वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बबईको पानी घटेपनि तटीय क्षेत्रका बासिन्दामा पानी पर्दा त्रास कायमै

        छापाबाट   |   प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४     ::: 459 पटक पढिएको   |  

बाह्रबर्दिया, बर्दिया ।
बारबर्दिया डुग्रवाका राजाराम चौधरी आकाशमा बादल लाग्नासाथ झस्किन्छन् । पानी पर्ने र फेरि बाढी आउने चिन्ताले उनलाई सताउँछ । गुलरिया नगरपालिकास्थित बालापुरका दयाराम थारूले पनि पानी पर्नासाथ बाढीको डरले सताउने गरेको बताए । साउन २८ मा आएको बाढीको पीडामा रहेका तटीय क्षेत्रका बासिन्दालाई फेरि बाढी आउने हो कि भन्ने डरले सताउने गरेको छ । बबईमा जलस्तर घटे पनि तटीय क्षेत्रका बासिन्दा पानी परेको दिन जाग्राम बस्न बाध्य छन् । यो खबर हामीले कान्तिपुरबाट लिएका हौ ।

दुई सातादेखि आएको बाढीले १ लाख ३१ हजार ८ सय ६६ जनसंख्या प्रभावित भएको छ । बाढीले १४ हजार ७ सय ९७ घर पूर्ण क्षति पुर्‍याएको स्थानीय प्रशासनले जनाएको छ । बाढीका कारण कटानसँगै बबई नदीले धार परिवर्तन गर्दै गएपछि स्थानीयमा त्रास बढ्दै गएको छ । बर्सेनिको तटबन्ध बाढीले बगाउँदै लग्दा गुलरियालगायत क्षेत्र असुरक्षित बनेका हुन् ।

सडकमा आश्रय लिई बसेका बाढीपीडितले खाद्यान्न, लत्ताकपडा र पुनर्वासको माग यसपालि नगरेको बताउँदै आएका छन् । बबई नदी नियन्त्रणका लागि गुरुयोजनाअन्तर्गत तत्काल स्थायी तटबन्ध बनाइनुपर्ने बाढीपीडितको माग छ । बर्सेनि ठूलो धनराशि खर्चेर गरिने तटबन्ध भरपर्दो नहुँदा आफूहरूलाई सास्ती हुने गरेको उनीहरूको गुनासो छ । नगरपालिका प्रमुख मुक्तिनाथ यादवले यसका लागि भरपर्दो उपायको खोजी भइरहेको बताए ।

गुलरिया–११, इन्द्रपुरका बाढीपीडित सौकत अली गद्दीले बाढीले बर्सेनि विस्थापित बनाउने गरेकाले स्थायी तटबन्ध नै दीर्घकालीन समाधान भएको बताए । बबई तटीय क्षेत्रमा बस्दै आएका झन्डै १ लाख बासिन्दाले स्थायी तटबन्धको माग गरिरहेको उनको भनाइ छ । बबई नदीको बाढी र कटान पीडितहरूले परेवा ओडारदेखि नेपाल–भारत सीमासम्मको क्षेत्रमा नदी नियन्त्रणका लागि दुई दशकअघि जाइकाले विस्तृत सर्भे गरी तयार पारेको गुरुयोजना कार्यान्वयनको माग गरेका छन् ।
कमसल र टुक्रे बजेटका कारण बर्सेनि निर्माण गरिएका तटबन्ध बाढीले बगाउने गरेको छ । साउन अन्तिम साता आएको बाढीले ३ वर्षअघि रामपुर टप्पुमा निर्माण गरिएको तीन करोड बढीको तटबन्ध बगाएको छ । बाढीका कारण लटकनिया, पशुहाटलगायत २ करोड लगानीका निर्माणाधीन तटबन्ध पनि भासिएका छन् । गुलरिया–११, इन्द्रपुरस्थित बबई नदीमा निर्मित भादा पुल नदी कटानकै कारण उच्च जोमिखमा छ ।

प्रतिक्रिया दिनुहोस्: