वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

अधुरो सपना

        अनिता खड्का   |   प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४ ।    

“काया, तिमीबिना म मात्र बाँचेर मेरो सफलताको कुनै महत्त्व रहँदैन। अबदेखि यस्तो कथा सुनाउन छाडिदेऊ ल! मननै भारी भएर आयो।”

“यति धेरै माया गर्छौ करण तिमी मलाई?”

“गर्छु नि, सायद नजिक भएको भए तिमीले मेरो मायाको अनुभूति गर्ने थियौ।”

यस्तै कुराले काया र करणबीचको माया दिन प्रतिदिन बढिरहेको थियो। दुवै जना आफ्नो काम सकिएपछि रातभर घण्टौँसम्म फेसबुक र फोनमा कुरा गरेर समय बिताउथे। एकदिन त करणले घरकै ल्याण्डलाइनबाट गफ गर्दा त्यो महिना फोनको बिल घरमा बढि आएछ र करणका बाबाले सबैले आफ्नो मोबाइलको प्रयोग कम गर्न पो थालेछन् भन्दा करण आफनो हाँसो खप्न नसकेको कुरा कायाले सुनाउँदै खुब हाँसेको थिईन्। कायाले पनि करणको हाँसोमाथि हाँंसो थपिदिएकी थिई।

फोटोमा मात्र दुबैले एकले अर्कालाइ देखेका थिए। काया फोटोमा करणको मुस्कान देखेर लठ्ठ र लालयित हुन्थी अनि फोनमा उसको हाँसो सुन्दा अझै मुग्ध बन्थी करणको मायामा। करण पनि कायाको ज्ञानीपनमा लठ्ठ पर्थ्यो।  नाम नै राखीदिएको थियो, ज्ञानी मान्छे।

हरेक कुरा सेयर गर्ने उनीहरू बिहानदेखि साँझसम्मको समय तालिका एकले अर्कालाई सुनाँउथे। दुवै जना व्यस्त पनि थिए।

करण त्रिभुवन विश्वविद्यालयबाट मास्टर सकेर आफ्नै घर दाङ फर्केको थिए भने काया प्युठानको सानो गाँउबाट पोखरामा नर्सिङ्ग पढेर उतै जागिर गर्दै थिई। करण दाङमै कलेज र स्कुलमा पढाउने काम गर्थे भने काया पोखरामा नर्सिङ्ग पेशा गर्दै थिईन्। दुवैले विवाहको मीठो सपना देखेका थिए। गाँउ घरमा कसैको विवाह भयो भने करण कायालाई हाम्रो बिहे कहिले होला? भन्दै प्रश्न ग¥थ्यो। काया अब छिट्टै भन्दै करणलाई जवाफ दिन्थी। दुवैले विवाहपछिको जीवन र भविष्यको बारेमा योजना बुन्दै जीवनलाई रङ्गिन बनाउँदै थिए।

काया आफ्नो घर प्युठान गएको बेलामा दुवैले पहिलो पटक एक अर्कालाई भेटेका थिए। भेटमा उनीहरूले केवल एकले अर्कालाइ देखादेख मात्र गर्न पाए। त्यही दिन नै काया पोखरा फर्किनु पर्ने भएकाले उनीहरूबीच प्रेम वार्तालाप गर्न समयले साथ दिएन। करणले कायालाई राम्रोसँग भेट्न पनि नपाएको गुनासो महिनौँसम्म गर्‍यो। भौगोलिकरुपमा करण र कायाको दुरी धेरै टाढा भएपनि आत्मीयता र मायाले दुवैलाई सँधै आफैँसँग भएको महसुस गराउँथ्यो। फोनमा एक अर्कासँग झगडा अनि उति नै खेर फेरी माया साटासाट गर्ने उनीहरू कयौँ दिन रिसाएर फोनमा र फेसबुकमा नबोली बस्थे।

तर काया सम्बन्धलाई मजबुत बनाउनका लागी फेसबुकमा करणलाई देख्नासाथ टुच्च मेसेज गर्थी,

‘के छ खबर?’

तुरुन्त जवाफ आउँथ्यो- “ठिक छ अनि तिम्रो?

फेरी कुराकानीको सुरुवात हुन्थ्यो दुवैले माफी माग्दथे र आफूले ती दिनमा कति धेरै याद गरेको भन्दै अबदेिख झगडा नगर्ने प्रतिबद्धता गर्थे। करणमा सम्बन्धलाई निभाउन सक्ने खुबी थिएन। उनी माया सबैलाई गर्थे तर सम्बन्धलाई निभाउन भने त्यति सिपालु थिएनन्। करण औपचारिकतामा विश्वास नगर्ने एकहोरो मिजासका थिए तर काया सम्बन्धलाई निभाउनमा पूर्ण थिईन्। त्यसैले करण कायालाई आफूभन्दा जिम्मेवार सम्झिन्थे। उनीहरू बीचको प्रेम प्रगाढ बन्दै थियो। हरेक चिजको दुवैलाई धेरै ख्याल हुन्थ्यो। काया करणलाई धेरै माया गर्थिन् तर कहिलेकाहीँ करणमा आएको एक्कासी परिवर्तनले कायालाई आफ्नो सम्बन्ध कतै दुई दिनको घाम छाया हुने त हैन भन्ने पिर हुन्थ्यो। तर कायाको प्रेममा कुनै स्वार्थ थिएन। कायालाई करणलाई पाउनुनै पर्छ भन्ने थिएन यदि विवाह भएन भने पनि माया भने करणलाई नै गरिरहन्छु भन्ने लाग्थ्यो। दुवैले यसरी प्रेममय दिनहरू बिताइरहेका थिए।

एकदिन करण कलेजको कामले पोखरा जाने अवसर जुर्‍यो। दोस्रो भेटमा दुवै जना भेट्नका लागी आतुर थिए १० बजे दुवै जनाले भेट्ने निधो गरे करणले आफू खाना खान कायाकै रुममा आउने बताएपछि कायाले खाना बनाएर राखेकी थिइन्। एकले अर्कालाइ खाना खुवाउने मिठो सपना पुरा हुने दिनको प्रतिक्षा समाप्त भएको महसुस कायालाई हुँदै थियो। करण आउने भनेपछि हतार हतारमा खाना तयार गरेर राखिन् उनलाई लिन चोक सम्म गइन दुवै जनाको भेट भयो। काया खाना नखाइकन करणसँगै खाना खाने प्रतिक्षा गरेर बसेकी थिईन् तर करण साथीहरु संग बाहिरै खाना खाएर आएको भन्दै कायाको खानाको प्रस्तावलाई नकारिदिय । एकछिन मन खिन्न बनाईन कायाले पनि । धेरै समयपछिको भेट दुवैजनाले एकअर्कालाई खुब माया गरे । करण साथीहरुले पर्खि रहेको भन्दै कोठाबाट निस्किय र साँझ आएर खाना खाने प्रतिवद्धता जनाए ।

साझ भईसकेको थियो करण खाना खानका लागी आउने कुरा भएकाले उनको फोन नआएपछि कायाले आफैले फोन गरीन

“कता छौ करण खाना खायौँ ?

उनले जवाफ दिए- “म साथिहसँग छु ।”

कायाको लागी करणसंगको भेटले अझै बढि आत्मीयता र माया बढेको अनुभुति गर्दै थिइन् । सधै जस्तो काया आफनो काममा व्यस्त भईन जाने बेला करणको फोन आउछहोला भन्ने प्रतिक्षामा थिईन । फोन नआएपछि उनले आफैले फोन गरिन करण कता हो तिमि ? उनले जवाफ दिए म बसपार्क घर जान लागेको कायाले शुभयात्रा भन्दै फोन राखिन। कायालाई कताकता मनमा ठेस लागेको जस्तो भयो जानेबेला सम्म पनि करणले उनलाई जादैछु सम्म पनि नभनेकोमा आफै संग गुनासो गरिन । उनलाई करणले आफुप्रति गर्ने माया कम भएजस्तो भान हुँदै थियो । दिन बित्दै थिए। कायाले करणलाई फोन गर्दा करणले कायाको फोनलाई वास्ता गर्न छाडिसकेको थियो। करणको ब्यवहारमा आएको परिवर्तनले उनी अचम्ममा थिईन्।

साँझपख कायाले करणलाई फोन गरिन्-

“किन हो करण तिमी परिवर्तन भएका छौ नि? मबाट केही गल्ती भयो र?”

तर करणले कायालाई आफ्नो बाटो लाग म बिहे गर्दैछु भन्दै अरु कुरै गर्न चाहेन। कायाको बोली नै अवरुद्ध भयो। उनले केही प्रतिकृया नै नदिई फोन राखीन्। काया सम्बन्धलाई राम्रोसँग बुझ्थिन्। जवरजस्ती सम्वन्ध गाँस्नु बालुवामा पानी हाल्नु जस्तै लाग्यो र करणले गरेको निर्णयलाई आत्मसाथ गर्दै आफूलाई खुशी बनाईन्।

उनी करणसँग बिताएका हरेक दिनहरूलाई सम्झेर बस्थिन् र केही समयपछि कायालाई आफू गर्भवती भएको थाहा भयो। करणलाई फोन गरिन्। उनलाई थाहा थियो करणको जवाफ के हुनेछ तर पनि त्यो कुरा करणलाई नभनी बस्न उनको मन मानेन। करणलाई फोनमा आफू गर्भवती भएको र हामीबीचको मायाको चिनो उनको पेटमा हुर्कदै छ भन्ने जानकारी दिईन्। करणले कायालाई गर्भपतन गर्न सल्लाह दिए। तर काया भने यो पक्षमा थिइनन्। ठिक छ करण तिमीले स्वीकार गर्न सक्दैनौ भने हामी बीचको प्रेमको नासोलाई पेटमै भु्रण हत्या गरी मलाई हत्यारा पनि नबनाऊ। म हाम्रो मायालाई जन्म दिनेछु। उनको पेट दिनानुदिन बढ्न थालीसकेको थियो। समाज र उनको अफिसमा बिहे नै नगरी गर्भवती भएको भनेर उनको बेज्जत गर्ने मान्छेको कमि भएन । घरमा पनि उनको परिवारलाई थाहा भयो र परिवारबाट पनि उनि तिरस्कृत भईन्। अन्ततः इन्डियाको बैङ्गलोर जाने निर्णय गरीन्। त्यही काम गर्न सुरु गरिन र मायाको नासोलाई बाबु बिना नै जन्म दिईन्। कायाकरण भनी नाम राखिदिइन् छोराको।

छोरो ठूलो हँुुदै थियो ऊ स्कुल जान सुरू गरेको थियो। ठूलो हुँदै जाँदा उसलाई सबैको बाबाले स्कूलमा पु¥याउन र बिदाको दिनमा घुम्न गएको देख्दा बाबाको माया र साथको आवश्यकता महसुस गर्न थाल्यो। अनि जिद्धि गर्न थाल्यो, ’मेरो बाबा खोेई? कायासँग त्यसको जवाफ थिएन र फ्रेमभित्र रहेको करणको तस्वीरलाई तिम्रो बाबा भनेर ढाट्दै आईरहेकी कायालाई छोराले यसपाली जसरी भएपनि बाबा संग भेटाउने जिद्धि गरेपछि उनी नेपाल फर्किन बाध्य बनिन्। करण कै घर नजिकै कोठा भाडामा लिएर बस्न थालिन् अनि करणले पढाउने स्कलमा छोरालाई भर्ना गर्न गईन्। करणले कायालाई देख्नासाथ एकछिन हेरेकोहेरेकै भए। दुवैजना स्तब्ध भए। अफिसको वातावरण नै सुनसान भयो। एकैछिनमा करणकी छोरी बाबा भन्दै आईपुगिन्। दुबै फेरी आफ्नो अवस्थामा पुगे। करणले कायालाई बस्नका लागि भने उनी उनकै अगाडी रहेको सोफामा छोरो कायाकरणलाई च्यापेर बसिन् अनि आफू आफ्नो छोरोको भर्ना गर्न आएको भनिन्। करण अचम्ममा परे। छोरा कायाकरणको भर्ना भयो, उनी फर्किइन। साँझ कोठामा आएर छोरालाई करण नै तिम्रो बाबा भएको बताउँदै छोराले उसको ६ वर्षको उमेरमा बुझन सक्ने सबै कहानी भनिन्। कायाकरण सानो भए पनि कायालाई धेरै बुझथ्यो। उनले तिम्रो बाबा करण सर हो तर तिमीले उनलाई मनमनै मात्र बाबा भन्नुपर्छ बाहिर तिम्रोे बाबालाई थाहा हुनु हुँदैन बाबु भन्दा छोरा मन्जुर भएको थियो। भोलीपल्ट उनी छोरालाई लिन आउँदा करणले कायासंग कुरा गर्न खोजे अनि सोधे तिमी कहाँ थियौ? न कुनै खबर तिमी एक्कासी हरायौ त? मैले तिमीलाई बिहेमा बोलाउन लागि कत्ति खोजे न तिमी फेसबकमा भेटियौ न फोनमा नै सम्र्पक हुन सक्यो। कायाले परिस्थिति नै त्यस्तै भयो भन्दै कुरालाई अन्तै मोडिदिईन्। करणले आफुले बिहे गरेको र ५ वर्षको छोरी रहेको र खुशी रहेको भन्दै गर्दा कायाले ढिलो भएपनि बधाई दिईन्। करणले कायासंग आफुले गरेको गल्तिको माफी माग्दै भन्न थाले, काया म त्यति बेला परिवारको दबाबमा थिएँ त्यसैले तिमीलाई त्यो अवस्थामा स्वीकार्न सकिन सरि ल। काया मुसुक्क हाँस्दै केही नबोली त्यहाँबाट हिँडिन्। छोरा आफ्नो बाबा करणलाई भेटेको दिन देखी बाबाको कुरा गरेर कायालाई दिक्क बनाउन थालेको थियो। हरेक कुरामा छोराले प्रश्न गरेको देखेर कहिले काही उनलाई रिस उठ्थ्यो अनि छोरालाई तिमी आफ्नो बाबा जस्तै जिद्धि छौ भन्दै आफनो अँगालोमा कस्थिन्। ती दिनहरूमा छोरा खुशी भएको देख्दा करणको नजिकै बसे पनि कुनै गुनासो थिएन कायालाई। छोरा पढ्नमा धेरै अब्बल थियो र कहिले काँही पढ्नका लागी करणको घरमै पुग्ने गर्दथ्यो। करणको परिवारका हेरेक सदस्य विशेष गरि बाबाआमासँग धेरै नजिक थियो। कायाले पनि त्यहीँ हस्पिटलमा काम गर्न सुरू गरेकी थिईन्। कहिलेकाँिह उनको नाईट डयुटी पर्दा छोरा करणकै घरमा गएर सुत्ने गथ्र्याे।

बाबाको मुख हेर्ने दिन परेको थियो कायालाई छोरा कायाकरणले जिद्धि गर्न थाल्यो। आज म बाबालाई हग र माया गर्दै हेप्पी फादर डे भनेर वीस गर्छु ल मामु। उनी शुन्यतामा हराईन्। मुखबाट कुनै शब्दहरु निस्किएन। छोरा कायाकरण पनि आखिर जिद्धि करण कै छोरा थियो। ड्रविङ्ग पेपरमा करणको तस्वीर बनाएर हेप्पी फादर डे लेखिछाड्यो अनि स्कुलमा करण भएको कोठामा गएर उनलाई आफूले बनाएको तस्वीर दिँदै हेप्पी फादर डे भन्यो। करण त्यो तस्वीर देखेर अचम्म परे कुनै कलाकारले बनाएको तस्वीर भन्दा कम थिएन। उनले प्रश्न गरे मेरो तस्वीरमा तिमीले हेप्पी फादर डे चाँही किन लेखेको नि? छोरा कायाकरण पनि जवाफ दिन सिपालु थियो र भन्यो टिचर पनि त फादर नै हुनुहुन्छ नि हैन र सर? करण मुसुक्क हांँसे र स्मार्ट ब्वाय भन्दै धन्यवाद भने। तर छोरा करणलाई बाबाको अँगालोमा बेरिएर माया गर्ने बर्षौ देखिको चाहना थियो। अनि करणलाई भनिछाड्यो के म हजुरलाई हग गरेर माया गर्न सक्छु? करणले हस् भन्दै गर्दा ऊ करणको अँगालोमा बाँधिएर माया गर्न थाल्यो। साँझ खुशी हुदै कायालाई अँगालो हाल्दै मामु आज मैले बाबालाई माया गरेँ नि। बाबाले पनि मलाई माया गर्नु भो। म आज आफूलाई लक्की भएको अनुभुती गरेको छु मामु। आज मेरो सपना पूरा भयो। छोराले यसो भनिरहँदा कायाका आँखाबाट करणको माया छछल्किएर आयो। उनले छोरा कायाकरणका अगाडी वर्षौँ देखि लुकाएको करणको माया त्यो दिन भने आंशु बनी उनको आँखाबाट निस्कियो। यत्तिकैमा छोरा कायाकरणले कायालाई प्रश्न गरे, ‘मामु के हजुर बाबालाई माया गर्नुहुन्न?’ उनले जवाफ दिन चाहिनन् र भनिन्, बाबु अब सुत! तर जिद्धि छोरा कायाकरणको अगाडी जवाफ निदिई उम्कन सकिनन् र भनिन् म तिम्रो बाबालाई माया गर्छु र गरिरहनेछु।

काया बिरामी थिईन्। जुन कुरा उनले छोरा कायाकरणलाई लुकाएकी थिईन्। मुटुको रोगी उनी अब केही दिनकी पाहुना मात्र थिईन्। अकस्मात् उनी विरामी भईन् र हस्पिटलमा भर्ना भईन्। काया बिरामी भएदेखि कायाकरणले स्कूल जान छोडिसकेको धेरै दिन भएको थियो। उता करणका बाबा मम्मी पनि कायाकरण धेरै दिनसम्म पनि उनिहरूको घरमा नआएको भन्दै गुनासो गर्दै करणसंग सोधिरहेका थिए। करणले स्कुलबाट कायालाई फोन गर्यो तर फोन छोरा कायाकरणले उठाए र मामु विरामी भएकोले स्कुल नआएको बताएपछि उनी काया भर्ना भएको हस्पीटलमा पुगे। कायालाई अक्सिजन दिँदै राखिएको थियो र बोल्नका लागी अनुमति थिएन तर कायाले एकछिन डाक्टरको अनुमति लिँदै करणसँग कुरा गरिन् र आफू अन्तिम अवस्थामा रहेको र छोरा करणलाई तिम्रो जिम्मामा लगाउँछु किनकी ऊ तिम्रै छोरा हो! मैले तिम्रो अनुपस्थीतिमा हामी दुवैको माया दिने अनेकौँ प्रयास गरें तर उसलाई तिम्रो मायाको अभाव सँधै खडकिरह्यो। अब तिमीले त्यो पूरा गरिदेऊ ल! करणलाई कायाको त्यो अवस्था र उनको त्याग देखेर आँखाहरू रसाउन थाले। उनले कायाको काखमा रुँदैै कायाको हात समातेर माफी माग्न थाले तर कायाले प्रतिक्रिया दिन छाडिन् र यस धर्तीबाट सँधैका लागि बिदा लिईन्। छोरा कायाकरण कायाको मृत शरीरलाई अँगालो हाल्दै रुन थाल्यो। सबै मानिसको जमात लाग्यो। सबैलाई सानो बालक कायाकरण टुहुरो भयो भन्दै गाईगुइँ गर्न थाले।

करणका बाबाममीले काया करणलाई घरमा ल्याए र उसको सामानहरू राख्दै गर्दा रातो डायरी फेला प¥यो जसमा कायाले सबैकुराहरु लेखेकी थिईन्। करणका बाबाममी आफ्नो छोरा करणले गरेको गल्तीप्रति नाति कायाकरणसंग माफी मागे र अँगालोमा बेरे करणले पनि छोरासंग माफी मागे र आफू तिम्रो बाबु भन्न लायक नरहेको बताए। तर छोराले आफू करणको छोरा भएकोमा गर्व गरेको बताउँदै आई लब यु बाबा भन्दै अँगालोमा हाल्यो। रात परिसकेको थियो कायाकरण माथी छतमा उभिएर आकाशमा चम्किरहेको तारालाई हेरिरहेको थियो करण पनि छोरालाई खोज्दै कायाकरणको छेउमा गएर उभिए।

छोरा कायाकरणले आकाशमा चम्किरहेको तारालाई देखाउँदै करणलाई भन्यो-

“बाबा! ऊ त्यो ताराबाट मामुले मलाई र हजुरलाई हेर्दै हुनुहुन्छ र मलाई हजुरसंग देखेर खुशी भएर चम्किरहनु भएको छ। सँधै यसरी नै त्यो तारामा म मामु हजुरलाई भेट्ने छु। गुड नाईट मामु।”

प्रतिक्रिया दिनुहोस्: