वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

के भन्छन् बामदेव गौतम र सञ्जय गौतम ? [अन्तर्वार्ता]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४ ।    

बर्दिया लगायत देशैभरका दोस्रो चरणमा चुनाव हुने स्थानहरुमा यतिखेर चुनावको अन्तिम प्रचारप्रसारको क्रम तिब्र रुपले चलिरहेको छ । सबैले आआफ्नो पक्ष बलियो रहेको र जनताले आफुलाई जिताउने भनेर उम्मेद्वारहरु दाबी पनि गरिरहेका छन । यसै सन्दर्भमा बर्दिया क्षेत्र नं-१ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रतिष्पर्धामा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र वर्तमान मन्त्री समेत रहेका सञ्जय गौतमसंग भाबुक योगीले गरेको कुराकानीको केही अंश यहाँ प्रस्तुत छ:

  • बामदेव गौतम

प्रश्न : तपाईको चुनावी एजेण्डा के के छन् ?
-हाम्रा चुनावी एजेण्डा तीन तहका छन् । त्यो भनेको तत्कालीन, मध्यकालीन र दीर्घकालीन हुन् । तत्कालका लागि नागरिकको गास, बास, शिक्षा, स्वास्थ्य, रोजगारी र मनोरञ्जनका विषय उठाएका छौँ । त्यसपछि सिँगो समाजको परिवर्तन हो । हाम्रो संविधानले अबको सामाजिक, आर्थिक रुपान्तरण समाजवादउन्मुख हुनुपर्छ भनेको छ । यसै बमोजिम यी विषय हाम्रा साझा घोषणा अनुसार अघि सारेका छौं । नेपाली समाजमा अहिले पनि घरवारबिहीन सुकुम्बासी, भूमीहीन, मुक्त कमैया, कम्लहरी, गरीब र उत्पीडित पहिचान गरी बसेका नागरिकलाई हाम्रो सरकार बनेपछि पाँच वर्षभित्रमा सुविधा सम्पन्न आवास, एक परिवारमा एक महिला र एक पुरुषलाई रोजगारीसँगै माध्यमिक तहसम्म अनिवार्य तथा निःशुल्क शिक्षा, माध्यमिक शिक्षा पास गरेको ६ महिनाभित्रै तालिम दिई रोजागारी दिएर शैक्षिक बेरोजगारी हटाउने, स्वास्थ्य विमा लागू गर्ने, उपचारका लागि गरिबीको रेखामुनी रहेकाहरुलाई सरकारले आधा पैसा मिनाहा गर्ने मध्यकालीन एजेण्डा छन् । यसैगरी ६ वर्ष भित्रमा नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्य लिएका छौँ। सबै कृषि भूमीमा सिँचाई, नेपालका प्रमुख नदीहरुबाट २० हजार मेघावाट भन्दा बढी जल विद्युत आयोजना सुरु गरि विद्युत उत्पादनले नेपाललाई भरपुर बनाउँछौ ।
प्रश्न : तपाईंले लिएको एजेण्डा पुरानै मानिन्छन् नि ? चुवाव जितेर गएपछि सबै कुरा बिर्सेको मतदाताको आरोप छ नि ?
-कुरा बिर्सेको होइन । हामी सरकारमा बस्दा लागू गर्ने प्रयास गर्छौं । सरकारबाट बाहिरीएपछि अरुले आफनो अनुकूलले मात्र काम गर्ने परिपाटीले गर्दा हामीले शुरुवात गरेका कामहरु ओझेलमा पर्छन् । हामी प्रतिपक्षमा हुँदा सरकार चलाउनेलाई घच्घच्याउने हो । सरकारमा नहुँदा काम पूरा गर्न गाह्रो हुँदो रहेछ ।
प्रश्न : कांग्रेसका प्रभावशाली नेता सञ्जय गौतम तपाईसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईंले नै चुनाव जित्नु हुन्छ भन्ने आधार के छ ?
-कांग्रेससँग प्रतिष्पर्धाको कुरै छैन । २०४८ सालदेखि भर्खरै सम्पन्न स्थानीय तह चुनावको परिणामले पनि कांग्रेस भन्दा वामपन्थीको जनाधार निकै बढी रहेको देखाईसकेको छ । यहाँ हाम्रो पक्षमा देखिएको जनमत नै मैले जित्ने आधार हो । वामपन्थीको जनाधारलाई कसैले फकाएर कुण्ठित गर्न सक्दैन । बर्दिया मात्र होइन नेपालभरी हामीले गरेको चुनावी तालमेल अनुसार कम्युनिष्ट पार्टीको पक्षमा दुई तिहाई जनमत छ । त्यो जनमत नै वाम गठबन्धनले जित्ने मुख्य आधार हो ।

प्रश्न : अधिल्लो संविधानसभा चुनाव जितेपछि तपाई बर्दिया छाडेर प्यूठान जानुभयो । यसपटक फेरि फर्कनु भएको छ । बर्दिया छाडेपछि कार्यकर्तामा असन्तुष्टि बढेको भनिन्छ नि ?
-म बर्दियामा फर्केर आउँदा कार्यकर्ता मतदाता असन्तुष्टि छन् भन्नै मिल्दैन । यसअघि पनि चुनाव जितेपछि छोडेर किन जानुभयो भन्नेमा असन्तुष्टि हो । अहिले फर्केर आउँदा कार्यकर्तामा उत्साह जागेको छ । मेरो आवश्यकता फेरि महशुस भयो । विपक्षीसँग खरो उत्रनका लागि कार्यकर्ताले मेरो उपस्थिति अनिवार्य ठाने, मैले पनि त्यही महशुस गरेँ । त्योबेला मेरो व्यक्तिगत निर्णयले बर्दिया छाडेको होइन । पार्टीको निर्णय अनुसार प्यूठान गएको हुँ । यहाँ त पार्टी बलियो थियो नै । प्यूठानमा पार्टीलाई बलियो बनाउनु थियो । त्यसैले पार्टीको निर्देशन बमोजिम त्यहाँ गएको हुँ । आखिर पार्टीलाई फाइदा नै भयो । म यहाँ फर्कंदा कोही आतंकित भएका छन् भने त्यो कांग्रेस नै हो । वाम गठबन्धन भएपछि कुनैपनि ठाउँमा कांग्रेससँग प्रतिस्पर्धा नै छैन ।

प्रश्न : चुनाव जितेपछि तपाईको पहिलो प्रथमिकता के हुन्छ ?
-मेरो पहिलो प्राथमिकता भनेको सुकुम्बासी, घरवार विहीन, मुक्तकमैया कम्लहरी र पिछडिएका समुदायलाई सुविधा सम्पन्न आवास, रोजगारी, शिक्षा, स्वास्थ्य मनोरञ्जन प्रदान कामबाट सुरु हुन्छ । यसैगरी कृषिको व्यवसायिकरण, उर्जाको विकास, पर्यटनको विकास र औधोगिक क्षेत्रको विकास प्रथमिकतामा हुनेछ । यी सबै कामहरु ५ वर्षमा हामी पूरा गर्नेछौँ । हामीले ३ तहमा रेल चलाउनेछौँ । एउटा पूर्वपश्चिम राजमार्गको समानान्तर, औधोगिक करिडोरको समानान्तर, मध्यपहाडी राजमार्ग समानान्तर र काठमाण्डौँमा विद्युतीय मेट्रो रेल संचालन गर्छौँ । यसैगरि ४ लेनको हुलाकी सडक, उत्तर दक्षिण २ हजार किलोमिटर सडक निमार्ण र ८१ हजार किलोमिटर आफनो गाउँ, आफै बनाउँ अन्तर्गतका बाटोहरु पिच गरि कृषि सडकका रुपमा स्थापित गर्नेछौँ ।

प्रश्न : तपाई वाम गठबन्धनको सुत्रधार मानिनु हुन्छ । यो वाम गठबन्धन चुनावसम्मको मात्र हो की पार्टी एकता सम्म पुग्छ ?
-गठवन्धन मात्र हो भनेर बुझ्नुहुन्छ भने चुनावसम्मका लागि मात्रै हो यो गठबन्धन । तर हाम्रो पार्टी एकताको कुरा हो । अहिलेको चुनावी गठबन्धन हाम्रो पार्टी एकताको पहिलो चरण हो । पार्टी एकता गर्ने तयारी गरिसकेका छौँ । पार्टी एकता समन्वय समिति केन्द्रमा, त्यसपछि प्रदेशमा, जिल्लामा र स्थानीय तहदेखि वडासम्म बनिसकेको छ । त्यसकारण पार्टी एकता प्रमुख हो । पार्टी एकता गर्न समय लाग्ने भएकाले हतारमा चुनावी तालमेल मात्र गर्यौं । निर्वाचन आयोगले दिएको समय तालिका अनुसार समयमै पार्टी एकता गर्न सकेनौँ, त्यसैले तालमेल मात्र गर्यौँ । पार्टी एकता हुने कुरा निश्चित छ । अब कम्युनिष्ट पार्टी एकीकृत हुन्छ र यो एकता पछि सबैभन्दा ठूलो चोट परेको छ भने त्यो चोट कहिले नमेटिने गरि नेपाली कांग्रेसलाई परेको छ । अहिलेको तालमेलबाट बन्ने सरकार ५–१० वर्षका लागि मात्र होइन, आगामी ३० वर्षसम्म हाम्रै नेतृत्व हुन्छ ।

 

  • सञ्जय गौतम

प्रश्न : तपाईको चुनावी एजेण्डा के के छन् ?
बर्दिया जिल्लालाई सम्मुनत र सम्बृद्ध जिल्ला बनाउन चाहन्छु । मुक्त कमैया, सुकुम्बासी र भूमीहीनहरुको समस्या समाधान गर्न अग्रसर भएर लाग्नेछु । बर्दिया जिल्लाको विकासका पूर्वाधारहरु निर्माण गर्नका लागि ध्यान दिने र जिल्लालाई राष्ट्रिय राजनीतिमा जोड्ने अभियानमा लागिरहेको छु र निरन्तर लागि रहनेछु । नदी कटान, डुवान र नियन्त्रणका समस्याहरु जटील छन् । यसको प्रक्रिया मैले सुरुवात गरिसकेको छु । बबई, ओराही र मानखोला लगायत साना नदी नियन्त्रणका योजना अघि सारेको छु । आगामी दिनमा यी कामहरुलाई पूर्णता दिनेछु । सदरमुकामलाई राजमार्गसम्म जोड्ने भुरिगाउँ तेलपानी सडक बनाउने, प्राकृतिक स्रोत साधनको संरक्षण गर्ने, बर्दियालाई पर्यटनको सुरक्षित गन्तब्यको रुपमा विकास गर्ने, कृषि, वन र पर्यटनमा आधारित उद्योगको स्थापना गरी यस क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने लक्ष्य रहेको छ ।


प्रश्न : वाम गठबन्धनका प्रभावशाली नेता वामदेश गौतमसँग प्रतिस्पर्धामा हुनुहुन्छ । यो चुनाव जित्ने तपाईको आधार के छ ?
नागरिकसँग भिजेको छु । प्रभावशाली को, कस्तो छ मलाई थाहा छैन । मलाई के लाग्छ भने म बर्दियाको माटोसँग बर्दियाका नागरिकसँग, बर्दियाको आत्मासँग मेरो अन्तर सम्बन्ध छ । यहाँको माटो र यहाँका नागरिकसँग मेरो सम्बन्ध छ । मेरो राजनीतिक जीवनको स्र्वाणिम युग यो यही माटोलाई अर्पेको छु । यहाँका नागरिकका लागि सुम्पेको छु । त्यसकारण यहाँका नागरिकले मलाई नै चुन्नेछन् भन्ने अपार विश्वास लिएको छु ।

प्रश्न : गाउँगाउँमा चुनावी सभा गर्दै हिँड्नुभएको छ । घरदैलो अभियानमा हुनुहुन्छ । के आश्वासन दिँदै हिँड्नु भएको छ त ?
-मलाई जिताएर अवसर प्रदान गर्नुभएमा म नागरिकलाई परिवर्तन दिन्छु, बर्दियाको विकास गर्छु । नैराश्यतामा रहेका यहाँका बासिन्दालाई आशाको सञ्चार प्रदान गर्नेछु । जिल्लालाई सम्बृद्धिको यात्रामा अघि बढाउँछु र राष्ट्रिय राजनीतिमा जोड्नेछु भन्दै मतदाता समक्ष गैरहेको छु ।

प्रश्न : यसअघि दोस्रो संविधान सभा चुनावका बेला जित्नु भयो । धेरै एजेण्डाहरु पूरा भएनन् भन्ने मतदाताको गुनासो सुनिन्छ नि ?
-होइन, यो कुरा सरासर गलत हो । मैले जे बोलेको छु त्यो पूरा गरेकै छु । संविधान दिन्छु भनेको थिएँ । हामीले दियौं । जिल्लालाई राष्ट्रिय राजनीतिमा जोड्छु भनेको थिएँ । त्यो पनि गरें ।
अहिले म सिँचाईमन्त्रीका रुपमा छु । बर्दिया जिल्ला बबई र कर्णाली नदीले ग्रसित छ । नदी नियन्त्रणका सन्र्दभमा उल्लेख्य काम भएको सबैले देख्नुभएकै छ । ३ अर्ब ९४ करोडको बबई नियन्त्रण आयोजना मैले नै संचालन गरेको हुँ ।
झण्डै ६ करोडको ओराही, भादा र मानखोला जस्ता नदी नियन्त्रणका कार्यक्रमअघि बढाएको छु । जिल्लाको विकासमा मेरो पहिलो ऐतिहासिक काम सुरुवात भएको छ । वर्षौंदेखि बन्न नसकको हुलाकी सडक निर्माणको प्रकृयालाई अघि सारेर बाटो बनाउन सुरु गरँं । व्यापारिक दृष्टिकोणका लागि जिल्लासँग जोडिएको नेपाल भारत मूर्तिहा सीमानाका खोल्ने कुरा अघि सारेको छु ।

प्रश्न : चुनाव जितेपछि तपाईको पहिलो प्राथमिकता के हुनेछ ?
-यहाँ विकासका पूर्वाधार निमार्ण गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, मुक्तकमैया र सुकुम्बासीका समस्या समाधान गर्ने, नदी नियन्त्रण गर्ने, थारु बहुल यो जिल्लालाई कृषि विश्वविद्यालय निर्माण गर्ने लगायतका काम मेरो प्राथमिकतामा रहनेछन् । हाम्रो बर्दिया राम्रो बर्दिया बनाउन निरन्तर लागि रहनेछु ।

प्रश्न : यसपालीको चुनावमा तपाईलाई वाम गठबन्धनले कत्तिको प्रभाव पार्ला ?
-मलाई के लाग्छ भने आमनागरिकमा वाम गठबन्धनबारे त्यति चासो छैन । यो त ठूला नेताहरुले आफ्नो कुर्सीको संरक्षणका लागि र आफ्नो ईज्जत बचाउनका लागि गरेको गठबन्धन हो । यो कुनै नागरिकको आमूल परिवर्तन र सम्बृद्ध विकासका लागि गरिएको गठबन्धन होईन । असुरक्षित भएका नेताहरुले गाठबन्धनको खोजी गरे, त्यही अनुसार गठबन्धनको प्रकृया अघि बढेको हो । वाम पार्टी एकता यी सबै भ्रामक कुरा हुन् । यसमा कुनै सत्यता छैन । यो वाम गठबन्धनले मलाई कुनै असर गर्दैन ।

प्रतिक्रिया दिनुहोस्: