वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

नेतालाई चुनाव, किसानलाई धानको चटारो

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, मंसिर ९, २०७४ ।    

राजापुर, बर्दिया ।
गेरुवा ४ का कालीबहादुर थारूलाई बोल्ने फुर्सद छैन । धान दाउने र नजिकको बजारमा लगेर बेच्ने तयारीमा उनी जुटेका छन् । वर्षभरिको प्राण धान्न र खर्च टार्न धान स्याहार्ने चटारो छ । स्थानीय लखना थारू गहुँ छर्न खेत जोत्ने तयारीमा छन् । नजिकिँदै गएको चुनावभन्दा यहाँ बाली भित्र्याउने र गहुँ छर्ने चटारो छ । सदरमुकामदेखि २५ किमि पश्चिम कर्णालीपारिका किसान खेतीपातीमा व्यस्त छन् ।

‘यो धान दाउने बेला हो, काम नगरी खान पाइन्न,’ लखनाले भने, ‘भोट हाल्ने बेला एक दिन कामलाई बिराम गरेर जान्छौं ।’ चारैतिर कर्णाली र यसको भंगालो गेरुवाले घेरिएको राजापुरमा राम्रो सिँचाइ छैन । ‘यही बेला मलखाद, बीउसमेत पाइँदैन, राजापुर ८ भोगपुरका रामप्रसाद ढुङ्गानाले बताए । मल अभाव भएकाले किसान चिन्तित छन् । बेलैमा मल नपाए गहुँ, तोरी र तरकारी नहुने कोइलीका बडघर जगबहादुर चौधरी बताउँछन् । भोटभन्दा परिवारको पेट भर्ने जुटाउन खेत जान बाध्य भएको किसान बताउँछन् ।

चुनाव जितेकाले किसानका समस्या समाधान नगरेको दुखेसो उनमा छ । ‘हाम्रा कुरा सुन्ने भए त मलखाद र सिँचाइका लागि यति दुस्ख झेल्नु पर्थेन,’ गेरुवा २ का राधेश्याम थारूले भने, ‘हाम्रा लागि केही गर्ने होइनन् ।’ कतिपय युवा धान काटी खेत जोतेर काम खोजीमा भारततिर जान थालेका छन् । चुनावभन्दा घरपरिवार पाल्ने चिन्ता धेरैलाई रहेको स्थानीयले बताए । ‘युवालाई रोजगारी, सुविधायुक्त सिँचाइ, समयमा मलखाद, यातायात र स्वास्थ्य केन्द्रमा डाक्टरजस्ता सेवा उपलब्ध गराउँछु भनेर चुनावमा वाचा गर्नेले राजधानीमा घर बनाएर उतै भुलेको किसानले जनाए ।

निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने राजापुर टप्पुमा साविक ११ गाविस थिए । हाल राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बनाइएको छ । यहाँ वार्षिक १ अर्बभन्दा बढीको धान उत्पादन हुन्छ । ०४८ मा यस क्षेत्रमा कर्णालीको पानीले सिँचाइ गर्ने उद्देश्यले कामको थालनी भयो । १४ हजार हेक्टरभन्दा बढीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले नहर निर्माण गरिए पनि सबैतिर नपुगेको स्थानीय खुमराज रेग्मीले बताए । ‘किसानले उत्पादन गरेको धान समयमै खाद्य संस्थानले किन्दैन,’ उनले भने, ‘सानातिना किसानका समस्या समाधान गर्न नसक्ने यी नेताले जिल्लाको मुहार नै फेरिदिन्छु भन्नु झूट हो ।’ यस भेगका करिब ९६ प्रतिशत बासिन्दा कृषिमा निर्भर रहेको कृषि कार्यालयले जनाएको छ ।

कमल पन्थीले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: