वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

चिसोका कारण बर्दिया सहित पश्चिम नेपालको जनजीवन प्रभावित, वृद्धवृद्धा र बालबालिकामा चिसोको बढी प्रभाव

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस ५, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
केही दिनयता बढेको चिसोका कारण बर्दिया सहित पश्चिम नेपालको जनजीवन प्रभावित बनेको छ । यसको प्रत्यक्ष मारमा बर्दिया, बाँके, दाङ, कैलाली, सुर्खेत लगायत जिल्लाका बाढीपीडित परेका छन् ।
बाढीले घरबार बगाएपछी अस्थायी टहरामा बस्दै आएका अधिकांश बाढीपीडितका बालबालिका, बृद्धबृद्धामा निमोनिया, रुघाखोकी, ज्वरो, टाइफाइड जस्ता समस्या देखिन थालेका छन् । बाढीबाट विस्थापित भएको लामो समय भइ सक्दा पनी सम्बन्धीत निकायले आफुहरुका लागी कुनै ब्यवस्था नगरि दिएको बाढीपिडितहरुले गुनासो गरेका छन् ।
अत्याधिक चिसो बढे संगै ब्यापार–ब्यवसायमा समेत गिरावट आएको छ । चिसोका कारण बर्दियाको मुख्य ब्यापारिक केन्द्रहरु भुरिगाउँ, बगनाहा, गुलरिया, बाँसगढी, ठाकुरद्वारा, ताराताल, राजापुर लगायतका ठाउँहरुमा चहलपहल कम भएको ब्यवसायीहरुले बताएका छन । चिसोका कारणले स्थानीय बजारमा मानिसहरुको चलपहल कम हुँदा अन्य सामानको व्यापार घटे पनि जाडोको लुगाको व्यापार बढेको व्यावसायीहरु बताउँछन् ।
उता बाँकेमा पनी चिसोका कारण जनजिवन प्रभावित भएको छ । शित र चिसोबाट बालबच्चालाई जोगाउन समस्या भएको बाँकेको राप्ती–सोनारी गाउँपालिका–१, टिकुलीपुरकी मञ्जु विश्वकर्माले बताइन् । ‘दिउँसो जसोतसो बसे पनि राती शित चुहिएने भएकाले बृद्धबृद्धा संगै बालबालिकाहरुलाई चिसोको प्रभावबाट बचाउन गाह्रो हुने गरेको बाढीपिडितहरुले बताएका छन । बाढीपीडित बसेको ठाउँका अधिकांश बालबालिका र बृद्धबृद्धा चिसोका कारण विरामी भएका छन् ।
मंसिर महिना लागेदेखि बालबच्चालाई खोकी लाग्ने, ज्वरो आउने, निमोनिया भएर स्याँस्याँ हुने लगायतका समस्याहरु देखिन थालेको छ । अस्थायी टहरामा बस्दै आएका बाढीपिडितहरुले उपचार गराउने रकमको अभावमा गाउँमै धामी, वैद्यसँग उपचार गराउने गरेको बताए ।
अचानक बढेको चिसोका कारण विशेष गरी बालबालिका र वृद्घवृद्घाहरु प्रत्यक्ष मारमा पर्ने भएकाले बाक्लो कपडा लगाउन र बिहान, बेलुका घरबाहिर ननिस्किन जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: