वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

एमाले–माओवादी चुनावपछि एकीकरण नभए के हुन्छ ?

        विजय ढकाल   |   प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४ ।    
  • विजय ढकाल

दशैंको विदामा चुनावी तालमेल गर्दै भविश्यमा पार्टी एकीकरणसम्म पुग्ने मार्गचित्र तयार गरेका एमाले र माओवादी केन्द्र बीचको एकता सुरुमा सन्देहपूर्ण देखियो । अचानक गरिएको घोषणालाई कार्यकर्ता मात्र होइन दुवै पार्टीका धेरै केन्द्रीय नेताले समेत विश्मयपूर्ण नजरले हेरे । सुरुवातको यही सन्देहलाई विपक्षी नेपाली कांग्रेसले अहिले पनि उछाल्न खोजिरहेको छ । तर, असोजको त्यो घोषणायता दोस्रो चरणको चुनावसम्म आइपुग्दा एमाले र माओवादी एकतातर्फ यति अगाडि बढिसकेका छन् कि दुवै पार्टीलाई कार्यकर्ता र देशसामु गरिएको बाचा तोड्न हरेक दिन असम्भव हुँदै गएको छ । अव कुनै नेता विशेषले चाहेर पनि एमाले र माओवादी गठबन्धन एकतातर्फ जानबाट रोक्न नसक्ने स्थिति पैदा भएको छ । यसका केही महत्वपूर्ण कारणहरु छन् ।

ग्रामीण सत्ताको निर्माण
गत मंसिर १० गते भएको पहिलो चरणको आम निर्वाचनसम्म आइपुग्दा एमाले र माओवादी पार्टीका कार्यकर्ताले आपसी मेलमिलापबाट प्राप्त हुने फाइदाको पहिलो प्रतिफल चाखे । एक त नेपाली समाजको मनोविज्ञान फुट्नेलाई भन्दा जुट्नेलाई साथ दिने छ । त्यसैले एमाले र माओवादी मिल्दा यिनले राम्रै गरे र यसपल्टको मत यिनैलाई दिनुपर्छ भन्ने आम भावना मतदातामा विकसित हुन पुग्यो । गत चुनावहरुको अंकगणित यसै पनि वाम गठबन्धनको पक्षमा थियो । त्यसमाथि एकताको सकारात्मक मनोविज्ञानले मतदातालाई थप आकर्षित गर्यो । यो एकताबाट दुवै पार्टीका कार्यकर्ता र स्थानीय नेतृत्व एकाएक स्थानीय सत्ताको संस्थापन हुन पुगेको छ ।

यसबाट सुदूर भविश्यसम्म एकताको माहौल बनाएर जानुपर्छ भन्ने मानसिकता तलैसम्म विकसित भएको छ । पुराना तिक्तता नभएका होइनन् । यसै आधारमा केही सुरुवाती असन्तुष्टि पनि देखिए । तर, पहिलो चरणको मतदानसम्म आइपुग्दा तालमेल बाहिर मत गएन । यहि तथ्यलाई आधार बनाएर वाम गठबन्धनले पहिलो चरणका ३७ मध्ये ३२ सिट जित्ने दावी गरेको हो । उसो त एमाले बलियो भएको क्षेत्रमा माओवादीका सवै भोट नपर्दा पनि एमाले उम्मेदवार बलियै थिए । माओवादी उम्मेदवार भएका ठाउँमा पनि गत स्थानीय चुनावमा कांग्रेसको देशब्यापी हैकम भोगेका एमाले समर्थकले तालमेल अनुसार नै माओवादी उम्मेदवारलाई मतदान गरे ।

ओलीको काँधमा माओवादी उम्मेदवार
एकताको भावना चुनाव प्रचारका दौरान शीर्ष नेतृत्वले प्रचुर मात्रामा देखाएको छ । सुरुवातमा संयुक्त आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तय भएको हो । तर, केही कार्यक्रम सम्पन्न हुनासाथ प्रचण्डपुत्र प्रकाशको अचानक निधनले वाम उम्मेदवारका पक्षमा माहौल सिर्जना गर्ने काम ओलीका काँधमा आइपर्यो । ओलीले एमाले उम्मेदवार मात्र हेरेनन् । डंडेलधुराका खगराज भट्टदेखि काठमाडौं १ का अनिल शर्मा र झापा १ का राम कार्कीसम्मका पक्षमा मत माग्न ओली निरन्तर खटे । माओवादी समर्थक र मतदातालाई ओलीको यो निस्वार्थ दौडले लोभ्याएको छ । उता एमालेका काशीनाथ अधिकारी र कृष्णभक्त पोखरेलहरु प्रचण्डको क्षेत्रमा निरन्तर खटेर लागिरहेका छन् । ओली आफैं प्रकाशको श्रद्धाञ्जली सभामा चितवन ३ पुगेर प्रचण्डका लागि मत मागे । माओवादी नेता रामबहादुर थापा बादल ओली सहभागि भएका कार्यक्रममा सँगै छन् । नेतृत्वको तहबाट देखाइएको यो पारस्परिक सद्भाव र एकताले सुरुवातमा कार्यकर्ता बीच देखिएको अन्यौल अहिले पूरै मेटिएको छ । त्यसै कारण गठबन्धनका कार्यकर्ताहरु मत निखारेर झार्ने रणनीति बनाउन प्रेरित भएका हुन् ।

भविश्योन्मुख ध्रुवीकरण
इतिहासको एउटा चरणमा एमाले र माओवादी बीच ठूलो वैचारिक भिन्नता थियो । आफूले चाहेको राजनीतिक गन्तब्यसम्म कुन बाटोबाट पुग्ने भन्ने प्रश्नलाई विवादको विषय बनाएर दुई पार्टी अलग अस्तित्वमा थिए । एमालेले ०४६ सालको जनआन्दोलन देखि ०६२÷०६३ को दोस्रो जनआन्दोलन सम्म आइपुग्दा लोकतान्त्रिक प्रतिस्पर्धा र मानव अधिकारमा आधारित राजनीतिको लामो यात्रा तय गर्यो । हतियार उठाउनै पर्छ भन्ने वैचारिक मार्गदर्शन लिएको माओवादीले ०५२ सालमा हतियार उठाए पनि दोस्रो जनआन्दोलनसम्म आइपुग्दा उ पनि शान्तिपूर्ण राजनीतिको भंगालोमा मिसिनै पर्ने भयो । दुवै पार्टी मिलेर एउटै संविधान बनाएपछि दुई बीचको पुरानो वैचारिक खाडल त्यसैले पुरिदिएको छ । र अवको एकता भविश्यमा कसरी जाने भन्ने विषयमा आधारित हुने देखिएको छ । त्यसैले हिजोको भिन्नता इतिहासको विषय थियो भने अवको एकता भविश्योन्मुख योजनाका साथ हुने देखिन्छ ।

एमाले अध्यक्ष ओली बारम्बार भन्ने गर्छन्– ‘हामी इतिहासका विद्यार्थी हौं, दास होइनौं ।’ उनको भनाईको तात्पर्य हुन्छ– इतिहासबाट सिक्नुपर्छ तर, इतिहासमा जे भयो त्यही गर्नुपर्छ भन्ने होइन । त्यसैले दुई पार्टी बीचको एकीकरण पनि इतिहासबाट सिकेर नयाँ इतिहास बनाउनका लागि हुने देखिन्छ ।

दुवै पार्टी मिलेर एउटै संविधान बनाएपछि दुई बीचको पुरानो वैचारिक खाडल त्यसैले पुरिदिएको छ । र अवको एकता भविश्यमा कसरी जाने भन्ने विषयमा आधारित हुने देखिएको छ । त्यसैले हिजोको भिन्नता इतिहासको विषय थियो भने अवको एकता भविश्योन्मुख योजनाका साथ हुने देखिन्छ ।

अबको मुद्दा- विकास
भविश्यको मुद्दाका बारेमा एमाले र माओवादी बीच कुनै फरक छैन । ०७१ मा भएको एमालेको नवौं महाधिवेशनले नयाँ संविधान निर्माण भएपछि नेपालको राजनीतिक पुनर्निर्माणको कार्यभार पूरा हुने घोषणा गरेको थियो । यसको अर्थ राजनीतिक संस्थाहरुको निर्माण र सुधार सकियो भन्ने होइन, तिनको स्थापना गरेपछि सुदृढिकरण गर्ने कार्य निरन्तर नै चलिरहन्छ । यसको सार राजनीतिक रुपमा नागरिकलाई अधिकार सम्पन्न बनाउने काम दोस्रो जनआन्दोलनले गर्यो र त्यसलाई संस्थागत गर्ने काम ०७२ सालमा जारी नयाँ संविधानले गर्यो भन्ने हो । माओवादीले आफ्नो हेटौंडा महाधिवेशनबाटै यही अनुसारको लाइन लिएको थियो । सारभूत रुपमा वैचारिक भिन्नता दुई पार्टीबीच यहि विन्दुमा सकिएको हो । अव नेपालको बाटो राष्ट्रिय विकास र समृद्धिले मात्र तय गर्छ भन्नेमा दुई पार्टीको नेतृत्वबीच कुनै विवाद छैन । यहि कारण वाम गठबन्धनको एकमना सरकार बनाउँदै नेपाललाई तीब्र विकासको बाटोमा हिंडाउन दुई पार्टी एक हुनुको विकल्प छैन ।

एकता नभए एउटै कारण–स्वार्थ
पछिल्लो दशकको नेपाली राजनीति ब्यक्ति केन्द्रित रहेको छ । यदि एमाले र माओवादी आफ्नो घोषणामा इमान्दार रहन सकेनन् भने त्यसपछाडिको एउटै कारण ब्यक्तिगत स्वार्थ मात्र हुनसक्छ । नेतृत्व ब्यवस्थापनका नाममा एकता भएपछि कुन शीर्ष नेता कहाँ र कस्तो पदमा बस्ने भन्ने विषय प्रधान भयो भने मात्र एकता नहुने हो ।

तर, कार्यकर्ता भन्छन्– एकता नभए तलैबाट विद्रोह
माओवादी र एमालेबीचको आपसी भावना तल्लो तहबाट यसरी विकास भएको छ कि कार्यकर्ताहरु नेता मिलेनन् भने हामी आफैं विद्रोह गर्छाैं र तलैबाट मिलेर देखाइदिन्छौं भन्न थालेका छन् । पहिलोपल्ट ग्रामीण तहदेखि नै स्थायी सत्ताको अनुभव गर्न थालेका कार्यकर्तालाई त्यो सत्ताबाट विमुख बनाउनेगरी एकतामा भाँजो हाल्ने प्रयास गर्ने नेतृत्व आफ्नै कार्यकर्ताको तारो बन्ने प्रष्ट छ । त्यसैले चुनावपछि एकतामा ढिलाई गर्न नेताहरुले थालेको अवस्थामा कार्यकर्ताको दवाव थेग्न उनीहरुलाई असम्भव देखिन्छ ।-चक्रपथबाट

प्रतिक्रिया दिनुहोस्: