वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा ६७ प्रतिशत मत खस्यो: भोली बिहानबाट मतगणना शुरु हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर २१, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
बर्दियामा शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न भएको छ । आज सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा चुनावमा बर्दियामा ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यलयका अनुसार मत पेटिकाहरु आउने क्रम जारी रहेकोले यो संख्यामा घटबड हुन सक्ने जनाएको छ ।

जिल्लाका सबै वडाहरुबाट मत पेटिकाहरु ल्याउने काम भईरहेको छ । आज अबेर सम्ममा मत पेटिकाहरु सदरमुकाम आईपुगे बर्दियामा भोली बिहान ७ बजेबाट सर्वदलिय मिटिङ गरेर ८ बजेबाट मतगणना शुरु गरिने बताईएको छ । निर्वाचन क्षेत्र नं १ को जिल्ला समन्वय समिती गुलरियाको हलमा र निर्वाचन क्षेत्र नं २ को जिल्ला मालपोत कार्यालयको हलमा मतगनना गरिने भएको छ ।

बर्दियाका ७५ वडाहरुमा रहेका १५३ निर्वाचन स्थल अन्तरगत ३२९ वटा मतदान केन्द्रहरुमा बिहान ७ बजेदेखी सांझ ५ बजेसम्म मतदान कार्य चलेको थियो । बर्दियामा प्रतिनिधि सभा क्षेत्र नं-१ मा पर्ने ३८ वटा वडाहरुमा १ लाख ३९ हजार ३६२ जना र क्षेत्र नं-२ अन्तरगत ३७ वटा वडाहरुमा १ लाख ३३ हजार ११५ जना गरी कुल २ लाख ७२ हजार ४ सय ७७ जना मतदाताहरु रहेको जिल्ला निर्वाचन आयोग बर्दियाको पछिल्लो तथ्यांक छ । कार्यालयका अनुसार कुल मतदाता मध्य १ लाख ३८हजार ०४३ महिला छन भने १ लाख ३४हजार ४२८ जना पुरुष मतदाता रहेका छन । त्यस्तै निर्वाचन आयोग बर्दियाले दिएको तथ्यांक अनुसार प्रदेश सभाको क्षेत्र नं १ (क) मा ७० हजार १ सय ९३ जना, १(ख) मा ६९ हजार १ सय ६९ जना र क्षेत्र नं २ (क)मा ७०हजार ९सय ५५ जना, २(ख) मा ६२हजार १ सय ६० जना मतदाताहरु रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्: