वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

        भगतराम थारु   |   प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     ::: 1655 पटक पढिएको   |  

गाभर, बाँके ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिकाको पर्यापर्यटकिय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक बढ्दै गएको छ ।
चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । गाभर भ्याली वरिपरि निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाको रुपमा समेत चिनिदै गएको गाभर भ्यालीका स्थानियले बताउछन् ।
गाभर भ्यालीमा मिश्रित परम्परामा आधारित रहेको होम स्टे वि.सं. २०७१ कार्तिक २३ गते पर्यटन कार्यालय कोहलपुरमा दर्ता भई संचालनमा आएको गाभर भ्याली घर नं. १ होमस्टेका संचालक कृष्ण चौधरीले बताउनुभयो । होमस्टेले यस क्षेत्रको स्थानिय आयआर्जनको अवसर विकास गर्नुका साथै स्थानिय स्तरमा जैविक विविधता संरक्षणलाई प्रोत्साहन गरेको होमस्टेका संचालक चौधरीले बताउनुभयो । पारिवारिक बसाइ र सार्वजनिक कार्यक्रममा होमस्टेको लोकप्रियता बढदै गएको संचालक चौधरीले बताउनुभयो ।
गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको मिश्रित समुदायको वसोवास रहेको छ । संचालक चौधरीका अनुसार हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोंघी, गगटा, परेवाको मासु, झिगे माछा, अनदीको रोटी, फुलौरी मौसम अनुसारको फलफुल र सागसव्जीहरु यहाँका लोकप्रिय परिकार रहेको छ । शनिबार तथा अन्य बिदाका दिन बाह्य तथा स्थानिय पर्यटकले होमस्टे खचाखच भरिन्छन् । छोटो दूरीमै थुपै्र वन्यजन्तुको अवलोकन पनि गाभरको अर्को विशेषता रहेको चौधरीले जानकारी गराउनुभयो । चुरे पहाडसँग जोडिएको गाभर सधैंभरि हराभरा देखिन्छ ।
स्थानीय संस्कृति अनुसारका नाच देखाउने गरिएको चौधरीले जानकारी गराउनुभयो । होमस्टेको विस्तारसँगै जैविक पार्क, थारू संग्रहालय र ५० फिट अग्लो भ्युटावर लगायतका पूर्वाधार निर्माण भैसकेको समेत उहाँले बताउनुभयो । यसलाई पर्यापर्यटनसँग जोडेर नमुना होमस्टे बनाउने योजना बनाएको होमस्टे सञ्चालक चौधरीले बताउनुभयो । होमस्टेमा पाहुनालाई सेवा सत्कार गर्नेक्रम दिनप्रतिदिन वृद्धि भइरहेको चौधरीले बताउनुभयो ।
तीन भिन्न संस्कृतिको अध्ययन र खानपानको विविधता गाभरको विशेषता रहेको छ । पछिल्लो समयमा राष्ट्रिय स्तरका नेताहरु समेत होमस्टेका परिकार चाख्न गाभर पुग्ने गरेको चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: