वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

बर्दियाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान चल्दै, पहिलो चरणमा भर्ना हुने विद्यार्थीहरुलाई पाठ्यपुस्तक र मुस्कान सहित स्वागत गरिने

        भावुक योगी   |   प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४     ::: 1913 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
हामी सबैको इच्छा, निशुल्क अनिवार्य आधारभुत शिक्षा भन्ने नारा सहित बर्दियाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेको छ ।
वैशाख ३ गते देखि देशभरका सामुदायिक विद्यालयमा भर्ना अभियान सुरु भएको हो । भर्ना अभियान वैशाख १४ गते सम्म संचालन हुने जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।
अपाङ्गतालाई चिनौ, पहिचान गरौँ र उनीहरुको आवश्यकतालाई सम्बोधन गरौँ, सबै किसिमका अपाङ्गता भएका बालबालिकालाई सम्मानजनक विद्यालयमा भर्ना गरौ अभियान पनि चलाईएको छ ।
अपाङ्गता भएका बालबालिकाहरुको अवरोध मुक्त वातावरणमा शिक्षा पाउने अधिकारको सम्मान गर्ने समेत बताईएको छ ।
भर्ना अभियान कार्यक्रममा अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रमका वातावरण तयार गर्ने, चार वर्ष उमेर पुरा गरेका वाल वालिकाहरुलाई भर्ना अभियान कार्यक्रममा प्रारम्भिक बाल कक्षामा भर्ना गराउन अभिप्रेरित गर्ने समेत जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत टिकानाथ गोसाईँले जानकारी दिनुभयो ।
बहिरा तथा सुस्तश्रवण, दृष्टिविहीन, न्युन दृष्टियुक्त, शारीरिक, बौद्धिक, स्वरबोलाई, श्रवणदृष्टिविहीन लगायत सबै किसिमका अपाङ्गता भएका बाल बालिकाहरुलाई उमेर अनुसार मिल्दो प्रारम्भिक बाल शिक्षा कक्षा तथा विद्यालयहरुमा निःशुल्क भर्नाको व्यवस्था मिलाउने जनाईएको छ ।
अपाङ्गताको अवस्थाका आधारमा विद्यालयमा तालिम प्राप्त शिक्षक नभएको अवस्थामा समाबेशी शिक्षा स्रोतकक्षा संचालन गरीने जिल्ला शिक्षा कार्यालय बर्दियाले जनाएको छ ।
पहिलो चरणमा बैशाख १४ गते भित्र भर्ना हुन आउने विद्यार्थीहरुलाई सेटमा पाठ्यपुस्तक र मुस्कान सहितको फुल अबीर तथा स्थानिय संस्कृति अनुसार स्वागत गर्ने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत टिकानाथ गोसाईँले जानकारी दिनुभयो ।
तर १४ गते सम्म विद्यालयमा भर्ना हुन नआएका सुचीकृत गरिएका लागि दोस्रो चरणमा भर्ना गर्न निमन्त्रणा पत्र सहित घरदैलो भ्रमण गरी अभिभावकलाई शिक्षाको महत्व सम्बन्धी परामर्श गरी वैशाख ३० गते सम्म भर्ना गर्न सकिने कार्यक्रम रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: