वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

स्थानिय तह निवार्चन पछिका विकासका सम्भावना र चुनौतीहरु

        रेशम थापा   |   प्रकाशित मितिः बुधबार, असार २८, २०७४     ::: 683 पटक पढिएको   |  

बिस बर्षपछि भएको स्थानिय निकायको निर्वाचनले हरेक जनतामा विकास, सम्वृद्धि र राजनितिक स्थायित्वको आशा पलाएको छ । जनताले उत्साहापुर्ण,कर्तव्य बोधसहित र सचेतताका साथ निवार्चनमा भाग लिए ।
आजसम्म रोकिएको विकास र सम्वृदिको बाटोलाई पुन अगाडि बढाउनु, जनतामा मरेको विश्वास र भरोसालाई जगाउनु प्रमुख दायित्व अबका प्रतिनिधिको हो । देश परनिर्भरतामा मात्र आधारित नभई आर्थिक, राजनितिक तथा सांस्कृतिक औपनिवेशिकताको बाटो भएर गुज्रिरहेको छ । यसको प्रत्यक्ष होस वा अप्रत्यक्ष प्रभाव हरेक समाज र समुदायमा टड्कारो रुपमा देखापरेको छ ।
लामो समयदेखि अस्थिर भएको राजनिति र कर्मचारितन्त्रको गलत प्रवृतिले जनतामा निरासा छाउनु अन्यथा होईन । सरकारी, प्रशासनिक निकाय होस वा अड्ढा अदालत होस जनताको सहज र निर्भिक रुपमा सेवामा पहुँच भएन । कर्मचारितन्त्रको राजनितिकरण र व्यक्तिवादि स्वार्थले गर्दा सोझा साझा जनताले जहिले पनि सास्ति बेहोर्नु पर्यो । विभिन्न नाममा किनारिकृत जनताले सेवा पाउने निकायबाट सेवा भन्दा बढि उपेक्षा, अपमान र दुख ब्यहोर्नु पर्यो । हुनेखाने र हुँदाखाने जनताको बिचमा विभेदको ठुलो पर्खाल खडा भयो । हुँदाखाने जनताले छाक टार्न मजदुरीसम्म सहज रुपमा गर्न पाएनन । मजदुरी गरेर खाने जनताले जहिले पनि राज्यबाट उपेक्षा पाईरहे । चाहे राजनितिक कारण होस वा आर्थिक कारण होस । समाजमा सामाजिक सदभाव खलबलाउने काम भयो ।
स्थानिय निकायले कनिका छरे जसरी छरेको विकासे बजेटले समाजको विकास भन्दा पनि उपभोक्ता समितिका नाईकेहरुको विकास गर्यो । विस बर्षसम्म पनि संचार, स्वास्थ्य, खानेपानीको त कुरै छोडौँ विधुत र बाटो नपुगेका कयौँ बस्ति छन । त्यहाँ हरेक बर्ष स्थानिय निकायबाट बजेट पनि विनियोजित नभएका होइनन तर विकास कार्यमा लगानी मात्र नभएको हो अर्थात् लगानीकै लागि मात्र लगानी गरेजस्तो गरियो, विकासका लागि होईन । कयौँ उपभोक्ता समितिका मान्छेले विकासका लागि विनियोजन गरेको रकमले दँशै र तिहार मनाएको तितो यथार्थता हामी माझ ताजै छ । अब यस्ता तिता यथार्थता दोहोरिने छैनन् । विकासका एजेण्डा तयार गरि प्रत्यक्ष जनताले महसुस गर्ने गरि विकास निर्माण कार्यको तत्काल पहल गरिनुपर्छ नवनिर्वाचित जनप्रतिनिधिहरुबाट ।
विकास र सम्वृद्धि:
अहिले हरेक जनताले चाहेको नै प्रत्यक्ष अनुभुति गर्न पाउँने गरि गरिने विकास हो । सामान्यतया विकास वर्तमान अवस्थाबाट क्रमिक रुपमा उन्नती, बृदि, विस्तार र सकारात्मक परिवर्तनको प्रक्रियालाई बुझिन्छ । समाजशास्त्रीय दृष्टिकोण, राजनितिशास्त्रीय दृष्टिकोण, अर्थशास्त्रीय दृष्टिकोणबाट पनि विकासलाई परिभाषित गर्न सकिन्छ । भौतिक क्षेत्र, राजनैतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्र आदिको सकारात्मक परिवर्तन सहितको अनुभुति नै विकास हो ।

क) भौतिक क्षेत्रको विकास:
सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य, नहर, संचार, विधुत, यातायात, बजारिकरण आदिको अभावले हाम्रो समाज पछाडि परेको छ । भएका संरचना पनि दश बर्षे जनयुदले क्षतविक्षत भए । राजनितीक अस्थिरता, आर्थिक स्रोतको अभाव, राजनैतिक इमान्दारिता र कर्मचारिको विकास प्रतिको उदासिनता,भ्रष्टाचारले हाम्रो समाजमा विकासले गति लिन सकेन । अब हरेक निर्वाचित प्रतिनिधिले भौतिक संरचनाको विकासलाई नितिगत कानुन बनाई पहिलो प्राथमिकताका साथ कार्यान्वयन गर्न जरुरी छ । उसो त केहि भौतिक संरचनाको निमार्ण र विकास नभएको होईन तर भएका विकास निमार्ण को संरक्षण र प्रयोगको अभावले जिर्ण बन्दै गएका छन भने कति लापरबाहीका कारण उचित रुपमा प्रयोग हुन नसकि खालि छन । भएका विकास संरचनाको संरक्षण,कार्यान्वयन,प्रयोग गर्ने र नभएका सरंचनाको विकास गर्न सकिन्छ । शिक्षामा गरिव,दलित,जनजाति,अल्पसंख्यक जातजातिलाई निशुल्क मात्र गरेर हुदैन उनिहरुलाई विधालय सम्म आउने बातावरण को सृजना,सम्मानजनक व्यवहार र सहज पहुँचको ब्यवस्था गर्ने ,स्वास्थ्य तथा प्रशाासनका क्षेत्रमा हरेक जनताको निर्भिक पँहुचको व्यवस्था गर्ने । जनताबाट सरकारि निकाय प्रति हराएकोे विश्वास लाई पुनं जगाई सेवा लाई छिटो,छरितो,सहज र भरपर्दो बनाउनु पर्दछ । भएका सडकको उचित ब्यवस्थापन गर्ने,सडक नभएका बस्तिमा सुरक्षित सडकको निमाण गर्र्ने,हरेक नगरवासिको यातायातमा सहज पहुँच निमार्ण गर्न सकिन्छ ।

ख) आर्थिक क्षेत्रको विकास
रोजगारको अभाव,कृषि जन्य उत्पादनको कमि,उधोग,कलकारखानाको अभाव ,उत्पादनमुलक,सेवा मुलक,कार्य को अभावले गर्दा प्रति व्यक्ति आयदर एक दमै न्युन छ । अधिकांस बैदेशिक रोजगारको रेमिट्यान्सले धानेको छ हाम्रो समाजलाई । भर पर्दो तर असुरक्षित रोजगारको आधार विदेशबाट भित्रियको रेमिट्यान्स उत्पादनका क्षेत्रमा सदुपयोग नभई विलासिताका बस्तु ,भौतिक निर्माण र मोजमस्तिमा नै बढि प्रयोग भएको छ । जसले गर्दा अपेक्षित रुपमा आर्थिक बृदिदर कायम हुन सकेको छैन । यसर्थ आर्थिक क्षेत्रको विकासका लागि प्रथम त रेमिट्यान्स को सदुपयोगका लागि कानुन बनाई नितिगत रुपमा उत्पादनका क्षेत्रमा लगाउनु पर्दछ । रोजगारिका क्षेत्रको पहिचान,रोजगारिका क्षेत्र सृजना गरि रोजगारको दर बृदि गर्नु पर्दछ । कृषि क्षेत्रको आधुनिकिकरणका लागि कृषि क्षेत्रमा तालिमको व्यवस्था,आधुनिक कृषि औजारहरुको व्यवस्था,मल,उन्नतजात को विउ विजन,सिचाईका लागि नहर,मोटर पम्प,को व्यवस्था,कृषि विमाको व्यवस्था,कृषि अनुदान तथा सुलभ ऋणको ब्यवस्था,बजारिकरणको ब्यबस्था गर्न सकिन्छ । पर्यटन क्षेत्र,होटल व्यवसाय,को भरपर्दो र सुरक्षित विकास र सम्भावना को बृदि गर्नु पर्दछ । हामिकहाँ थुप्रै सम्भावना छन,कृषि,पर्यटन,जलस्रोत,जडिवुटि लगायत सेवाका क्षेत्रमा लगानि गरि रोजगारी बृदि गर्नुका साथै आर्थिक बृदि गर्न सकिन्छ ।

ग) राजनैतिक क्षेत्रको विकास
राजनैतिक क्षेत्रको विकास जनता राजनितिक रुपमा सचेत,जागरुक र सक्षम हुनु जनता सार्वभौमसत्तासम्पन्न हुनु,देशमा योग्य गतिशिल,सक्षम,एवं क्षमतावान नेतृत्व हुनु,नागरिक स्वतन्त्रता,मानव अधिकारसहित जनतामा भौतिक उपलब्धताको सहजता हुनु हो भन्ने बुझिन्छ । जनताको व्यक्तित्व विकास,चेतनाको विकास,सोचको विकास,नेतृत्वको विकास,अग्राधिकार र आत्मनिर्णयको क्षमताको विकास नै राजनीतिक विकास हो । पछिल्लो समयमा जनताको राजनितिमा सम्मान जनक सहभागिता र उपस्थितिलाई यसको बलियो उदाहरणका रुपमा लिन सकिन्छ । अझैँ पनि अधिकासं जनतामा राजनिति प्रति उदासिन,राजनिति प्रति अविश्वास,असक्षमता र कमजोर निर्णय क्षमता कायम नै छ । विशेष गरि दलित,जनजाति,महिला,अल्पसंख्यक जातजाति,पिछडा वर्ग आदिमा राजनैतिक चेतनाको विकास भएको पाईदैन ।जव सम्म हरेक जनतामा राजनितिक रुपमा सार्वभौमसत्तासम्पन्न,सचेत ,चेतनशिल, ,सक्षम,एवं क्षमतावान नेतृत्व हुदैन समाजको विकास को गति बढ्दैन यसर्थ सवाल्ट्रन जनतामा राजनैतिक चेतनाको विकास गराउनु पर्दछ । र राजनैतिक संस्कारको विकास पनि महत्वपुर्ण कुरा हो ।

घ) सामाजिक क्षेत्रको विकास
सामाजिक सदभाव,सामाजिक सौहार्दता,सास्कृतिक अस्तीत्व को संरक्षण सवै जात जाति,बर्गको अस्तित्व को सम्मान जस्ता कार्य को विकास नै सामाजिक क्षेत्रको विकास हो । अहिले हाम्रो समाज यस्तो भएको छ कि एक राजनितिक दलको समर्थक अर्को राजनितिक दलमा आस्था राख्ने मानिस सँग पानि बाराबार गर्छ,बोलि बाराबार गर्छ । मर्दा मलामि नजाने ,जन्ती नजाने दुख सुखमा सहभागि नहुने,जसरि हुन्छ नियोजित तरिकाले फसाउने जस्ता घृणित कार्य गरि सामाजिक सदभाव मेटाउने काम भएको छ । सामाजिक सदभाव कायम गर्नु,हरेक जातजातिको अस्तित्वको रक्षा,भाषा,संस्कृति,रहनसहन,को संरक्षण गर्नु जातिय विभेदको अन्त गर्नु हरेक मानिसमा सकारात्मक सोचको विकास,सम्मान पुर्वक व्यबहारको विकास गरि सामाजिक क्षेत्रको विकास गर्न सकिन्छ । सामाजिक क्षेत्रको विकास नै महत्वपुर्ण विकास हो ।

चुनौतिहरु:
१.कर्मचारीतन्त्र
लगातार विस बर्षसम्म राज गरेका, अनैतिक दादागिरि गरेका र आफु अनुकुल प्रशासन चलाएका, प्रशासनिक निकायलाई राजनितिक अखडा बनाई बसेका कर्मचारीबाट असहयोग हुने खतरा सबै भन्दा प्रबल छ । कर्मचारिका टे«ड युनियन सरकार भन्दा बलिया छन,हरेक कुरा र कार्यमा कर्मचारि र टे«ड युनियनको बोलबाला छ । हाकिमलाई नै नटेर्ने कर्मचारिको प्रवृति, बढ्दो भ्रष्टाचार, राजनैतिक रुपमा पुर्वाग्रहि भई राम्रा कामलाई असफल गराउन लागिपर्ने जस्ता अफ्ठारा कार्य लाई चिर्दै,सहज रुपमा हरेक कर्मचारिमा सकारात्मक कार्यगत एकता कायम गरि कार्य गर्न अहिलेका निर्वाचित प्रतिनिधिलाई चुनौतिपुर्ण कार्य हुन सक्छ ।

२.राजनैतिक हस्तक्षेप
नेपालमा सवैभन्दा फष्टाएको भनेको नै हरेक कार्यमा राजनैतिक हस्तक्षेप नै हो । आफु अनुकुल वा आफु र आफनो हित नहुने देखियमा जुनसुकै कार्यमा पनि राजनैतिक दल बाट हस्तक्षेप,असहयोग,विरोध जस्ता कार्य हुने गर्दछन । राम्रा तथा विकास कार्यमा असहयोग गर्ने,काम गर्न नसके विरोधमात्र गर्ने,हरेक काममा हस्तक्षेप गर्न खोज्ने प्रवृति ले निर्वाचित प्रतिनिधिलाई समस्या हुन सक्छ । राजनैतिक दलको विरोध वा समर्थन लाई उत्ति महत्व नदिई वा सतहमा राखि विकास कार्य र प्रशासनिक कार्यमा मात्र ध्यान दिन सकिने अवस्था नहुन सक्छ यसर्थ राजनैतिक हस्तक्षेप पनि अर्को चुनौति हुन सक्छ । राजनैतिक हस्तक्षेपलाई व्यवस्थित गरि कार्य गर्न चुनौतिपुर्ण छ ।

३.फरक फरक विचारको नेतृत्व
निर्वाचनबाट निर्वाचित भएर गएका फरक फरक दलका प्रतिनिधिको फरक फरक विचार,दर्शन र बुझाई हुन्छ । हरेक कुरामा उनिहरुले सहयोग मात्र गर्छन वा समर्थन गर्छन भन्ने सोच्नु गलत हो । उनिहरुमा दलगत प्रभाव,दलगत स्वार्थ र दलगत पुर्वाग्रहका कारणले प्रमुख प्रतिनिधिलाई असहयोग गर्ने,निर्णय पास नगरिदिने,वा अल्झाउने जस्ता कार्य हुन सक्छन ।प्रमुख ले विभिन्न दल बाट प्रतिनिधित्व गरि आएका सदस्यको मनोदशा र विचार बुझि उनिहरुलाई आफु अनुकुल वा सहि कार्यमा उनिहरुलाई पनि सहभागि गराउनु महत्वपुर्ण कार्य हो । जो चुनौति पुर्ण छ ।

४.नव निमार्णको रोडम्याप
अधिकासं वन,जंगल र खोलानालले ओगटेको हाम्रो क्षेत्रमा धेरै ठाँउमा मानव बस्ति निकै पातलो र सानो छ । केहि स्थानमा मात्र बाक्लो बस्ति रहेको छ ।जंगल र खोलानालाले गर्दा बनेका अव्यवस्थित बस्तिहरु धेरै जसो अविकसित छन । शिक्षा,स्वास्थ्य,खानेपानि,सडक,संचारको अभाव व्याप्त रहेको छ , जसकारण जनताहरु मा चेतनाको कमि छ । यसले गर्दा जनतामा अविश्वास व्याप्त छ ।यो अविश्वासलाई विश्वासमा परिवर्तन गरि हामिसंग उपलब्ध स्रोत साधनलाई एउटै एजेण्डामा राखेर सरकारि निकाय,गैर सरकारि निकाय,दातृ निकाय,उपभोक्ता सबै मिलि बृहत्तर योजना बनाउने र योजना पुरा गर्न कामको उचित बाँडफाँड गरि नव निमार्णको काम सम्पन्न गर्न सक्दछौँ । यस्ता स्थान र क्षेत्रहरुमा विकास र सम्वृदिका लागि,परिवर्तनशिल समाजको निमार्णका लागि नव निमार्णको रोडम्याप बनाई लागु गर्न जरुरि छ ।जो चुनौतिपुर्ण कार्य हो ।

अन्तमा:
विकासका लागि सवै भन्दा पहिला ईच्छाशक्ति र तत्परताको जरुरि छ । कहिले काहि काम गर्दा निति र कानुन पनि बाधा बन्न सक्छ ,यस्तो बेलामा प्रतिनिधिले खतरा मोल्न सक्नु पर्छ ।आवश्यक परे निति नै संशोधन गरि विकास कार्यलाई अगाडि बढाउने साहस गर्न सक्नु पर्छ ।कामगर्दा विभिन्न चुनौति र बाधा नआउने होईनन ति चुनौतिलाई सहज रुपमा लिई अघि बढ्न सक्नुपर्छ । यहाँ गर्न नसकिने केहि छैन मात्र राजनैतिक इमान्दारिता र विकास दृष्टिकोण को आवश्यकता हो ।
हाम्रा नेताहरुमा एउटा रोग छ यिनीहरु खतरा मोल्न डराउँछन न त्याग गर्न सक्छन । विकासका कुरा त गर्छन् तर दलगत स्वार्थ, व्यक्तिगत स्वार्थ र कपट भन्दा माथि उठ्न सक्दैनन् । एउटा सोचनिय बिषय के हो भने समाजले नेता बनाउँछ कि नेताले समाज बनाउँछ ? यो बहसको बिषय हो । अधिकास हाम्रो समाज मा न समाजले नेता बनायो न नेताले समाज बनायो । विकासको दृष्टिकोण नभएका,मानसिक संकृणता भएका,सामाजको सौन्दर्यको बोध नभएका,सामाजिक विविधता,जातिगत विविधता,भाषिक विविधताको महत्व र ज्ञान को अभाव भएका वा भनौ चेतनाको संकृणता,समाज सौन्दर्यको अज्ञानता,बहुल जाति,भाषा तथा साँस्कृतीक प्रयावरणको अज्ञानताको कमिले पनि व्यक्तिमा नेता हुने गुण देखियन ।बास्तबमा समाजको विकास गर्ने दृष्टिकोणले थोरै नेता भए सामन्ती र अनुदारबादि सोच भएका व्यक्तिको सासन बाट समाज जहिले पनि सासित भयो । समाजका असमानताहरु,समाजमा विधमान विभेदमा कमि आयन । बरु निषेध,तिरस्कार र घृणाको राजनिति मात्र फस्टायो । अब का हरेक लिडरले व्यक्तिगत स्वार्थ,दलगत स्वार्थ निषेध,तिरस्कार र घृणाको राजनितिलाई अन्त्य गरि विश्वास,अपनत्व,सहभागिताको राजनिति गर्न जरुरि छ । जव समाजमा विश्वास,अपनत्व,सहभागिता कायम हुन्छ विकास र सम्भावनाका बाटाहरु आफै खुल्छन । समाज परिवर्तनको दिशातिर उन्मुख हुन्छ र विकास को बाटोमा अग्रगामी छलाङ मार्छ ।

प्रतिक्रिया दिनुहोस्