वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

पोहोर पनी आउँछु भन्दा भन्दै आउन पाईएन…

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः शनिबार, कार्तिक १३, २०७३     ::: 817 पटक पढिएको   |  
– सौगात श्रेष्ठ
हेर्दा हेर्दै यो वर्षको तिहार पनी घर आगन मै आई पुगेछ । गाउँघरमा आँगन भरी सयपत्री र मखमली फुलि रहेको होला, केटाकेटीहरु नयाँ नयाँ कपडामा रमाई रहेका होलान । उता घरदेशमा आँगन भरी सयपत्रीहरु फुल्दा यो प्रदेशीको मन भने ओईलाइ रहेको छ । उता चारै तिर झिलीमिली दिपहरु बलि रहँदा, यो मन औंशीको रात जस्तै अँधेरीएको छ । उता गाउँमा युवाहरु देउसी भैली खेल्ने तयारी गरि रहेका होलान तर म भने यता ड्युटिमा जाने तयारी गरि रहेको छु । यस्तै छ प्रदेशीको जिवन । प्रदेशीलाई के को चाड तिहार…..
वर्षौं अघि बन्धकीको पाखोबारी उकास्ने र काजी साहुको ऋण चुक्ता गर्ने सपनाहरुलाई अघि लगाउँदै, यो विरानो शहरमा पाईला टेक्नका लागी झिमिसेमै गाउँ छोडेको त्यो समय सम्झिरहेको छु । जिन्दगीमा सँधै आफुले सोंचेको जस्तो मात्रै पनी नहुँदो रहेछ । अझ यो प्रदेशी जिवन त दुःखै दुःखले घेरिएको हुँदो रहेछ । उजाड बगर जस्तै हुँदो रहेछ । भागेर जाउँ त कहाँ जाउँ ? नजाउँ त यादहरुले औधि सताउँछन ।
घर परिवार, साथी संगी, वनपाखा त्यो उकाली ओराली अनी भन्ज्याङ चौतारीहरु, बाल्यकाल विताएका गाउँबस्तीको मायाँ लागेर आउँछ । यो विरानो शहरमा म एक्लिएको छु । आफ्नै सपनाहरु बाट, आफ्नै रहरहरुबाट । यो मन भन्ने चिज पनी बडो अचम्मको हुँदो रहेछ । कहिले के खोज्छ, कहिले के ? अरुबेला त जसोतसो सम्हालिन्छ यो मन, तर चाडबाडको बेला भने कसै गरे पनी बुझ्दै बुझ्दैन । औधी पिरोली रहन्छ गाउँघरको सम्झनाले । खुनखुनाई रहन्छ मन, दशैंमा नयाँ लुगा किनिदिन भनेर केटाकेटी खुनखुनाए जस्तै । प्रदेशी जिवन सँधै आफुले सोंचे जस्तो त कहाँ हुन्छ र ? खैर छाडौं यी सबै कुरा …
म त कस्तो काल्पनिक मान्छे जस्तो संधै कल्पनापुरमा गएर चाडबाड मनाउनु पर्ने । दिदी, गाउँघरमा त तिहारको रमझम बढ्दै होला । टोल छिमेक अनी रनबन सबै तिहारको माहोलले तातेको होला है ? हजुरलाई याद छ दिदी ? ६ वर्ष पहिलेको तिहारको कुरा हो । म जिद्दी गर्दै लामो समय सम्म पिङमा झुण्डीए पछी हजुरले मलाई फकाउँदै मिठाई दिएर पिङ आफै खेल्नु भएको । अनी म नमाने पछी हजुरले आफ्नो धोको पुरा नगरिकनै मलाई फेरी खेल्न छोडीदिनु भएको थियो नी । त्यो घमण्डी बानीले मलार्ई आज सम्म अर्कै महसुस गराई रहन्छ ।
मलाई हिजो जस्तै लाग्छ दिदी । हजुरहरुको पछी पछी लागेर भैली खेल्दै हिँडेको, मलाई मन पर्ने मिठाईहरु किनेर दिनुहुन्थ्यो तपाईं म फुरुङ्ग परि रहन्थें । भाईलाई मन पर्छ भन्दै आफुलाई कसैले केहि दिए पनी नखाएर मेरै लागी ल्याईदिनु हुन्थ्यो । म दुःखी भएर बसेको बेला के के के के भनेर जिस्काएर मलाई हसाईं रहनु हुन्थ्यो । जब देखी म स्कुल जान थालें मेरो साथी पनी तपाईं नै हुनुभयो । स्कुलमा कसैले मलाई केही गरे तपाईंले उनीहरुलाई गाली गर्नु हुन्थ्यो । मलाई अझै पनी याद छ दिदी ।
बालापनहरु कती रमाईलो थियो । म बारम्बार सम्झि रहन्छु पहिलेको तिहारहरु, जब हजुरले मखमलीको माला लगाई दिनु हुन्थ्यो, म बिझायो भन्दै छिनमै निकालेर राखिदिन्थें । तपाईं फूल बदाम, ओखर हरुको घोल शिरबाट खनाउनु हुन्थ्यो म त्यसैमा ओखर बदाम खोज्न थाल्थें । कती चकचके थिएँ है दिदी म । तर वर्षों भएछ ति क्षढाहरु वितेर गएको ।
दिदी… तपाईंको हातको सप्तरंगी टिका र मखमली माला लगाउन नपाएको पनी ४ वर्ष हुन्छ यो तिहारमा । यो अर्काको देशमा के दशै, के तिहार ?  पोहोर पनी आउँछु भन्दा भन्दै आउन पाईएन, यो वर्ष त जसरी पनी आफ्नै बस्तिमा फर्किन्छु भनेको थिएँ तर यो पटक पनी ति चाहनाहरु अधुरा अपुरा नै रहे । यहाँ आउन मात्रै सजिलो रहेछ, फर्कन भने औधी गाह्रो ।
आजभोली त आफ्नै जिन्दगी पनी जिन्दगी जस्तो छैन । मेरो भाग्य भनौं की, बाध्यता, नचाहँदा नचाहँदै पनी प्रदेशिनु पर्‍यो ।
कती मन रोएको होला है तपाईंको ? सबैको भाई घर फर्किंदा अनी आफ्नो भाई भने प्रदेशमा हुँदा आँगन छेउको मखमली र सयपत्रीले कती मन पिरोल्दोहो तपाईंको । यसपाली पनी यस्तै भो दिदी, अर्को वर्ष भने आउनेछु, दशैं तिहार संगै मनाउन । के गर्नु दिदी यो विदेशमा आउन जती सजिलो छ त्यती सजिलो भने छैन फर्किनको लागी ।
धेरै पटक भएछ यो साल आउँछु अर्को साल आउँछु भनेको पनी । तर के गर्ने दिदी यहाँ विदेशमा न समय आफ्नो हुन्छ न निर्णय ।  मान्छेको इच्छा र भावना संग मतलब हुँदैन रहेछ ।
भनिन्छ नी दुःख पछि सुख आउँछ । अनी दुःख भएपछी मात्र सुखको अनुभुती हुन्छ । दिदी प्रतीक्षाको फल मिठो हुन्छ भन्छन । म यो अघोषित जेल जीवनको करार अवधी सकेर आउनेछु । अनी आफ्नो समय, आफ्नो गाउ“घर, आफ्नै परिवेशमा तिहार संगै मनाउ“ला । यो वर्षको तिहार पनी यस्तै भयो । अर्को सालको तिहार निकै खुशी साथ मनाउँला है दिदी । यसपालीको तिहार जसातसो रमाएरै मनाउनु होला । टोलका सबै जना मिलेर देउसी भैलो खेल्नुहोला । अनी तिहार मनाई सके पछी तिहार कस्तो भयो सुनाउनु होला है दिदी ।
तिहारको दिप जस्तै अन्धकार चिर्दै बलि रहनु होला । दिदी भाईको आत्मिय सम्बन्ध सदा जिवीत रहोस ।
बुवा–आमा, तपाईंहरु अनी गाउँघरको सम्झनाले औधी सताउँछ । हुन त दिनहुँ हजुरहरु संग Skype, Viber  मा कुराकानी र Facebook मा Chat नभएको त होईन तर पनी यो मनले कहाँ मान्छ र दिदी ?
भन्न मन लागेका कुराहरु त धेरै थिए तर समय भने औधी कम छ । भोली विहान सबेरै ड्युटिमा जानु पर्छ, जति लेखे पनी सकिंदैनन मनका बेदनाहरु रात पनी ढल्कीन लागेछ त्यसैले यो पत्रलाई अधुरै गरी छोडिदिएँ । बुवा–आमालाई ढोग संगै सम्झना सुनाईदिनु होला । जसोतसो बिताउनुहोला यसपालीको तिहार, अर्को पटक भने संगै मनाउँला ।
शुभपल ।
तस्विर हेरी आफ्नो पन, गराउनु होला ।
कठोर मुटु कठोर झन, गराउनु होला ।
आउन पाईन यसपाली नी, खाली हुन्छ निधार,
जसो तसो  खुशी मन, गराउनु होला ।।
***
News &Views
प्रतिक्रिया दिनुहोस्: