वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बर्दियामा १९ हजार बढी मतदाता थपिए

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, कार्तिक ६, २०७४ ।    

गुलरिया, बर्दिया ।

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागी मंसिरमा हुने निर्वाचनका लागी बर्दियामा मतदाताको संख्या १९ हजार २ सय ८९ जनाले बृद्धि भएको छ । भाद्र ५ गते सम्म १८ वर्ष उमेर पुगेकाहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएसँगै बर्दियामा मतदाता संख्या बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवन कुमार शाहीले बताए ।
स्थानिय तह निर्वाचनमा १ लाख २८ हजार २ सय १८ महिला, १ लाख २४ हजार ९ सय ६५ पुरुष र ५ अन्य गरी २ लाख ५३ हजार १ सय ८८ मतदाता संख्या रहेकोमा भाद्र ५ गते सम्म मतदाता नामावली दर्ता पछि मतदाता संख्या बृद्धि भएर २ लाख ७२ हजार ४ सय ७७ पुगेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । जसमा पुरुष मतदाता भन्दा महिला मतदाता वढी रहेको कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीका कारण अधिकांश पुरुषहरु फोटो सहितको मतदाता नामावली दर्ता गर्न छुटेका कारण महिलाको संख्या बढी भएको हुन सक्ने बताईएको छ ।
कार्यालयको पछिल्लो तथ्यांक अनुसार बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा १ लाख ३९ हजार ३६२ मतदाता छन् । प्रतिनिधि सभा क्षेत्र नम्वर १ अन्र्तगतको प्रदेशसभा निर्वाचन क्षेत्र नम्वर १ मा ७० हजार १ सय ९३ र क्षेत्र नम्वर २ मा ६९ हजार १ सय ६९ मतदाता छन । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा १ लाख ३३ हजार २ सय १५ मतदाता छन ।
प्रतिनिधि सभा क्षेत्र नम्वर २ अन्र्तगत प्रदेशसभा क्षेत्र नम्वर १ मा ७० हजार ९ सय ५५ र क्षेत्र नम्वर २ मा ६२ हजार १ सय ६० मतदाता रहेका छन । बर्दियामा ६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तह छन । बर्दियामा २ वटा प्रतिनिधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्: