वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बालश्रम विरुद्धको दिवस: बालश्रम र यसको निवारण

        उदय कुमार मल्लिक   |   प्रकाशित मितिः शुक्रबार, असार २, २०७४     ::: 382 पटक पढिएको   |  

पृष्ठभूमि
आजको यस उत्तर आधुनिक काल (Post Modernism) एवं विकासको चरम सिमामा पुगेको यस संसारमा अझै पनि ठूलो संख्यामा बालबालिकाहरुको मानसिक, शारीरिक र आर्थिक शोषण भइरहेको अवस्था छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपाल विकासशील राष्ट्र भएकोले यहाँ पनि अझै धेरे बालश्रम लिई शोषण भइरहेको छ । कुनै पनि देशको नागरिकको जीवन र स्वतन्त्रताको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हुनछ । यसै सन्दर्भमा बालबालिका बालश्रमको रक्षा गर्नु, पालन पोषण रेखदेख, शिक्षादिक्षा लगायतको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्दछ । राज्यले त्यस किसिमका बालबालिका सम्बन्धि ऐन २०४८ बालबालिका सम्बन्धि नियमावली २०५१, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ कमैया श्रम (निषेध) ऐन, २०५८, बाल न्याय कार्यविधि नियमावली २०६३ एवं नेपालको संविधान २०७२ भाग ३ को धारा ३९ मा उल्लेख भए अनुसार
१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुनेछ ।
२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांग्रीण व्यक्तित्व विकासको हक हुनेछ ।
३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।
४) कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।
५) कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन ।
६) कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको पोषण गर्न वा अनुचित प्रयोग गन पाइने छैन ।
७) कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन ।
८) प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुनेछ ।
९. असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।
१०) उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानून बमोजिम दण्डनिय हुनेछ र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

 नेपालको संविधान २०७२ ले बालबालिकाहरुलाई आधारभूत शिक्षा निशुल्क तथा अनिवार्य र मा.वि.शिक्षा निशुल्क गरेको छ ।

नेपालको संविधान २०७२ माथि जे जस्तो भनिए तापनि यी कुराहरु उल्लेख हुँदाहुँदै पनि ती बालबालिकाहरुका हकाधिर प्राप्तिको लागि अझै संघर्षरत रहेका छन् । आधुनिक लोक अझै संघर्षरत रहेका छन् । आधुनिक लोक कल्याणकारी जसलाई नेपालको संविधान २०७२ समेतले आत्मसात गरेको छ । यसको प्रमुख उद्देश्य मध्ये बालबालिकाको हकाधिकारका साथै संरक्षणको प्रत्याभूति र सुनिश्चितता गरी बालबालिकाको अभिभावक भई संरक्षण गरी बहुमूल्य जीवनयापन गर्ने गरी संरक्षण गर्ने राज्यको निर्देशक सिद्धान्तभित्र समेटिएको छ । बालबालिकाको हकाधिकारको सुनिश्चितता गर्न समाजमा कानून व्यवस्था र संरक्षण प्रभावकारी कार्यान्वयन हुनु पर्दछ । जहाँ कानुनको व्यवस्था र संरक्षण प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकी बालबालिका विभिन्न प्रकारको शोषणमा परिरहेका हुन्छन् । त्यहाँ अराजकता उत्पन्न हुन पुग्दछ । कानुनी शासनको ठाउँमा मत्स्य न्याय हावी हुन पुग्दछ । बालबालिकाको अधिकारको सुनिश्चितताको लागि T.Hobbes ले राज्यलाई शक्तिशाली हुनु पर्दछ भन्ने मत जाहेर गरे भने कानून विद् Austin ले कानून संप्रभुता वा राज्यको आदेश भनी कानुनमा निहित अपराधिक व्यक्तिलाई दण्डको भयले गर्दा कानुनको पालना हुँदा अमन चयन कायम रहने अभिमत व्यक्त गरेका छन् । राज्य बलियो हुँदा मात्र वैयक्तिक स्वतन्त्रताको रक्षा हुन्छ भने बालबालिकाको अभिभावकको रुपमा राज्य अगाडि आई कानुनद्वारा प्रदान गरिएका सम्पूर्ण हकाधिकारको संरक्षण प्रदान गर्नु पर्दछ । बहुल र लोकतान्त्रिक एवं जनमुखी सरकारले मात्र सबै बालबालिकाको अधिकार र न्यायको सुनिश्चितता गर्दै उचित एवं सुरक्षित व्यवस्था गर्नु पर्ने राज्यको प्रमुख दायित्व हुन आउँछ ।

बालश्रम:
सामान्य भाषामा बालश्रम भन्नाले बालबालिकाद्वारा गराइएको कामलाई बुझिन्छ । तर यो बालश्रमको संकुचित परिभाषा हुन जान्छ । यसलाई बृहत रुपमा व्याख्या गर्दा बालश्रम दुई वटा शब्दहरुले बन्दछ, त्यो हो बाल र श्रम । बालश्रमको व्याख्या गर्नुभन्दा पहिले बाल र श्रम छुट्टा छुट्टै परिभाषित गर्नुपर्दछ । बाल र श्रमको परिभाषामा नै धेरै विवाद छन् । सर्वप्रथम बाल भनेको बालबालिकालाई जनाउँदछ । बालबालिकाको परिभाषा र उमेर विभिन्न देशहरुमा भिन्दा भिन्दै पाइन्छ । कहि ५ वर्षदेखि १४ सम्मको लाई, कहि ५ वर्षदेखि १६ वर्षसम्म, कहि ५ वर्षदेखि १७ वर्ष सम्मको लाई, कहि ५ वर्षदेखि १८ सम्मको लाई, कहि १४ वर्ष मुनिका लाई, कहि १८ वर्ष मुनिलाई आदि उमेरका बालबालिकालाई बाल भनिन्छ भने कहिले बालबालिकाबाट गरिने सम्पूर्ण कार्यलाई श्रम अन्तर्गत राखिन्छ कहि केहि वर्गको कामलाई मात्र श्रम भनिन्छ । यसरी बालश्रमलाई परिभाषित गर्नु अत्यन्त अप्ठयारो छ ।

कुनै समूहमा “बालश्रम भन्नाले बालबालिकालाई कुनै किसिमको काममा लगाउनु हो जसले बालबालिकालाई बाल्यवस्था, दैनिक विद्यालय जानबाट वञ्चित गराउँदछ जसले गर्दा तिनीहरुमाथि मानसिक, शारीरिक, सामाजिक, मौखिक, खतरा उत्पन्न हुन्छ । यस्तो कुराहरुले बालबालिका शोषण भएको बुझिन्छ । यहाँ बालबालिकाको श्रम, बालबालिकाको हितको लागि दिइएको तालिम अन्य कार्य र केही निश्चित किसिमका कार्य जस्तै एमिस बालबालिका गर्ने कार्य र रेडक्रमस सर्कल र अन्य केहीलाई बालश्रम मानिदैन ।

According to ILO (International Labour Organization) the child labour is defined as “It is the work that children should not be doing because they are too young to work, or- if they are old enough to work-because it is dangerous or otherwise unsuitable for them. Not all works done by children should classified as child labour that is to be targeted for elimination, children’s or adolescents participation in work that does not affect their health and personal development or interfere with their education is generally regarded as being something positive, whether or not particular forms of “work” can be called “Child labour”, depends on the child’s age, the type and hours of work performed and the conditions under which it is performed”.

नेपालमा कानुनले भन्छ “बालबालिका भनेको त्यो मान्छे हो जसले १६ वर्ष पुरा गरेको छैन । नेपालमा बालश्रमको रुपमा काम गर्नका लागि बालबालिकाहरु कम्तिमा १४ वर्षको हुनुपर्दछ, ६ घण्टा भन्दा बढी काम गर्न नपाइने, काम गर्दा साँझको ६ बजेदेखि विहानको ६ बजेसम्म गर्न नपाइने ६ घण्टामा ३ घण्टा पछि ३० मिनेटको मध्यान्तर हुनैपर्ने र काम गर्नलाई कसैले पनि दबाव दिन नपाउने ।”

बालश्रमका कारणहरु
१) प्राथमिक कारणहरु : अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को अनुसार गरिबी बालश्रमको सबभन्दा ठूलो कारण हो । थोरै भएता पनि बालिकाले गरेको कामबाट आएको आम्दानी ती परिवारहरुमा एउटा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

ILO ले भन्द, काम बाहेक अरु कुनै अर्थपूर्ण बिकल्पहरु जस्तै प्राथमिक स्तरमा विद्यालय नहुनु, गुणातत्क शिक्षा दिन नसक्नु, र महँगो पढाई हुनुको कारणले गर्दा पनि बालबालिकाहरु बालश्रम तिर जान बाध्य हुन्छन् । बालबालिकाले काम गर्दछन् किनकि उनीहरुलाई अरु केही गर्ने काम नै छैन । प्रायः दुर्गम क्षेत्रमा (नेपालमा विशेष गरी हिमाली र पहाडी क्षेत्रमा) रहेका बालबालिकाहरुलाई धेरै काम गर्नु परेको छ किनभने त्यहाँ विद्यालयको सुविधा छैन, भए पनि धेरै टाढा हुने, पुग्न गाह्रो हुने, खर्च बहन गर्न नसकिने र गुणात्मक शिक्षा नहुने ।

२) सांस्कृतिक कारणहरु : धर्म, संस्कृति र परम्पारको कारणले गर्दा पनि धेरे बालबालिकाहरुलाई धेरै नै काम गर्नु परिरहेको छ । आफ्नो धर्म संस्कृति र परम्परा अुनसार काम गर्नु पर्ने मान्यता राखी प्राय धेरै जसो व्यवसायी पुर्खाले गर्दै आएको व्यवसायलाई नै अपनाउँदछन् जहाँ सानैबाट नै बालबालिकाले आफ्नो आमा बुबाको व्यवसायलाई सघाउँछन् । धेरैको यो मान्यता हुन्छ कि आमा बुबाले जुन काम गर्दछन् छोरा छोरीले पनि त्यही गर्नुपर्छ, यसैलाई मध्यनजर गर्दै सानैबाट त्यो व्यवसायको बारेमा सिकाइन्छ र काम गराइन्छ । नेपाल एउटा कृषि प्रधान देश भएकाले ८१ प्रतिशत भन्दा बढी जनताहरु कृषि सेवामा भएकोले धेरै बालश्रम कृषि क्षेत्रमै लागेका छन् । आजको यो आधुनिक युगमा अझै पनि छोरीहरुलाई परिवारमा कम मूल्याङ्कन गरिन्छ र तिनीहरुलाई अझै विद्यालयबाट वञ्चित गराइन्छ । सधै घरेलु काममा प्रयोग गराइन्छ । अभिभावकहरुले नै सबभन्दा बढी बालश्रम तिर धकेल्दछन् ।

३) आर्थिक कारणहरु : विश्वमै बालश्रम प्रौढहरुको तुलनामा धेरै सस्तो, काम गराउन धेरै सजिलो, जस्तो पनि कामका लागि तयार गराउन सकिने, बन्द हडतालको सम्भावना कम हुने जस्ता कारणले गर्दा धेरै माग छ र त्यसलाई त्यसै बमोजिम आपूर्ति पनि गरिन्छ । चिया बेच्ने, पानी बेच्ने, गुटका बेच्ने, पान बेच्ने आदि सजिलो र कम पूजी मै गर्न सकिने हुँदा बालबालिकाहरुले आफै पनि यी व्यवसायहरु गरेको पाइन्छ ।
४) बाल विवाहको कारण : बाल विवाहले गर्दा पनि बालबालिकाहरुलाई छिट्टै काम गर्न बाध्य गराउँछ ।
५) युद्धको कारण : युद्धमा धेरै मारिने कारणले गर्दा बालबालिका अनाथ हुन्छन् जसले सिधै तिनीहरुलाई बालश्रम तिर धकेल्दछन् । नेपाल पनि यसबाट अछुतो छैन । नेपालमा दश वर्षे जनयुद्धमा आधारित तथ्याङ्क अनुसार ५०० बालबालिकाहरुले ज्यान गुमाए, हजारौ प्रभावित भए, कैयौँले अभिभावक गुमाए । यसले बाल बालिकाहरुलाई बालश्रम तिर धकेलेको छ ।
६. जबरजस्ती : अपराधीहरुले बालबालिकाहरुलाई अपहरण गरी तिनीहरुलाई जबस्जस्ती काम गराउनुको साथै भिख मगाउँदछन् । यि घटनाहरु ठूला ठूला शहरहरुमा देख्न पाइन्छ ।

बालश्रमका रुप (बालबालिकाले काम गरिने ठाउँहरु)
कृषि, सेवा, विक्री वितरण, कार्पेट, फ्याक्ट्री, कोइला खानी, क्रेसर, नदि जन्य पदार्थ ओसार प्रसार, घर, रोड निर्माण, बस चालकलाई सहयोगी, बस कण्डक्टर, रेस्टोरेन्ट (भाडा धुने), लाखौ मध्यम वर्गीय र धनाढ्य परिवार (नोकरको रुपमा), विभिन्न फैक्ट्री, इटा भट्टा, सडकमा भिख माग्ने, युद्धको बेला दास बनाएको, कमैयाको रुपमा, यौन व्यवसाय, ढ्रग टे«फिकिङ्गमा संलग्न हुने ठाउँ, सांगठनिक भिख मगाउने ठाउँ, पत्रपत्रिका बाँड्ने, प्राविधिक कार्य आदि ।

यी ठाउँहरुका काम गर्ने बालबालिकाहरु ९ वर्षदेखि ११ वर्षसम्मका छन् जसमा केहीले खान र बस्न मात्र पाउँछन् भने धेरैले केही पनि पाउँदैनन् ।

नेपाल अधिराज्य विश्वमा निकै उच्च बालश्रम दर मध्ये एक हो । एक सर्वेक्षण अनुसार सन् १९९८/९९ मा नेपालमा ५ वर्षदेखि १४ वर्ष उमेर समूहका ४९ लाख बालबालिकाहरु मध्ये २० लाख (करिब ४१ प्रतिशत) बालबालिकाहरु विविधखाले श्रममा संलग्न रहने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन ९क्ष्ीइ० बाट प्रायोजित अर्को एक सर्वेक्षण अनुसार करीब २६ लाख बालबालिकाहरु श्रममा संलग्न रहेको देखिन आएको छ । ती मध्ये ९४.७ प्रतिशत कृषि क्षेत्रमा, १.५६ प्रतिशत सेवा क्षेत्रमा, १.५६ प्रतिशत निर्माण तथा यातायात क्षेत्रमा, ०.८४ प्रतिशत साधारण प्राविधिक कार्यहरुमा, ०.७८ प्रतिशत औद्योगिक क्षेत्रमा र ०.४२ प्रतिशत बिक्री वितरणको क्षेत्रमा सक्रिय रहेको पाइएको छ । सोही सर्वेक्षणले के पनि देखाएको थियो भने करीब १० लाख बालबालिकाहरु स्कूल गइरहेका थिएनन् र एउटा ठूलो जमात न त स्कुलमा थियो । न त काममा नै संलग्न रहेको थियो । श्रम क्षेत्रमा बाल बालिकाहरु मध्ये करिब ५५.३९ प्रतिशत बालिकाहरु मात्र थिए ।

नेपालमा बालश्रमको तथ्यहरु
१. नेपालमा १० वर्षदेखि १४ वर्षसम्मको बालबालिकाको श्रमको कारण नेपालको आर्थिक क्रियाकलापमा ४२.०७ प्रतिशतले प्रत्यक्ष असर पार्दछ ।
२. नेपाल विश्वको छैठौं बालश्रम लिने देश हो ।
३. लगभग ३० लाख बालबालिकाहरु बालश्रममा प्रत्यक्ष संलग्न छन् ।
४. कुल बालश्रमको लगभग ६० प्रतिशत बालिकाहरु मात्र छन् ।
५. देशको ५० प्रतिशत भन्दा बढी बालबालिकाहरु कम्तिमा प्राथमिक विद्यालय पनि जादैनन् ।
६. लगभग ५ हजार बालबालिकाहरु बाटोमा काम गर्छन र बाटोमै सुत्छन् ।
७. लगभग कूल बालबालिकाको ५० प्रतिशतले काम गर्छन् ।
८. केटीहरुले केटा भन्दा बढी काम गर्नु परेको छ ।
९. प्रति वर्ष १० हजार केटीहरु बेचबिखन (ट्राफिक्ड) हुन्छन् ।
१०. नेपालमा कुल यौनकर्मीको २० प्रतिशत यौनकर्मीहरु १६ वर्ष मुनिका छन् ।
११. सबै भन्दा बढी बालश्रम पहाडी भेगमा हुन्छ ।
१२. ३० हजार भन्दा बढी १६ सय वटा ढु¨ा सम्बन्धि काम गर्न कारखानामा लगिन्छ ।
१३. लगभग १० लाख बालबालिकाले बालश्रम वापतको भुक्तानी पाउने गरेका छैनन् ।

नेपालमा बालबालिका सम्बन्धी ऐन र नियमावली
१) बालबालिका सम्बन्धी ऐन २०४८
२) श्रम ऐन, २०४८ र श्रम नियमावली २०४९
३) बालश्रम (निषेष र नियमित गर्ने) ऐन २०५६
४) कमैया श्रम (निषेध) ऐन २०५८
५) संयुक्त राष्ट्र संघमा गरेको सम्झौता पत्र

माथिका ऐन र नियमावलीहरु कागजमा मात्र सिमित छन् । कहिल्यै पनि कडाइका साथ प्रस्तुत भएनन । नेपालमा लाखौँ बालबालिकाहरु प्राथमिक विद्यालय पनि नगई आफ्नो अभिभावकहरुको व्यवसायलाई दिन रात सघाउँदछन र सघाउन लगाइन्छ । तर संयुक्त राज्य अमेरिकामा अभिभावकले आफ्नो बालबालिकालाई ५ वर्ष पछि विद्यालय पठाउँदैन भने सजाय स्वरुप जेल सम्म जान सक्छन् ।

बालश्रम निवारण
बालश्रमका महत्वपूर्ण कारणहरु एवं हुने ठाउँहरुमा हामीले पहिचान गरिसकेका छौ । अब यसको निवारणका लागि त्यही कारक तत्वहरुलाई हामीले हटाउनु पर्दछ ।

प्राथमिक कारणहरु साँस्कृतिक कारणहरु, आर्थिक कारणहरु, बालविवाह, युद्ध र जबरजस्ती जस्तै सबै कारणहरु हटाउन गरिबी निवारणका प्रभावकारी कार्यक्रम, बालबालिकालाई विद्यालय पठाउन सचेतना कार्यक्रम (अभिभावक एवं बालबालिका दुवैलाई) आधुनिक शिक्षाको प्रचार प्रसार कार्यक्रम, अपराध न्यूनीकरण गर्न सख्त नियम कानुन, सुक्ष्म एवं बृहत आर्थिक नितिका कार्यक्रम, बालविवाह सम्बन्धि अझै प्रभावकारी नियम कानून र युद्ध जस्तो अप्रिय घटना ल्याउन नदिनलाई ऐन, नियम कानून बन्नु पर्दछ । बालश्रम निवारणका लागि ऐन नियम कानुन, नदिनलाई ऐन, नियम कानून बन्नु पर्दछ । बालश्रम निवारणका लागि ऐन नियम कानुन, निकाय नबनेका होइनन् तर तिनी मुख दर्शक मात्र रहेका पनि भन्न सकिन्छ । निवारणका लागि जिल्ला श्रम कार्यालय, महिला तथा बालबालिकाको कार्यालय, बालश्रम निवारण समिति, बालश्रम निवारण कोष, जिल्ला बाल कल्याण समिति, केही एनजिओ, आइनजिओ, बुद्धिजिवी समाजसेवीहरु लाग्नु भएको छ तर त्यो अपर्याप्त देखिन्छ । निवारणका लागि बालश्रम विरुद्धको दिवस पारेर केही दिन पहिले एफएमहरुमा सूचना दिएर र २, ३ दिन पहिले छापा मारेर मात्र बालश्रमको निवारण हुने हुँदैन । यसका लागि नयाँ सर्वेक्षण (अहिले कैयौँ वर्षदेखि बालश्रम सम्बन्धि कुनै सर्वेक्षण नै भएको छैन) गरेर वर्ष भरी नै लाग्नु पर्दछ, ऐन, नियम कानुनलाई प्रभावकारी तरिकाले पालना गराउनु पर्दछ ।

भनिन्छ “बालबालिकाहरु देशका कर्णधार हुन्” र ‘स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ ।’ बालश्रमले गर्दा बालबालिकाको शरीरमा प्रतिकूल असर पर्दछ । त्यसको प्रभावले गर्दा दिमाग राम्ररी विकास हुन पाउँदैन । जब कर्णधारहरुको स्वास्थ्य दिमाग सोचाईमा विकास आउँदैन तबसम्म हामीले कसरी नयाँ, समृद्ध र आर्दश नेपालको कल्पना गर्न सक्छौ ? त्यसैले बालश्रमको निवारण अपरिहार्य छ ।

बालश्रम निवारणमा लागेका निकायहरु (जिल्ला स्तरमा)
१) जिल्ला श्रम कार्यालय
२) जिल्ला महिला तथा बालबालिकाको कार्यालय
३) बालश्रम निवारण समिति
४) बालश्रम निवारण कोष
५) जिल्ला बाल कल्याण समिति
६) एनजिओ र आइनजिओहरु
७) स्थानीय समाजसेवीहरु, बुद्धिजीविहरु
८) अन्य

निष्कर्ष:
मुलुकमा विद्यमान सामाजिक, आर्थिक र राजनैतिक परिस्थितिले गर्दा बालश्रमको समस्या कठिन र जटिल देखा पर्छ । नेपालमा जनसंख्याको ९० प्रतिशत भाग ग्रामीण क्षेत्रमा रहेको त्यसको पनि अधिकांश भाग कृषि क्षेत्रमा संलग्न गरेको (लगभग ८१ प्रतिशत) वयस्क साक्षरता दर कम रहेको (लगभग ५० प्रतिशत), वैकल्पिक, आर्थिक अवसरहरुको अभाव रहेको र सामाजिक तथा आर्थिक सुरक्षाका प्रावधानहरु अपर्याप्त रहेको सन्दर्भमा बालश्रम निवारण गर्ने कार्य आफैमा ठूलो चुनौतीको रुपमा देखा परेको छ । त्यसमा पनि गरिब परिवारका बालबालिकाहरुले काम गर्नुपर्छ भन्ने कुरालई सामाजिक अनुमोदन प्राप्त छ । “गरिबहरुको सम्पत्ति भनेको तिनका सन्तानहरु हुन्” भन्ने भनाई पनि छ । तर नेपाली समाजका सीमान्त गरिब परिवारमा बालश्रम भनेको नियती हो, विकल्पहिनताको स्थिति हो । बालश्रमको निवारण सबैका लागि अपरिहार्य छ । यसका लागि ऐन, नियम, कानून र सम्बन्धित निकायहरुले मात्र गर्नुपर्छ भन्ने कुरा आफैमा बेइमानी हुन आउँछ । हामी सबैले आ–आफ्नो ठाउँबाट कोशिश गर्ने भने हामी अवश्य नै सफल हुने छौँ ।

(प्रस्तुत आँकडाहरुमा १ प्रतिशत देखि २ प्रतिशत सम्मको फरकको सम्भावनालाई नकार्न सकिदैन ।)

-प्रस्तुतकर्ता बालश्रम विरुद्धमा जिज्ञासु खोजकर्ता हुन् । 

प्रतिक्रिया दिनुहोस्: