वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियाको राजापुर सहित हुलाकी राजमार्गको आसपासमा १० सहर निर्माण हुँदै

        बअ सम्बाददाता   |   प्रकाशित मितिः सोमवार, जेष्ठ २९, २०७४     ::: 688 पटक पढिएको   |  

काठमाडौं ।
हुलाकी राजमार्गको आसपास १० वटा नयाँ सहर निर्माण हुने भएका छन्। व्यवस्थित बसोबासलाई सुनिश्चित गरी एकतर्फी बसाईसराई रोक्न भन्दै सरकारले हुलाकी राजमार्ग छेउमा दश नयाँ सहर निर्माणको प्रक्रिया अगाडि बढाएको छ । सहर निर्माणको योजनालाई गएको वैशाख २४ मा सहरी विकास मन्त्रालयले स्वीकृत गरेसँगै सहर बन्ने स्थान निश्चित भएको नयाँ सहर आयोजनाका प्रमुख पराग कायस्थले जानकारी दिनुभयो।

आयोजनाले हुलाकी राजमार्गमा बन्ने दश वटा नयाँ सहरको लागि सम्भाव्यता अध्ययन गरी स्थान सिफारिस गरेको थियो । मन्त्रिपरिषदले उक्त अध्ययनलाई स्वीकृत गरेसँगै अब एकीकृत विकास कार्यक्रम निर्माण गरी विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढाइने कायस्थले बताउनु भयो ।

पूर्व–पश्चिम राजमार्गको समानान्तर करिब २० देखि ३० किमी दक्षिण तर्फ फैलिएको तराई–मधेसका जिल्लाहरु जोड्ने पहुँच मार्गको रुपमा हुलाकी राजमार्ग रहेको छ। पूर्वमा झापा जिल्लाको सदरमुकाम भद्रपुरबाट सुरु भई पश्चिममा कन्चनपुर जिल्लाको भारतीय सिमासम्म फैलिई तराईका २० वटै जिल्लाहरुलाई जोडेको राजमार्गले आसपासका १० नयाँ नगरपालिकाहरुलाई आधुनिक शहरको रुपमा विकास गरिने भएको हो ।

त्यसका लागि एकीकृत सहरी विकास योजना तयार पारी सहरी पूर्वाधार तथा विकास योजना आगामी आवमा छनौट गरिने मन्त्रालयले निर्णय गरिसकेको छ। जमिनको उपलब्धता, जनसंख्या, जनघनत्व, मोडल जक्सन, आर्थिक विकासको संभावना, गैरकृषि कार्यमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाई सराई, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचका आधारमा नयाँ सहरको स्थान छनौट गरिएको मन्त्रालयले जानकारी दिएको छ।

हुलाकी राजमार्गले तराईका मुख्य मुख्य बजार नगरहरु जोड्ने हुँदा यो तराईको जीवन रेखाको रुपमा रहेकोले वस्तीहरुलाई व्यवस्थित गराउँदै जाने उद्देश्यसहित करिब ३ किमी दायाँबायाँ नयाँ सहर निर्माण गरिने आयोजना प्रमुख कायस्थले जानकारी दिनुभयो।।

कहाँ कहाँ बन्दैछन् नयाँ सहर ?
१. झापाको गौरीगंज
२. मोरङको रंगेली
३. बाराको महागढीमाई
४. सर्लाहीको ईश्वरपुर
५. सप्तरीको सम्भुनाथ
६. महोत्तरीको वलवा र सरपल्लो
७. बर्दियाको राजापुर
८. नवलपरासीको बर्दघाट
९. कंचनपुरको बेलौरी
१०. कैलालीको भजनी त्रिशक्ति

कस्तो हुन्छ सहरी संरचना ?
नयाँ निर्माण हुने सहरमा सडक, पार्क, बसपार्कसहित कम्तिमा पनि १ लाख जनसंख्याको चापलाई धान्न सक्ने संरचना हुनेछन् । त्यस्तै प्रत्येक सहरमा त्यहाँको स्थानीय मौलिकता अनुसार घरको मापदण्ड, अन्य भौतिक निर्माणको शैली निर्धारण गरिने र त्यो एकीकृत विकास योजनाले तय गर्ने आयोजना प्रमुख कायस्थले जानकारी दिनुभयो।।

प्रतिक्रिया दिनुहोस्