वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

लोकतान्त्रिक गठबन्धनको र्‍याली नेपालगन्जमा

        भगतराम थारु   |   प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४ ।    

नेपालगन्ज, बाँके।
बाँके क्षेत्र नम्बर २ का आफ्ना नेता, कार्यकर्तालाई लोकतान्त्रिक गठबन्धनले सडकमा उतारेको छ । गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता हात–हातमा झण्डा बोकेर बिहीबार नेपालगन्जको सडकमा उत्रिएपछि निर्वाचनको माहोल काँग्रेस र राप्रपाका उम्मेदवारतर्फ केन्द्रित भएको छ ।

प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ का उम्मेदवार निरन्जनसिंह सिजापति, प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा, उपमेयर उमा थापामगर, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, विभिन्न वडाबाट निर्वाचित दुबै दलका जनप्रतिनिधी तथा ठुलो संख्यामा उपस्थित नेता, कार्यकर्ताको उत्साहजनक सहभागिताले नेपालगन्जबासीको ध्यान केन्द्रित गराएको थियो ।लोकतान्त्रिक गठबन्धनको रोड शोमा घरका गृहणी, बृद्धबृद्धा, मजदुरहरु समेत स्वतःस्फुर्त रुपमा सहभागी हुन आएका थिए । यसका साथै धार्मिक तथा सामाजिक सद्भावको पनि रोड शो ले झल्को दिएको छ । र्‍यालीमा मधेसी, पहाडी, मुस्लिम, थारु, जनजाती समुदायको पनि सहभागिता रहेको थियो । अधिकांसले काँग्रेस र राप्रपाको चुनाव चिन्ह अंकित झण्डा बोकेर फोटो सेसन समेत गरेको दृश्य देखिन्थ्यो ।

नेपालगन्जस्थित बिद्युत प्राधिकरण नजिक रहेको राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको रोड शो सदरलाईन, त्रिभुवन चोक, विपी चोक, बीरेन्द्र चोक, सहिद सेतु बिक चोक, घरबारीटोल हुदै पुनः त्रिभुवन चोकमा आएर समापन हुनेछ । राप्रपाका केन्द्रिय सदस्य देवकोटाले रोड शो पार्टीको क्षेत्रीय कार्यसमितिले गरेको निर्धारित कार्यक्रम भएको बताउँदै भने, ‘वाम गठबन्धनले अस्ति गाउँ–गाउँबाट मान्छे ल्याएर शक्ति प्रदेश गरेको देखियो, तर हाम्रो यो कार्यक्रममा क्षेत्र नम्बर २ को नेपालगन्ज र डुडुवा गाउँपालिकाबाट मात्र सहभागी छन्, उत्साहजनक सहभागिताले हाम्रो जित सुनिश्चित गराएको छ ।’ लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समितिका संयोजक सुनिलसिंह हमालले काँग्रेस र राप्रपाका उम्मेदवारको पक्षमा जनलहर देखिएपछि विपक्षीहरु अत्तालिएको बताएका छन् । ‘यो हाम्रो कुनै शक्ति प्रर्दशन होईन, यसले नेपाली काँग्रेस र राप्रपाका कार्यकर्ताहरु एक ढिक्का भएको सन्देश दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्: