वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

ह्यारी आएपछि बर्दिया निकुञ्जमा पर्यटकको वृद्धि: १ वर्षमा १७ हजार

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन १४, २०७४ ।    

 

ठाकुरबाबा, बर्दिया।
पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्ज घुम्नका लागि वाह्य सँगै आन्तरिक पर्यटक पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४मा बर्दिया राष्ट्रिय निकुञ्जमा १७ हजार ९ सय ५९ पर्यटक भित्रिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो । संरक्षण अधिकृत थापाका अनुसार एक वर्षको अवधीमा सबैभन्दा बढी आन्तरिक पर्यटकले नै निकुञ्ज अवलोकन भ्रमण गरेका छन् ।
आर्थिक वर्ष २०७३/०७४को अवधीमा ११ हजार ६ सय ९ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेको बताइैएको छ । यसैगरी एक वर्षको अवधीमा ५ हजार ८ सय २७ विदेशी पर्यटक बर्दिया निकुञ्जमा भित्रिएका छन् । भने सार्क मुलुकका ५ सय २३ पर्यटकले निकुञ्ज अवलोकन भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ ।


निकुञ्जमा पर्यटक बढे सँगै राजश्वमा पनि बृद्धि भएको निकुञ्जले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा निकुञ्ज भित्रिएका पर्यटकबाट ३ करोड १६ लाख ९७ हजार २ सय ६३ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार पछिल्ला वर्षहरुका बर्दिया निकुञ्जमा बाघ, गैँडा, हात्ती लगाएतका वन्यजन्तुको संख्या बढ्दै गएपछि पर्यटकहरु पनि आर्कषित भएका हुन । नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाई छ । निकुञ्ज घुम्ने उपयुक्त समय सेप्टेम्बरदेखि अप्रिल महिना सम्म हो ।


पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडा लगाएत अन्य जनावरको संख्यामा बृद्धि भएको खबर चर्चामा आएपछि निकुञ्ज घुम्न आउनेको संख्या बढ्दै गएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । हाल बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ६२ पुगेको छ ।
पछिल्लो पटक वेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता विदेशमा पनि बर्दिया निकुञ्जले विशेष चर्चा पाएको संरक्षणकर्मीहरुको भनाई छ । निकुञ्जमा स्वदेशी तथा विदेशीहरुका हात्ती सफारी, जंगल सफारी, जंगल वाक, र्याफटिङ्गलगाएको सुविधा रहेको छ ।
बर्दिया निकुञ्ज तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो । हात्ती सफारी, जंगल सफारी, कर्णाली नदिमा र्याफटिङ्ग, बबई नदीका गोही र निकुञ्जको प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षित गर्ने गरेको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: