वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

गाउँपालिकामा डिजिटल नागरिक बडापत्र

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०७४ ।    

भुमे, रुकुम पुर्व।
एकै पटक हेर्न, सुन्न र पढ्न मिल्ने डिजिटल नागरिक बडापत्र रुकुम पूर्वको एक गाउँपालिकाले प्रयोगमा ल्याएको छ ।
भूमे गाउँ कार्यपालिकाले सन्चालनमा ल्याएको डिजिटल प्रविधिको नागरिक बडापत्रको उद्घाटन गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले एक कार्यक्रमका बिच रिमोट थिचेर गरेका हुन।


यही कात्तिक २२ गते भूमे गाउँपालिका ३ सिमास्थित गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित डिजिटल बडापत्र उद्घाटन कार्यक्रममा डिजिटल वडापत्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मगरले यस प्रकारको डिजिटल वडापत्र प्रयोगमा ल्याउनुको मुख्य उद्देश्य सरकारी कामको कार्य प्रकृति र प्रक्रिया बारे आम सेवाग्राहीहरुलाई सुसूचित गरी सेवा प्रवाहमा चुस्तता र प्रभावकारिता ल्याएर सुशासन प्रवद्धन गर्नु रहेको बताए । सेवा प्रवाहलाई कसरी छिटो छरितो, कम खर्चिलो र प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरा पहिलो प्राथमिकतामा राखेर योजना निर्माण तथा कार्यान्वयनमा निरन्तर लागिरहेको बताउदै अध्यक्षले आजको डिजिटल युगमा दूर्गम गाउँमा पनि डिजिटल जमानाको झल्को दिने गरी सुन्न नसक्नेले देखेर वा पढेर, पढ्न वा देख्न नसक्नेले सुनेर पनि सेवा प्रवाह र प्रकृयाका बारेमा जानकारी लिन सक्ने भएकाले एकातिर सेवाग्राहीले पनि सेवा लिँदा अपनाउनुपर्ने प्रक्रिया र आवश्यक कागजातहरु सुरुमै सबै तयारी गर्न सक्ने भएकाले उनीहरुको सेवा प्राप्तिको लागि समय र पैसाको बचत हुन्छ भने अर्कातिर सेवाग्राहीले सबै कागजात र प्रकृया पूरा गरेर आउँदा सेवा प्रदायकले पनि कार्यालयको कम लागतमा छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने भएकाले राज्य र जनता दुवैको लागि यस प्रकारका प्रविधिहरुको प्रयोग फाइदाजनक रहेको कुरामा जोड दिए ।
गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, सुआहारा कार्यक्रमका रुकुम जिल्ला संयोजक जनकराज भट्ट, फिल्ड संयोजक सीता खड्का, वास अधिकृत दिपक बञ्जारा, ९ वटै वडाका वडाअध्यक्षहरु, गाउँ कार्यपालिकाका सदस्यहरु, कार्यालयका कर्मचारी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन भूमे गाउँ कार्यपालिकाको कार्यालय रुकुम पूर्वका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: