वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

मूर्ति बिसर्जनको विषयमा विवाद बढेपछि बर्दियामा अनिश्चितकालीन कर्फ्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज १६, २०७४ ।    

गुलरिया, बर्दिया ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले बिहान १० बजेदेखि गुलरिया–११, लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा स्थितिलाई सामान्य बनाउन प्रहरीद्वारा केही सेल अश्रुग्यास र हवाईफायर गर्नुपरेको थियो ।

झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भैरहेको जनाइएको छ । झडपका क्रममा दुवै समूहका व्यक्तिहरु घाइते भएका छन् । हाल गणेशपुर क्षेत्र लगायत घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सो घटनापछि दुई पक्षबीच पुनः झडप हुन सक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कर्फ्यु आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार स्थिति साम्य नभएसम्म कर्फ्यु आदेश जारी रहनेछ ।

कर्फ्युका कारण गुलरिया नेपालगञ्ज सडक खण्डमा यातायातका साधन चल्न नसक्दा लामो तथा छोटो दुरीका हजारौँ यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन ।

प्रतिक्रिया दिनुहोस्: