वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

जनप्रतिनिधी हो ! अब युवाहरुलाई स्वदेश फर्काउने काम गर

        प्रभात सुवदी   |   प्रकाशित मितिः बुधबार, असार २१, २०७४     ::: 768 पटक पढिएको   |  


स्थानीय निर्वाचनमा मतदान गर्ने मतदाताहरुको लाइन हेर्दा नै प्रष्ट हुन्थ्यो कि हाम्रो समाज पुरुषविहिन बन्दै गइरहेको छ । तस्वीरले पनि बोलिरहेको छ कि यो लाइनमा महिलाहरुको संख्या चालीस जनाको हाराहारीमा देख्न सकिन्छ भने पुरुषको संख्या जम्मा तीन जना मात्रै । ल हेर्नुस् ! अब यसलाई के भन्ने कसरी विश्लेषण गर्ने हाम्रो समाजको अवस्था कहाली लाग्दो छ कि छैन ? यो खालको परिस्थिती किन जन्मिएको हो कसले जन्माएको हो ? यो परिस्थिति जन्माउनका लागि को दोषी हो ? अब यसको सहि तरीकाले विश्लेषण गरेर उचित समाधान खोज्ने बेला आएको छ ।

अब निर्वाचित हुने स्थानीय निकायका प्रतिनिधिहरुले यसका बारेमा गम्भीर भएर सोच्नु जरुरी छ । यो स्थानीय निकायका प्रतिनिधिहरुका लागि गम्भिर चुनौतीको विषय पनि हो ।

ह्या ! नेपालमा केही कामै छैन । रोजगारी नै पाइदैन । आफ्ना मान्छे नै ठाउँमा छैनन् । सोर्स फोर्स लगाउन सकिँदैन । राम्रो जागीर पाउन सोर्स फोर्स र पैसाको चलखेल गर्नु पर्छ । त्यो क्षमता हामीमा छैन । अनि जागीर खानलाई अनुभव खोज्छन् । त्यो अनुभव हामीमा छैन । अनुभव हासिल गर्नु पनि कसरी कसैले कामै दिँदैनन् । यस्ता अनुभूतिहरु आजभोलिका युवायुवतीहरुमा उर्लेका छन् । त्यसैले पनि मास्टर्स पास गरेका प्रमाणपत्रहरु लिएर शिक्षित वेरोजगार बनेर बसिरहेका छन् युवाहरु । त्यसैले त सामान्य कम्पनीको जागीरमा दरखास्त आह्वान गर्दा हज्जारौं वेरोजगार युवायुवतीहरुको भीड लाग्ने गर्दछ ।

नेपालबाट लाखौं युवाहरु विदेशिएको अवस्था छ । आजभोलि गाउँ समाजमा हेर्ने हो भने बालबालिका अनि जेष्ठ नागरिकहरु र जागिरे कर्मचारी तथा विद्यार्थीहरुको मात्रै जमात मात्र देख्न सकिन्छ । युवाहरु कमाउनकै लागि परदेशिएका छन् । तर आजभोलि महिलाहरु पनि विेदेश जाने परम्परा बढ्दो छ । खासगरी घरेलु कामदार तथा शिशु स्याहार लगायतका कामहरुका लागि पछिल्लो समयमा महिलाहरुको विदेशिने संख्या पनि उल्लेख्य रुपमा वृद्धि भैरहेको छ । यति मात्रै हैन कोही महिलाहरुले सरोगेसीको कामका लागि पनि विदेशिएका छन् भन्ने कुरा बेलाबेलामा चर्चामा नआएको पनि होइन ।

यसका विविध पक्षहरु हुन सक्दछन् । जसका बारेमा विभिन्न कोणहरुबाट विश्लेषण गर्न सकिएला तर यो कुराप्रति यो पंक्तिकार जान चाहेन । कुरो के हो भने यसरी विदेशिने क्रम जारी नै रहने र सक्षम युवायुवतीहरु विदेशिदै जाने र उतैतिर ग्रीन कार्ड लिएर बस्ने यता जेष्ठ आमाबाबा मात्रै अनि स–साना बालबालिकाहरु रहने हो भने के अवस्था होला हाम्रो समाजको ? यो विचारणीय प्रश्न हो ।

घरका अभिभावकहरु विदेशिदा यहाँ भने सन्तानले सहि गन्तव्य समात्न सकेको अवस्था छैन । बालबालिकाहरुलाई पैसा भन्दा पनि असल अभिभावकत्वको आवश्यकता हुन्छ । अभिभावकत्वको अभावमा हाम्रो समाजमा बालबालिकाहरु दिनानुदिन छट्पटिइरहेका छन् । वैदेशिक रोजगारी न हो, केही भर हुँदैन । मेशिनहरुसँग खेल्दा कतिखेर के हुने हो भन्ने कुराको पनि कुनै शुनिश्चितता नै हुँदैन । उस्तै परे ज्यान जाने सम्भावना पनि हुन्छ । कति हाम्रा समाजका दाजुभाइ दिदीबहिनीहरुले विदेशमा नै ज्यान गुमाएका समाचारहरु आउने गरेका र आइरहेका छन् । यति मात्रै हैन तपाईं हाम्रा आँखाले पनि यस्ता घटनाहरु देख्नु र भोग्नु परेको यथार्थ हाम्रै सामु छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन्दर भविष्यको सपना बोकेर उडेका हाम्रा आफन्तहरु चुपचाप काठको बाकसमा फर्किएका छन् । यसैसँग सारा सपनाहरु तोडिन्छन् अनि पारिवारीक ढुङ्गा समुद्रको बीचमा असन्तुलनको अवस्थामा हुन्छ । लाखौं रुपैंया ऋण खोजेर विदेश गएको अवस्थामा त्यो ऋण तिर्ने उपाय नै हुँदैन । अनि त्यसपछि परिवारको विचल्ली र गाउँ समाज आफन्तले दिने सहारा र हेर्ने दृष्टिकोण के हुने ?

त्यसैले त भनिन्छ, ‘विदेश गएर लाखौं करोडौं कमाउनु मात्रै ठूलो कुरा हैन, आफ्नो घर परिवारका सदस्यसँगै बसेर खान पाउनु ठूलो कुरा हो ।’ कोही युवाहरु वैदेशिक रोजगारबाट ठगिएर वा राम्रै कमाइ गरेतापन िघरपरिवारको महत्व बुझेर स्वदेशमा नै फर्केर विभिन्न प्रकारका आय आर्जन तथा सिपमूलक व्यवसायमा लागेको पाइन्छ । यो अत्यन्तै सकारात्मक पक्ष हो । त्यसैले के गर्न सकिन्छ भने विदेशमा गएर दुःख पाएका र स्वदेशमा आएर सफल उद्यमी बनेर केही गरेका युवा युवतीहरुलाई आफ्ना अनुभूतिहरु वैदेशिक रोजगारमा जान लालायित युवायुवतीहरुलाई बाँड्न सकिएमा पक्कै पनि वैदेशिक रोजगारको मोहलाई निरुत्साह गर्न सकिने थियो ।

आजको हाम्रो समाजको सोच नै यस्तै बनेको छ । केही दिन अघि आफ्नै एक चेलीसँग पढाई र त्यसपछिको योजनाका बारेमा सामाजिक सञ्जालमा कुरा गरिरहँदा उनी भन्दै थिइन्, ‘सर म फरेन स्टडिज्को लागि सोच बनाएकी छु’, मेरो मन ढक्क फुलेर आयो अनि मैले उनलाई बिस्तारै सम्झाएँ । यसरी सबैजना विदेश नै जाने भए नेपालमा बस्ने चैं को त ? केही सिक्नका लगि देश विदेशको भ्रमण त गर्नु त पर्छ तर त्यहाँ सिकेको ज्ञान सिप र क्षमतालाई स्वदेशमा नै प्रयोग गर्न सकेको खण्डमा भने त्यो महानता हो । यसरी केही कुराहरु गरेर संझाएपछि भने सकारात्मक सोच बनाइन् उनले ।

नेपालमा केही छैन भन्नेहरुका लागि सम्भावनाहरु धेरै छन् । अहिले युवा स्वरोजगारका नाममा विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरेर सरकारले केही लगानी गरिदिएर युवाहरुलाई रोजगारतर्फ उत्पे्रेरित गरिरहेको छ । यसको प्रभावकारितामा वृद्धि गरी यसमा छुट्याइएका कोटाहरुमा वृद्धि गरेर समान सहभागिताको सुनिश्चितता गरिएमा धेरै युवाहरु यस प्रकारका सरकारी कार्यक्रमहरुबाट लाभान्वित हुने देखिन्छ । जुन स्थानीय सरकारको प्राथमिकताको विषय हो ।

घरमा केही सानोतिनो काम गर्न समेत अल्छि र लाज मान्ने हामी विदेशमा गएर यहाँ निच मानिने कामहरु गर्न समेत पछाडि पर्दैनौं । यसको कारण के हो भने विदेशमा कामलाई ठूलो र सानो भनेर हेर्ने चलन छैन । काम र पेशाप्रति सम्मान गर्ने परिपाटी छ जसका कारण मानिसहरु कामसँग प्रेम गर्छन् । सेवा सुविधाहरु पनि त्यही किसिमबाट दिइन्छ ।

वैदेशिक रोजगारीमा जानु नै छ भने सिप सिकेर आफूले आफ्नो कामप्रति दक्षता हासिल गरेर मात्रै जानु उपयुक्त हुन्छ । वैदेशिक रोजगार सिमित अवधिका लागि मात्रै हुनु पर्दछ । त्यहाँको प्रविधि सिकेर स्वेदेशमा सम्भावनाहरु खोज्नु महानता हो । यसैलाई नै अन्तिम सत्यका रुपमा स्थापित गर्न खोजियो भने पारिवारीक असन्तुलन हुन सक्दछ । मैले यो कुराको उठान किन पनि गरेको हुँ भने वैदेशिक रोजगारीका कारण समाजमा विभिन्न सामाजिक समस्याहरु उब्जिएका छन् । यस्ता समस्याहरुका बारेमा यहाँ उल्लेख गर्न सान्दर्भिक नभएतापनि कति वैदेशिक रोजगारीमै रहँदा यहाँ पारिवारीक संरचना नै भत्केका समाचारहरु आइरहेको अवस्था पनि छन् । ती समस्याहरुले जति कमाएतापनि जीवनभर पोलिरहन्छन् । अभिभावकहरु विदेशमा कमाउन जाने यता सन्तानहरु गलत बाटो अनुसरण गर्दै लागु पदार्थ सेवन गर्ने र यसकै धन्दामा लागेको पाइएको पनि छ । त्यसपछि न त उनीहरु नै सहि बन्न सक्छन् नत समाजलाई नै केही दिन सक्छन् । गाउँ समाज र विद्यालयमा पनि उनीहरुप्रति नकारात्मक सोच बन्छ । यति मात्रै हैन यस्तै कामहरु गरेको आरोपमा प्रहरीले पक्राउ गरेर लागु पदार्थ ओसारपसार सम्बन्धि मुद्दा दायर गरेर कार्वाही अगाडि बढाइरहेका उदाहरण पनि प्रसस्तै छन् हाम्रो समाजमा ।

त्यसैले आम अभिभावकहरुले पनि एकपटक अवश्य सोच्नै पर्दछ कि म विदेशमा छु आफ्ना सन्तानहरुको गतिविधि के छ भनेर बुझ्नु जरुरी हुन्छ । नभए आफू चाहिँ तातो वालुवाको मरुभूमिमा दिनरात नभनी मिहिनेत गरेर रगत पसिनासँग पैसा साट्ने यता सन्तानहरु गलत बाटो समात्ने अनि के हुन्छ हालत ? अनि के रहन्छ मरी मरी कमाई गरेको अर्थ ?

स्थानीय निर्वाचनका दौरानमा जे देखियो यसैले मनमा उब्जाएका प्रश्नहरु हुन् । र, विषय गम्भीर पनि छ त्यसैले पनि यो विषयलाई स–प्रमाण उठाउन मन लागेको पनि हो । यदि अबका दिनमा निर्वाचित जनप्रतिनिधीहरुले साच्चिकै समृद्ध समाज निर्माण गर्ने ध्येय राखेका छन् भने सबैभन्दा पहिला वैदेशिक रोजगारीमा रहेका युवायुवती तथा अन्य सक्षम नागरिकहरुलाई स्वदेश फर्काउन पहल गर्नु पर्दछ । यहिँ नै रोजगारका अनेकन सम्भावनाहरु सिर्जना गर्नु पर्दछ । गुणस्तरीय र व्यावहारिक शिक्षाको व्यवस्था गरेर अबका पिंढीलाई सक्षम नागरिक बनाउने योजना ल्याउनु पर्दछ । आज त्यहि शिक्षाले यहाँसम्म आउने जनप्रतिनिधीहरुलाई म के भन्न चाहन्छु भने अब स्थानीय सत्ता तपाईंहरुको हातमा छ । निर्णय तथा कार्यान्वयनको अधिकार पनि तपाईंमा नै छ । त्यसैले तपाईहरुले भन्दै आउनुभएको यो बुर्जुवा शिक्षालाई कसरी रुपान्तरण गर्नुहुन्छ त्यो तपाईंहरुमा नै निर्भर छ । तर शिक्षा यस्तो होस् जुन पूरापूर व्यवहारिक होस् । जसका माध्यमबाट बालबालिकाहरुमा अनुशासन, प्रेम, न्याय, सम्मान, शालीनता जस्ता मानवीय मूल्यहरु स्थापित गर्न सकोस् ।

जनतको अपेक्षा धेरै छ, अक्षरहरु पन्नाहरुमा रगड्न सजिलो छ । घोषणापत्रहरु छापेर बाँड्न सजिलो छ । बोल्न पनि सजिलो छ । आश्वासनहरु बाँड्न पनि सजिलो छ । एक आपसमा आरोप प्रत्यारोप गर्न पनि सजिलो छ । भोट माग्न पनि सजिलो छ । भोट पाउन पनि सजिलो छ । तर आँफ्नै पनि अगाडि ऐना राखेर आफ्नै अनुहार एकपटक हेर्ने चेष्टा गर्दा राम्रै हुन्छ । आँफैलाई देखिन्छ अनि आँफैलाई बुझिन्छ । एकोहोरो आरोप प्रत्यारोपमा अल्झिएर समय वर्वाद गर्नु भन्दा भोलिको दिनमा पनि आजको नेतृत्व र जनताको विश्वास कायम राख्नका लगि कार्ययोजना बनाएर अगाडि बढ्नु आजको आवश्यकता हो ।

त्यसैले समृद्ध समाजको निर्माणका लगि पहिलो चुनौती भनेको विदेशमा भएका सक्षम युवाहरु फर्काउनु हो । नभए अहिलेकै संरचनामा यो समाजमा केही हुने देखिन्न भन्ने कुरा तस्वीरले प्रमाणित गरिसकेको छ । त्यसैले जनप्रतिनिधी हो ! युवाहरु फर्काउ ।

प्रतिक्रिया दिनुहोस्