वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा बाघको मुखबाट फर्केर आउँदा…

        नारायण ढुंगाना   |   प्रकाशित मिति: बिहिबार, अशोज १९, २०७४ ।    

ठाकुरद्वारा, बर्दिया ।

कुरा केही बर्षअघिको हो । भारतको एउटा चिडियाघरको पर्खाल बाहिर मानिसहरु टम्मै बसेर बाघ हेर्दै थिए । हेर्दाहेर्दै एक जना युवक बारमाथिबाट फुत्त बारभित्र खसे । उनी भित्तामा अडेस लागेर थरर काम्न थाले । पर रहेको बाघ लस्कँदै आयो । एकछिन यता उता हेर्‍यो । ती युवक काम्दै थिए । बाघले घाँटीमा समायो र घिसार्दै लिएर गयो अलि पर रुख बुट्यानको फेदतिर । बाहिर मान्छेहरु चिच्चयाउँदै थिए । कराउँदै थिए । बाघलाई तर्साउँदै थिए । तर कसैको जोर चलेन । आखिर ती युवकको जीवन क्षणभरमै समाप्त भयो । यस घटनाको भिडियो युट्यूबमा सार्वजनिक भएको थियो । कथा लगभग उस्तै–उस्तै हुनसक्छ । त्यहाँ चिडियाघरको कुरा थियो यहाँ जंगलभित्रको कुरा । त्यहाँ बाघ रिसाएको थिएन यहाँ बाघ आक्रामक थियो । नारायण ढुंगानाले लेख्नु भएको यो समाचार हामीले थाहा खबरबाट लिएका हौँ ।

एकदिन वन्यजन्तु फोटोग्राफर सागर गिरीसँग बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न जाने विषयमा छलफल भयो । निकुञ्जका प्रमुख रमेश थापासँग पनि कुराकानी भइरहेको थियो, तर समय मिलेको थिएन । सबैभन्दा बढी बाघ पाइने चितवनमा पत्रकारिता गरेको डेढ दशकसम्म निकुञ्जमा बाघ देख्न सकेको छैन । बर्दियामा एकजना विदेशीले खिचेको माउ बच्चासहितको बाघको फोटो विश्वमै भाइरल भएको थियो । बर्दियामा एक दुई दिन घुम्यो भने बाघ देख्ने सम्भावना प्रबल हुन्छ । त्यसैले बर्दिया गएर बाघ हेर्ने मात्रै होइन फोटो नै खिच्ने धोको थियो । म काठमाडौंमा थिए, सागर चितवनमा र रमेश थापा बर्दियामा । टेलिफोनको भरमा समय मिलाएर हामी बर्दिया घुम्न निस्कियौं । भदौ २८ गते बर्दिया निकुञ्ज कार्यालयबाट दिउँसो जीप सफारीमा निस्कियौं ।

जंगल घुम्ने सुविधायुक्त गाडी सागरकै थियो । सफारीमा मसँगै सागर, बर्दिया निकुञ्जका गेमस्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल, सवारी चालक देवेन्द्र शाही थिए । दिउँसो करिब २ बजे निकुञ्जबाट हाम्रो यात्रा शुरु भयो । निकुञ्जको उत्तर बाल्कुने पुग्न झण्डै १० किलोमिटर थियो । हामीले बीचमा एउटा चित्तलको झुण्ड देख्यौं । तस्बिर खिच्यौं। विस्तारै यताउता हेर्दै जंगल सफारी चल्दै थियो । अपरान्ह ४ बजे बाल्कुने पुग्यौं । बाल्कुने र तीनकुने बाघको राम्रो बासस्थान रहेको कुरा हाम्रा गाइड बनेका जगत रिजालले बताउँदै थिए । सागर र म गाडीभित्र थियौं भने वीरेन्द्र र जगत गाडीको पछाडि खुला रुपमा हिँड्दै थिए। किनकी पछाडिबाट वन्यजन्तु देख्न सहज हुन्छ । मेरो मनमा बाघ हेर्ने कौतुहलता जाग्दै थियो । एक्कासी बाघ देखियो भने के गर्ने, कसरी बच्ने मनमनै कुरा खेल्दै पनि थियो । बाघको धेरै तस्बिर खिचिसकेका र आनीबानीबारे जानकार भइसकेका सागरसँग जानकारी लिएँ । त्यसो त बाघकै विषयमा विद्यावारिधि गरेका बाघ विज्ञ डा. चिरञ्जिवी पोखरेलसँग पनि बाघको आनीबानीबारे मैले राम्ररी जानकारी लिएको थिएँ । यसै विषयमा केही समाचार पनि लेखेको छु । बाघ लजालु हो । मान्छे देख्यो भने झम्टिंदैन, आफ्नो बाटो लाग्छ । तर जिस्याउनु हुन्न । बाघ देखियो भने रोकिने र एकछिन उसको बाटो नचलाए केही गर्दैन भन्ने कुरा सिकेको थिएँ । फेरि अर्को कुरा पनि सिकेको थिएँ । बाघ बच्चासँगै हुँदा, विरामी पर्दा, अरु बाघले लखेटेको अवस्थामा र मान्छे खान पल्केको बाघले मान्छेलाई सिधै आक्रमण गर्नसक्छ भन्ने कुरा पनि जानकारी थियो । म सँगका सहयात्रीहरु सबै बाघसँग भुक्तभोगी नै थिए । मेरो लागि निकुञ्जको त्यो ठाउँ नयाँ र बाघ हेर्ने रहर पनि नयाँ थियो ।

हाम्रो जंगल यात्रा चल्दै थियो। ‘टाइगर, टाइगर’, पछाडिबाट संकेत आयो । कसको आवाज हो खुट्याउन सकिएन । गाडीको झ्यालमा मुख ल्याइपुर्‍याएर साउती मार्दै जगत रिजालले बाघ रहेको कुरा बताए । गाडी केही व्याक गर्न भने। मेरो कान ठाडो भयो । चितवन निकुञ्जमा डेढ दशक पत्रकारिता गरेको र हप्ता, महिनै पिच्छे निकुञ्ज घुम्दा बाघ नदेखेको यो दुई घण्टामै बर्दियामा बाघ भेटिनु सपना जस्तै भयो । हामी गाडीको अगाडिबाट उत्रियौं । एक–एक वटा क्यामेरा लियौं। सागरको बन्दुक जस्तो क्यामेरा सामान्य मान्छेले बोकेर फोटो खिच्न सक्दैन। हामी जीपको पछाडि भागमा उक्लियौं । झण्डै १५ मिटर पर सडकभन्दा केही तल्लो भागमा झुम्म झाडी थियो। झाडीको मुनी खुला भाग । त्यही खुला भागमा विश्वकै दुर्लभ भाले पाटेबाघ आराम गरेर बसिरहेको थियो । बाघ आफ्नै शुरुमा थियो । उसलाई डिस्टर्ब नगरेसम्म मान्छेलाई आक्रमण गर्दैन भन्ने सबै जानकार थियौं । त्यसमाथि हामी गाडीमा थियौं । आइहाले भाग्ने तयारीमै थियौं । सबै तयारी गरेर हामीले बाघको तस्बिर खिच्न थाल्यौं । सागरको एक सेकेन्डमा दर्जनौं फोटो खिच्ने क्यामेरा थियो । करिब २ मिनेट हामीले पोज पोजका फोटो कैद गर्‍यौं बाघको । पत्रकारका लागि सामान्य फोटो त्यति प्रभावकारी नहुन सक्छ । त्यसैले अलि आक्रामक फोटो खिच्ने चाहना आइरहेको थियो । सोचाइसँग मेल खायो । नभन्दै बाघ आक्रामक भएर आयो । त्यो पनि हामीले तस्बिर कैद गर्न भ्याएछौं। दुई पटक सुतिरहेकै ठाउँबाट गर्जियो । सागरले भने, ‘ल बाघ अब आउँछ, जाउँजाउँ।’ उनले गाडीलाई पछाडिबाट ढ्यापढ्याप गरे। त्यति भनिसक्दा बाघ उठिसकेको थियो । नङ्ग्रा फिजाएर शिकारको बेला झैं झम्टिन शुरु गर्‍यो । त्यति नै बेला चालकले गाडी एक्कासी स्टार्ट गरेर अगाडि बढाए। जे नहुनु थियो, त्यतिबेला त्यही नै भयो। करिब एक महिना भएको थियो मेरो हात फ्याक्चर भएको । राम्ररी हातले काम गर्न सकेको थिएन । जब चालकले गाडी एक्सलेटर दाबे । त्यति नै बेला हामीले गाडी समाउन भ्याएनौं । पछाडिको ढाला छेउबाटै फोटो खिच्ने गरेको थिएँ म । मेरो पछाडी नजिकैबाट निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी फोटो कैद गर्दै थिए । सागर भने अलि अगाडिबाट खिच्दै थिए । जब गाडी दौडियो । सागर र जगतले समाउन भ्याए तर मैले र वीरेन्द्रले समाउन भ्याएनौं । हामी गाडीको पछाडिबाट उत्तानो हुँदै सडकमा पछारिन पुग्यौं। अब जीवन सकियो, लड्दै गर्दा सोच्न भ्याएँ मैले ।

त्यसपछि मेरो होस हराएजस्तै भयो। तर होस त्यति नै छिटो फर्कियो पनि । म होसमा आउँदा वीरेन्द्र उठेर भागिसकेछन् । ‘यति नै रहेछ जीवन भन्ने सोच आएको थियो बाँचियो’ घटनापछि एक आपसमा अनुभव साटासाट गर्दा वीरेन्द्र भन्दै थिए। देब्रे हातको चोटका कारण म सहजै उठ्न सकिन। यदि बाघ आएको हुन्थ्यो भने उसको पहिलो शिकार म नै हुने थिएँ। हामी यता दुर्घटनामा पर्दै गर्दा उता बाघ हामीलाई नै झम्टदै आउँदै थियो। हामी लडेको देखेपछि सागरलाई पीडा नहुने कुरै भएन। ‘ला मार्‍यो, मनमनै भन्दै थिएँ,’ पछि अनुभव सुनाउँदै थिए सागर। जगतको बोली नै फुटेन। हामी लडेको देखेका सागरले तत्कालै गाडी व्याक गर्न भनेछन्। त्यति गर्दा गाडी करिब १० मिटर पर पुगिसकेको थियो। म होसमा आउँदा गाडी व्याक हुँदै गरेको देखें। वीरेन्दै दौडदै गाडी नजिक पुगिसकेछन्। म बाघकै अगाडि थिएँ। सकी नसकी म पनि उठेर गाडीतिर अगाडि बढेँ। बाघ र हामीबीचको दूरी १५ मिटरमात्रै थियो। तर करिब ७/८ मिटर अगाडिसम्म झम्टँदै आएको बाघ त्यसपछि आएन। हाम्रो भाग्य हो या बाघले तर्साउन मात्रै खोजेको हो अहिलेसम्म मैले उत्तर भेट्टाउन सकेको छैन। तर्साउनै खोजे पनि उसको गर्जन जमिन नै थर्कनै गरी आउँदा नडराउने को होला ? १ अहिलेसम्म यो घटना मैले सार्वजनिक नै गरेको थिइन । तर अरुको सावधानीका लागि सहयोगी बन्न सक्ला भनेर नै आज सार्वजनिक गरेँ। पत्रकारिता आफैंमा जोखिमपूर्ण पेशा हो। त्यसमाथि वन्यजन्तुको तस्बिर खिच्नु त्यो भन्दा जोखिम के होला भन्ने कुरा यही मेरो अनुभव काफी छ। बाघसँगको त्यो पहिलो जम्काभेट मेरा लागि जीवनमा कहिल्यै नमेटिने छाप बनेको छ । मेरो डेढ दशकको पत्रकारिताको सबैभन्दा जोखिमपूर्ण क्षण नै ‘टाइगरसँगको जम्काभेट’ बन्न पुग्यो। भोलीपल्ट बाघको तस्बिर थाहाखबरबाट सार्वजनिक भयो। सागरले खिचेका तस्बिर पनि विभिन्न अनलाइनबाट सार्वजनिक गरियो । हामीले खिचेको बाघको तस्बिर मिडियाहरुमा भाइरल नै बन्यो । अघिल्लो दिनको त्यो कहालीलाग्दो घटना भोलीपल्टको बाघको तस्बिर भाइरल भएसँगै मन हल्का पनि भयो ।

प्रतिक्रिया दिनुहोस्: