वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

तीन मन्त्रीहरूद्वारा बर्दियाको विकासमा ऐक्यबद्धता, विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड

        बअ सम्बाददाता   |   प्रकाशित मितिः सोमवार, भदौ २६, २०७४     ::: 1017 पटक पढिएको   |  

काठमाण्डौ ।
बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा ऐक्यबद्धता व्यक्त गरेका छन् । बर्दियाली एकता समाजले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले स्रोत साधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका छन ।

भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले बर्दियामा रहेका वर्गीय असमानतालाई अन्त्य गर्दै स्थानीय पर्यटकीय विकासमा जोड दिन सकेमा बर्दियाको विकासमा टेवा पुग्ने बताउनुभयो । सामाजिक समस्याका रूपमा रहेका कमलरी, हलिया तथा थारूका समस्या अन्त्य गर्दै थारूका परम्परागत संस्कृति र भेषभूषाको संरक्षण र प्रबद्र्धन गर्न सके पर्यटक आकर्षण गर्न सकिने मन्त्री दहितको भनाइ थियो ।

थारू संग्रालय, ताल तलैया तथा धार्मीक स्थलहरूको प्रबद्र्धनसँगै कृषि क्षेत्रबाट समेत राम्रो विकास गर्न सकिने उहाले बताउनुभयो । बर्दियाको विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तत्पर रहेको दहितको भनाइ थियो ।

सिंचाई मन्त्री सञ्जयकुमार गौतमले पूर्वाधार विकासमा धेरै अघि बढेको बर्दिया नयाँ मोडलमा अघि बढिसकेको दाबी गर्नुभएको छ । बर्दिया स्रोत साधनका हिसाबले तराईका २३ जिल्ला मध्ये राम्रो जिल्ला भित्र पर्ने भन्दै उहाले बर्दियाको विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

पशुपंछी मन्त्री सन्तकुमार थारूले बर्दियाको विकासका लागि सबै राजनीतिक दल एउटै मञ्चमा उभिनुपर्नेमा जोड दिनुभएको छ । हाल नौ महिनामा सरकार परिवर्तन हुने प्रवृत्तिले बर्दिया मात्र नभएर सम्पूर्ण मुलुक नै उपलब्धि विहीन भएको भन्दै उहाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै दीर्घकालीन सरकारको अवधारणाले मात्र हरेक क्षेत्रको विकासमा सहयोग पुग्ने दाबी गर्नुभयो ।

उहाले बर्दियामा रहेका बहुसंख्यक थारूहरूका समस्या समाधान गर्दै जस्तो सुकै परिस्थितिमा पनि पर्यटक पुग्न सक्ने अवस्था सिर्जना गर्न सके बर्दियाको विकासमा निकै ठूलो उपलब्धि हासिल हुने बताउनुभयो । त्यसका लागि विमानस्थल निर्माण लगायतका काम भइरहेको उहाको भनाइ थियो ।

कार्यक्रममा पूर्व गभर्नर तिलक रावलले बर्दियाको विकासका लागि राजनीतिक विचार भन्दा माथि उठेर सोच्नुपर्ने बताउनुभयो । उत्पादन मूलक गतिविधिमा जोड दिनुपर्ने भन्दै उहाले जिल्लाका विभिन्न ठाउँको सम्भाव्यता अध्ययन गरी त्यस अनुसारका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभयो । समाजका अध्यक्ष शुभमान श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्