वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित छ : ओली

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर ११, २०७४ ।    

गुलरिया, बर्दिया ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने निश्चित भएको बताएका छन । सदरमुकाम गुलरियामा आज भएको बामगठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा दुई तिहाई बहुमत आउने बताएका हुन ।


बामपन्थीहरुको एकता चुनाव अगाडी नै गर्ने योजना भएपनि चुनाव नजिकै आईसकेकोले चुनावी तालमेल मात्र गरेको बताउँदै चुनाव सकिए लगत्तै बामपन्थीहरुको एकता हुने ओलीले बताए । नेकपा एमाले र नेकपा (माओबादी केन्द्र)को एकता बाँडीचुँडी खानको लागी नभएर देशको विकास, शान्ति सुरक्षा र लोकतन्त्रलाई बलियो बनाउनको लागि पार्टी एकता गर्न लागेको ओलीले दाबी समेत गरेका छन ।


सभामा बोल्दै ओलीले बामपन्थिको सरकार बनेपछि आफुले गरेका प्रतिबद्धता सबै पुरा गर्ने बताउँदै विकासका कार्यहरु संगै रोजगारीको सृजना, नेपालका गरिब सुकुम्बासी, मुक्तकमैया, कमलरी, हलियाहरुको उत्थान र विकासको लागि आफ्नो पार्टीले चुनावी घोषणन पत्रमा उल्लेख गरिसकेको जानकारी दिए ।


चुनावी सभा कार्यक्रमका बिशिष्ट अतिथी तथा नेकपा (माओबादी केन्द्र)का केन्द्रिय सदस्य राम बहादुर थापाले अब नेपाल नयाँ युगमा प्रबेश गरिरहेको बताए । निर्वाचन पछि बामपन्थीको स्थायी सरकार निर्माण हुन गईरहेकोले नेपाल बिकासको गति लिएर नयाँ युगको रुपमा अघि बढ्ने बताएका हुन । एकता, सम्वृद्धि र विकासको लागि नयाँ सरकारले काम गर्ने बताउँदै नेपाललाई समृद्ध राष्ट्र बनाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: