वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बेवारिसे भेटिएकी बालिकाले पाईन् अभिभावक !

        यादब आचार्य   |   प्रकाशित मितिः शनिबार, असार २४, २०७४     ::: 1713 पटक पढिएको   |  

गुलरिया,बर्दिया ।
बर्दियाको बाह्रबर्दिया नगरपालिकामा जेठ २१ गते राति बेवारिसे भेटिएकी बालिकाले अभिभावक पाएकी छिन् । जिल्ला बालकल्याण समितिको पहलमा एक निसन्तान दम्पतिलाई बालिका संरक्षणका लागि दिइएको छ ।
जिल्ला बालकल्याण समिति बर्दियाको बैठकले कपिलवस्तु जिल्लाको भगवानपुर ७ स्थायी घर भई जिल्ला विद्युत प्राधिकरण गुलरिया बितरण केन्द्रमा कार्यरत कर्मचारी बिरेन्द्र कुमार पाण्डेको दम्पतिलाई बालिका संरक्षणका लागि दिने निर्णय गरेको थियो ।
पाण्डे दम्पतिले बालिकाको जिल्ला अस्पताल बर्दियामै छैठी मनाएका थिए । उनीहरुले बालिकाको नाम चण्डीका पाण्डे राखेका छन् । ०५४ सालमा बिवाह बन्धनमा बाँधिएका पाण्डे दम्पती निसन्तान थिए । पाण्डे दम्पति छोरी चण्डीकालाई पाएपछि हर्षित बनेका छन् । बालिका पाएपछि ३५ बर्षीया गिता पाण्डले भन्नुभयो, ‘हाम्रो सन्तान थिएन, बालिका पाएर धेरै खुशी लागेको छ । छोरीको ईच्छा अनुसार पढाएर ठूलो मान्छे वनाउँछु ।’
गीताका ४३ बर्षीय श्रीमान बिरेन्द्र पनि उत्तिकै खुशी देखिनुहुन्छ । उहाँले भन्नुभयो, डाक्टरले श्रीमतीको पाठेघरको नली जाम भएकाले बच्चा नहुने भनेपछि हामी साह्रै दुःखी थियौ, अब बालिका पाएपछि निकै खुसी छौं ।
बच्चा नभएको र बच्चा हुने सम्भावना नभएको नेपाली नागरिकलाई बिभिन्न मापदण्डका आधारमा बच्चा संरक्षणको जिम्मेवारी दिने जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार पाण्डे दम्पतिलाई बच्चा दिईएको महिला विकास अधिकृत गीरा कुमारी बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालिकालाई समिति मार्फत २ वर्ष सम्म बिशेष अनुगमन गर्छौ, त्यसपछि पनि अनुगमन भइरहन्छ ।’
आयश्रोत लगायत मापदण्ड अनुसार पाण्डे दम्पतीले बालिका पाएको उहाँले स्पष्ट पार्नुभयो । हामीले यो समाचार अन्नपूर्णपोस्टबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: