोत व्याक्तिलाई निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । उनले भने ‘जिल्ला शिक्षा कार्यालयले खटाएको ठाउँमा जान अटेर गर्ने र विद्यार्थीको भविष्य माथी खेलवाड गर्ने प्रवृति रोक्न तलब राक्ने र विभागिय कार्वाही गर्ने कानुनी बाटो छ ।’
तर पदको दुरुपयोग गर्दै गुणस्तरिय शिक्षाबाट बालबालिकालाई वन्चित गर्ने विद्यालयको हर्कत प्रति श्रोत व्यक्ति, विद्यालय निरिक्षक तथा जिल्ला शिक्षा कार्यालय लाचार रुपमा प्रस्तुत भएकोे स्थानिय अभिभावकहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्: