वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

नेपालगन्जमा स्थानीयले स्वतस्फूर्तरुपमा घर भत्काउन थाले !

        भगतराम थारु   |   प्रकाशित मितिः शनिबार, बैशाख १६, २०७४     ::: 880 पटक पढिएको   |  

 नेपालगन्ज, बाँके ।
बढ्दो जनसंख्याको चापसंगै ट्राफिक असुविधा भएपछि नेपालगन्जको पुरानो बजार सदरलाईको सडक विस्तार गर्न लागिएको छ ।
सडक विस्तारका लागि स्थानीयले पुरानो वर्षाती मार्ग र आफ्ना घर भत्काएर सहयोग गर्न थालेका छन् । सडक विस्तार कार्य विवादरहित बनाउनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा समिति समेत निर्माण गरिएको छ ।
नयाँ बन्ने सडकको मापदण्ड १४ मिटर रहने जनाइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य घरधनी र अन्य मानिसहरु सम्मिलित समितिले सडक विस्तारको काममा हुने विवादहरु समाधान गर्दै निर्माण कार्य सहजरुपमा अगाडि बढाउन पहल गर्ने बताउँछन् ।


उनले सडक विस्तारका लागि स्थानीय तयार रहेको बताउँदै सम्बद्ध निकायलाई काम अगाडि बढाउन आग्रह गरे । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले एकीकृत शहरी विकास परियोजना अन्तरगत सदरलाइन विस्तार गर्न लागेको हो ।
स्थानीय व्यवसायी तथा सदरलाइनका घरधनी सन्तोषकुमार लखेर सडक विस्तारका लागि मापदण्ड अनुसार भत्काउनु पर्ने क्षेत्र भत्काउन घरधनीहरुले बचन दिइसकेको बताउँछन् । उनले आफ्नो ठाउँको विकासका लागि आएको बजेटलाई सदुपयोग गर्दै स्थानीयले समन्वयकारी भूमिका खेल्न तयार रहेको जानकारी दिए ।
विभिन्न चरणमा सडक ढललगायतका कामहरु निर्माण भइरहेकोमा नेपालगन्जको पुरानो बजार सदरलाइन त्रिवेणी मोडबाट नगरभवनसम्म निर्माण हुने जनाइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले एकीकृत शहरी विकास अन्तरगत नेपालगन्जमा सडक र ढलको काम तीव्र गतिमा भइरहेकोमा सदरलाइन क्षेत्रको सडक विस्तारका लागि कामकारवाही अगाडि बढाइसकेको जानकारी दिए ।
मूख्य व्यापारिक केन्द्रका रुपमा रहेको सदरलाइन क्षेत्रको सडक जीर्ण बन्नुका साथै साघँुरा समेत भएकाले विस्तार गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्