वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

विकास प्रेमी युवाहरुले गरे बाह्रबर्दियाका बाढीपीडित ६९ घरपरिवारलाई राहत वितरण

        सुदीप अधिकारी   |   प्रकाशित मितिः बिहिबार, भदौ ८, २०७४     ::: 1033 पटक पढिएको   |  

बारबर्दिया, बर्दिया ।
मिलेर गरेर के हुँदैन ? बाढीपिडितका लागि राहत संकलन र वितरण गर्न बर्दियाली युवाहरु एकजुट भएर लागेका छन् । सामाजिक संजालको भरपुर उपयोग गर्दै बर्दियाका युवाहरुले बाढी पीडितहरुलाई देश तथा विदेशबाट राहत संकलन गरेर सहयोग गरेका हुन । “बिकास प्रेमी युवा समुह” नाम दिएर एकजुट भएका बर्दियाली युवाहरुले बारबर्दियाका बाढी पीडित ६९ घरपरिवारलाई आज एक कार्यक्रम गरी राहत हस्तान्तरण गरेका छन ।
हामीले नगरे कस्ले गर्ने भन्दै सामाजिक संजालमा अभियान नै चलाएका युवाहरुले अभियानबाट संकलन भएको रकमबाट बाढीपिडितलाई राहत वितरण गर्न थालेका हुन । विकास प्रेमी युवा समुह बर्दियाको संयोजकत्व अनि बर्दिया अनलाइनको सहकार्यमा बिहिबार बारबर्दिया नगरपालिका वडा नं ४ गुरुवागाउँका बाढीपिडितलाई राहत वितरण गरिएको हो । यो गाउँका ६९ बाढीपिडित घरपरिवारलाई युवाहरुले प्रति परिवार १० किलो चामल,भाडा, दाल, तेल, नुनलगाएतका खाद्य सामाग्री वितरण गरिएको विकास प्रमी युवा समूहका संयोजक गोपाल निरौलाले बताए । अघिल्लो साता ठाकुरबाबा नगरपालिका वडा नं २ का बाढी प्रभावित ४२ जनालाई युवाहरुले राहत वितरण गरेका थिए । युवाहरुले बाढीग्रस्त क्षेत्रको स्थलगत अध्ययन गरेर बढी प्रभावित गाउँमा राहत वितरण गर्ने गरेको जनाएका छन् ।


युवाहरुले स्थानिय जनप्रतिनिधी र रेडक्रसकको उपस्थितीमा राहत वितरण गर्ने गरेका छन् । यो गाउँमा सरकारी राहत अझै नआएको बाढीपिडितको गुनासो छ ।
‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने नाराका साथ स्थानीय युवाहरु बाढीपिडितका लागि राहत संकलन र वितरण अभियान लागेको अभियानका संयोजक निरौलाले बताए । समाजिक संञ्जालमा युवाहरुको समूह बनाएका छन् । उक्त समूहमा बाढीले पुर्याएको क्षती र पिडितहरुको अवस्था सार्वजनिक गर्दै राहतका लागि सहयोगको अपिल गर्ने गरेका छन् । अभियान संचालन गरेयता हालसम्म करिव डेढ लाख रुपैँया संकलन भएको अभियानका संयोजक गोपाल निरौलाले जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत अभियानमा देश विदेशबाट सहयोगीहरुले आफनो इच्छा अनुसार रकम सहयोग गर्ने गरेको युवाहरुले बताए । युवाहरुले जिल्लास्थित भार्गव विकास बैँक शाखा भुरिगाउँमा अभियानको बैँक खाता संचालन गरेका छन् । सोही बैँक मार्फत रकम संकलन भइरहको अभियानका सह संयोजक युवराज केसीले बताए । ‘देश विदेशमा रहेका साथीहरुले सामाजिक संञ्जालमार्फत सहयोग गर्ने इच्छा व्यक्त गर्छन र अनी हामीहरुले बैँकको खाता उपलब्ध गराउँछै । यसरीनै रकम संकलन भइरहेको छ’, सहसंयोजक केसीले भने । जसरी जे भएपनि बाढीपिडितलाई सहयोग गर्ने मनसायका साथ अभियानमा लागेको र सहयोग पनि आइरहेकाले युवाहरुको हौसला बढेको अभियानमा संलग्न युवा नारायण गौतमले बताए । बाढीपिडितका नाममा संकलन भएको रकम कुनै पनि हालतमा दुरुपयोग नहुने युवाहरुले प्रतिवद्धता जनाएका छन् । बैँक प्रणालीबाट काम गरिरहेका छौ । कुनै पनि हालतमा यसको दुरुपयोग हुने छैन, अभियानका संयोजक गोपाल निरौलाले प्रतिवद्धता जनाए ।
युवाहरुको यो अभियानलाई सबैले प्रशंसा गर्ने गरेका छन् । ‘ यतीखेर बाढीपिडितको बिजोग छ । युवाहरुले पिडितको घाउँमा मल्हम लगाउने अभियान थालेका छन् राम्रो काम हो । हामी सबैको सहयोग हुनेछ, ’स्थानिय समाजसेवी तथा युवा नेता खगेन्द्र खनालले भने ।

 

प्रतिक्रिया दिनुहोस्