वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

गेरुवा गाउँपालिकामा जंगली हात्तीले १० वटा घर भत्कायो !

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः मङ्लबार, भदौ १३, २०७४     ::: 940 पटक पढिएको   |  

गेरुवा, बर्दिया ।
बर्दियामा जंगली हात्तीको आतंक फेरी बढेको छ । गेरुवा नदी तटीय क्षेत्रमा जंगली हात्तीको राम्रो बासस्थान भएसँगै सो क्षेत्रमा जंगली हात्तीको आतंक बढेको हो ।
विगत केही दिनदेखि पुनः जंगली हात्ती सक्रिय भई आतंक फैलाइरहेको स्थानीयले बताएका छन् । बर्दियाको गेरुवा गाउँपालिकामा आइतवार राति जंगली हात्तीले आक्रमण गरी १० वटा घर भत्काएको जनाईएको छ ।
गेरुवा गाउँपालिका वडा नम्वर १ पाताभार निवासी ६४ वर्षीय नरबहादुर बुढाको घर हात्तीले भत्काएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताउनुभएको छ । थापाका अनुसार हात्तीले गोलागाउँमा समेत गरी १० वटा घर भत्काएको छ ।
केही दिनदेखि मनाउ, नौरङ्गा, पाताभार लगायत गेरुवा नदी तटीय क्षेत्रमा हात्तीको आवागमन बढेको बताउँदै प्रमुख थापाले हात्ती नियन्त्रणका लागि निगरानी बढाईएको बताउनुभयो ।
त्यस क्षेत्रका विभिन्न पोष्टहरुमा हात्ती सहितको टोली जंगली हात्ती नियन्त्रणका लागि तयारी अवस्थामा राखेका थापाले जानकारी दिनुभयो । ओखरिया पोष्टमा थप सुरक्षाकर्मी सहित आक्रामक हात्तीलाई कडा निगरानीमा राखेको प्रमुख थापाले जानकारी दिनुभयो ।
यसैबिच केहि दिन यता ठाकुरबाबा नगरपालिकाको कर्मला बलाती, रानीपुरमा पनि स्थानियले लगाएको अन्नबालीमा लगातार जंगली हात्तीले क्षति पुर्याउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्