वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

पोखराका समाजसेवीले बर्दियाका बाढीपिडितलाई राहत बाँडे

        भावुक योगी   |   प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४     ::: 404 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया
पोखराका समाजसेवीहरुले बर्दियाको ठाकुरबाबा नगरपालिकाका २ वटा वडाका बाढीपिडितहरुलाई राहत सामाग्री वितरण गरेका छन् ।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ शुन्दरपुर गाउँ र वडा नम्बर ८ ठाकुरद्धारा गाउँका ३२ घर परीवारका पुर्ण क्षती भएका बाढीपिडितलाई चामल, दाल, तेल, नुन लगाएतका खाद्य सामाग्री सहित कम्मल र झुल वितरण गरेका हुन । अन्य ८ जनाको राहत सामाग्री वडा कार्यालयमा बुझाएका छन । झण्डै एक लाख रुपैँया संकलन गरी राहत बितरण गरीएको अध्यक्ष प्रेम लिगलले बताउनुभयो ।
कास्की लेखनाथ महानगरपालिकाको राधाकृष्ण वृद्धाश्रम समिती, सम्झौता आमा समुह, गुरुकुल विद्यालयका विद्यार्थी तथा महानगरपालिका वडा नम्बर २९, ३० र ३२ का समाजसेवीहरुको पहलमा बाढीपिडितहरुका लागि संकलन गरीएको रकमबाट राहत वितरण गरीएको मिन बहादुर केशीले जानकारी दिनुभयो ।
उनिहरुले ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुस्मा थारु सहित स्थानिय जनप्रतिनिधी, रेडक्रस, प्रहरी र संचारकर्मीको उपस्थितीमा राहत वितरण गर्ने गरेका हुन् । संचारमाध्यममा बर्दियामा बाढीले क्षती गरेको भन्ने खबरले गर्दा लेखनाथ महानगरपालिका समाजसेवी र राधाकृष्ण वृद्धाश्रम समिती सहितको १४ जनाको टोलीले राहत संकलन गरी बर्दियाका गाउँमा बाढिपिडितहरुलाई बितरण गर्न आएको समितीका अध्यक्ष प्रेम लिगलले बताउनुभयो ।
‘बाढीपिडितलाई सहयोग गरे धर्म हुन्छ, आत्मियता बढछ, भन्ने उदेश्यले ठुलो मन गरी सानो सहयोग गर्न हामी यहाँ आएका हौँ’ सम्झौता आमा सहमुहकी साबित्रा पौडेलले भन्नुभयो । वास्तविक पिडितले राहत सामग्री पाएको भन्दै उहाँले पुर्ण क्षती भएकाहरुलाई राहत समाग्री वितरण गर्ने प्रकृया पनि निक्कै राम्रो भएको समेत बताउनुभयो ।
बाढीपिडितलाई त्यती टाढाबाट राहत सामाग्री लिएर आफ्नो नगरपालिकाका पिडीतलाई वितरण गरेकोमा ठाकुरबाबा नगरपालिकाका उपमेयर कृष्णा कुस्मा थारुले उहाँहरुलाई आभार प्रकट गर्नुभयो । ठाकुरबाबा नगरपालिका सहित विभिन्न संघसंस्थाको सहयोगमा पुर्ण क्षती भएकाहरुलाई राहत सामाग्री वितरण भईरहेपनि आंशिक क्षती भएकाहरुलाई राहत सामाग्री वितरण गर्न नसकेको भन्दै आंशिक क्षती भएका बाढीपिडितका लागि पनि पहल भईरहेको उहाँले बताउनुभयो ।
यसैगरी थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले बारबर्दिया नगरपालिका वडा नम्बर ३ रामपुर, बेलवाबज्जा गाउँका बाढी प्रभावित ३ सय घरपरिवारलाई विहिवार राहत सामाग्री बितरण गरेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समिति बर्दियाको समन्वय र ड्यान चर्च एड (डि.सि.ए) को आर्थिक सहयोगमा २३ लाख ४४ हजार रुपैँया बराबरको राहत सामग्री बितरण गरिएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले जानकारी दिनुभयोे ।


यस्तै बाढीपिडितका लागि राहत भन्दै बर्दियाका युवाहरुले संकलन गरेको रकमबाट ‘विकास प्रेमी युवा’ समूहका युवाहरुले ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुर गाउँका ३५ घरपरीवार र बाराबर्दिया नगरपालिका वडा नम्बर ४ गुरुवा गाउँका ६९ घरपरीवारका बाढीपिडितलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न सामाग्री विहिवार वितरण गरेका छन् ।
‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने नाराका साथ स्थानीय युवाहरुको सक्रियतामा बाढीपिडितका लागि राहत संकलन गरेर एक लाख ५० हजार मुल्य बराबरको राहत सामाग्री वितरण गरीएको विकास प्रेमी युवा समूहका संयोजक गोपाल निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्