वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

स्थानिय चुनाव: प्रदेश नं. ६ सुर्खेतको विरेन्द्रनगर बजार सुनसान, मतदाताहरु सबै गाउँ फर्के

        भावुक योगी   |   प्रकाशित मितिः शनिबार, बैशाख ३०, २०७४     ::: 1025 पटक पढिएको   |  

बिरेन्द्रनगर,सुर्खेत ।
झण्डै २० वर्षपछी वैशाख ३१ गते भोली आईतवार हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको सदरमुकाम साविक मध्यपश्चिमको क्षेत्रिय सदरमुकाम हाल प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको बिरेन्द्रनगर सुर्खेत बजार विहानैदेखि सुनसान छ ।
सुर्खेतको ग्रामिण क्षेत्र र दैलेख, जाजरकोट लगायतका पहाडी जिल्लाबाट आएर व्यवसाय संचालन गरीरहेका अधिकाँशहरु भोलीको चुनावमा मत हाल्न व्यवसाय बन्द गरेर गाउँ तर्फ गएपछी बजार सुनसान भएको हो । ठुलो पर्व दशैँ तिहारमा झैँ स्थानिय चुनाव पनि एक पर्वकै रुपमा मानेर बजारवासीहरु सबै गाउँ गएपछी सुनसान भएको स्थानियको भनाई छ ।

चुनावको सम्पुर्ण तयारी पुरा मतदाता परीचय पत्र वितरण गरिदै

भोली आईतवार हुने चुनावका लागि सुर्खेतमा सम्पुर्ण तयारी भएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । यसअघि ३ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा विरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकबेसी नगरपालिका र पंचपुरी नगरपालिका गरी ५ वटा नगरपालिका रहेका छन । यस्तै चौकुने नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिका गरी ४ वटा गाउँपालिकामा रहेका छन ।
सम्पुर्ण मतदान स्थलमा मतदान अधिकृत सहितको टोली, सुरक्षाकर्मी र मतपेटिका सहित सम्पुर्ण सामाग्रीहरु पुगीसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थल र मतदान केन्द्रबाट मतदाताहरुलाई मतदाता परीचय पत्र वितरण भईरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय तहको चुनावका लागि सुर्खेतमा १३८ मतदान स्थल र २४० मतदान केन्द्र छन् । सुर्खेतका ९ स्थानीय तह मध्ये सबैभन्दा बढी मतदान केन्द्र रहेको क्षेत्र विरेन्द्रनगर र कम मतदान स्थल भएको क्षेत्र चिङ्गाड गाउँपालिका हो । विरेन्द्रनगरमा २७ र चिङ्गाडमा ८ मतदान स्थल छन ।

दुईवटा मतदान केन्द्र महिलामैत्री

सुर्खेतमा रहेका १३८ मतदान स्थल मध्ये दुईवटा मतदान केन्द्र महिलामैत्री मतदान केन्द्र रहेको छ । सदरमुकाम विरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ८ को आवास क्षेत्रमा रहेको वालमन्दिर प्राथमिक विद्यालय मतदान स्थल र विरेन्द्रनगर वडा नम्बर १० घुस्रामा रहेको जनसेवा माध्यामिक विद्यालय घ केन्द्रमा महिलामैत्री मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

आवास क्षेत्रमा रहेको वालमन्दिर प्राविमा मतदान अधिकृत निर्मला रेग्मी सहित ६ जना महिला खटिएका छन् । यहाँ ७ सय ५४ मतदाता रहेका छन् । यस्तै घुस्रामा रहेको जनसेवा माविमा मतदान अधिकृत मान कुमारी गुरुङ्ग सहित ६ जना महिला खटीएका छन् । यहाँ ७ सय ६३ मतदाता छन । अन्य मतदान स्थलमा पुरुषको नेतृत्वमा रहेको र केही महिला समेत रहेको भएपनि महिलाको नेतृत्वमा सम्पुर्ण टिम नै महिलालाई जिम्मेवारी दिईएको मतदान स्थलमा दुई रहेका छन् ।

 

मतदाता नामावली छुटेका कारण मतदान गर्न बन्चित, बन्दको हल्लाले पनि मतदातालाई पुग्न सकस

सुर्खेतका अधिकाँश स्थानियले मतदाता नामावली छुटेका कारण कहीले मतदान गर्नबाट बन्चित हुनु परेको बताएका छन् । कामको सिलसिलामा बाहिर गएका र घरमै रहेर पनि थाहा नपाएर नामावली संकलनका क्रममा सहभागि नहुँदा मतदान गर्नबाट बन्चित हुन परेको भन्ने गरेको गुनासो आईरहेको छ । स्थानिय स्तरका नेता तथा कार्याकर्ताले नामावली संकलनका क्रममा चासो नदेखाएका कारण र आफुहरुले पनि थाहा नपाएका कारण मतदान गर्नबाट बन्चित हुन परेको बताएका छन् ।

यस्तै बन्दको हल्लाले गर्दा पनि डरैडरमा बाहीरी जिल्लाबाट आउन नसेका कारण मतदातालाई पुग्न सकस भएको पाईएको छ । सडकमा प्रयाप्त यातायातका साधन नगुडनाले पनि मतदाताहरुलाई सुर्खेत र दैलेख पुग्न समस्या भएको बताईएको छ ।

मुख्य तिन दलको कडा प्रतिस्पर्धा, सदमुकाममा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामै

सुर्खेतमा मुख्य गरी तिन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओबादी केन्द्रकै प्रतिस्पर्धा हुने देखिएको छ । सदरमुकाम विरेन्द्रनगरमा भने एक जना स्वतन्त्र उम्मेदवार पनि मुख्य तिन दलकै प्रतिश्पर्धामा रहेको बताईएको छ । स्थानिय स्तरमा मतदाताको अभिमत बुझ्दा पार्टी भन्दा पनि ब्यक्ति रोज्नु पर्ने बताएको समेत पाईएको छ ।
सुर्खेतमा १ लाख ८४ हजार मतदाता, सदरमुकाममै ५० हजार
सुर्खेतको कुल जनसंख्या ३ लाख बढी छ । यसपटकको चुनावमा ८९ हजार २ सय ६८ जना महिला र ९५ हजार १ सय ३१ जना पुरुष गरी १ लाख ८४ हजार ३ सय ९९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । जसमध्ये ६० प्रतिशत मत खस्ने अनुमान छ ।
यो संख्या अन्य नगर र गाउँपालिका मध्ये विरेन्द्रनगर नगपालिकामा सबैभन्दा बढी र चिङ्गाड गाउँपालिकामा सबैभन्दा कम मतदाता रहेका छन । विरेन्द्रनगरमा कुल ५० हजार ६४६ मतदाता छन भने चिङ्गाडमा ९ हजार २२७ मतदाता छन ।
यसैगरी, गुर्भाकोटमा २५ हजार ८३७, भेरीगंगामा २३ हजार ११२, पञ्चपुरीमा १७ हजार २७८, लेकवेशीमा १७ हजार २७६, सिम्तामा १४ हजार ७४१, बराहमा १३ हजार ७५७ र चौकुनेमा १२ हजार ५३१ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
३१ गते मतदान सम्पन्न भएपछि सबै मतदान स्थलका मतपेटीकाहरु संकलन गरेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि मात्रै मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्