वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

संस्थानले धान खरिद गर्न पाएन

        छापाबाट   |   प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०७४ ।    

राजापुर, बर्दिया ।
नेपाल खाद्य संस्थानले धानको मूल्य तोकेको दुई साता बित्न लागे पनि खरिद गर्न पाएको छैन । संस्थानले राजापुरमा बढी उत्पादन हुने मध्यम र मसिनो धानको मूल्य नतोकेर मोटो धानको मात्रै निर्धारण गरेपछि किसानले बिक्री गर्न नल्याएका हुन् ।

राजापुर क्षेत्रको करिब १५ हजार हेक्टर क्षेत्रफलमा करिब ८० प्रतिशत मध्यम मकवानपुर जातको धान उत्पादन हुने गर्छ । २० प्रतिशतमा भने मोटो र मसिनो धान उत्पादन हुने गरेको छ । मोटो धान मात्रै खरिद गर्ने भएपछि न्यून संख्यामा यहाँका किसानले खाद्य संस्थानमा धान ल्याएका कारण खरिद प्रक्रिया घटेको छ । संस्थानले भने छिमेकी जिल्ला कैलालीबाट आउने मोटो धान खरिद भइरहेको जनाएको छ । मध्यम र मसिनो धानको मूल्य कायम नगर्दा स्थानीय किसान बाध्य भई व्यवसायीसँग सस्तोमा बेच्न थालेका छन् । राजापुर १ दौलतपुरका शंकर थारूले गत वर्ष मध्यम मकवानपुर धान २ हजार ५ सयमा बिक्री गरे पनि यस वर्ष २ हजार १ सय मात्रै पाएको सुनाए । संस्थानले मध्यम मकवानपुर धानको मूल्य कायम नगर्दा किसान ठगिँदै गएको उनको गुनासो छ । उनी मात्र होइन कर्णाली नदीले घेरिएको राजापुर क्षेत्रमा किसानहरू सस्तोमा धान बेच्न बाध्य भएको सुनाउँछन् ।

खाद्य संस्थानले मोटो धान २ हजार रुपैयाँमा खरिद गर्दै आएको छ । व्यवसायीले पनि मोटो धान उही मूल्यमा खरिद गर्दै आएका छन् । व्यापारीले राजापुर, पाताभार, मानपुरटपरालगायतका बजारमा मध्यम र मसिनो धान खरिद गरिरहेका छन् । व्यवसायीले मध्यम मकवानपुर २ हजार १ सयदेखि २ हजार १ सय ५० सम्म खरिद गर्ने गरेका छन् । राजापुरका गल्ला व्यवसायी अमर श्रेष्ठले मकवानपुर धान ८० प्रतिशत बढी उत्पादन भएका कारण किसानले संस्थानमा बेच्न नपाएपछि बजारमा लैजाने गरेको बताए ।

संस्थानले मध्यम र मसिनो धानको मूल्य नतोक्दा समस्यामा परेका छन् । एकातिर धानको मूल्य तोक्न ढिलासुस्ती गर्नु र अर्कोतिर बढी उत्पादन हुने मध्यम धानको मूल्य नतोक्नुले संस्थानको गम्भीर लापरबाही भएको किसानको ठहर छ । केन्द्रले मोटो धानको मूल्य तोकेको छ । माथिको निर्देशनअनुसार मोटो धान खरिद गर्न भनिएपछि सोहीअनुसार गरिएको खाद्य संस्थानका गुणस्तर नियन्त्रण प्रमुख सुजन सापकोटाले बताए ।

स्थानीयस्तरमा धान खरिदका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि विकास कार्यालयका प्रतिनिधि, भौरा टप्पु कृषक समन्वय समितिका प्रतिनिधि, संस्थानका प्रमुख रहेको धानको मूल्य निर्धारण समिति छ । प्रजिअ नारायण भट्टराईले केन्द्रले मोटो धान खरिद गर्न निर्देशन दिएकाले भाउ निर्धारण गरेको बताए । यस वर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । करिब तीन लाख क्विन्टल क्षमता भएको कारखाना यतिखेर खरिद बिक्री नहुँदा सुनसान छ ।

कमल पन्थीले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: