वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियाका राजी समुदाय भन्छन्– अब भोट हाल्छौं हाम्रालाई होइन राम्रालाई !

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बिहिबार, चैत्र ३१, २०७३ ।    

ठाकुरबाबा,बर्दिया।
स्थानिय तहको निर्वाचन मिति नजिकिँदै गर्दा सबैतिर निर्वाचनकै चर्चा छ । गाउँबस्ती टोल चोक चियापसलमा चुनावकै कुरा चल्छ । गाउँबस्तीमा नेताहरुले चुनावी भेला गराइरहेका छन् । अघिपछि प्रायः सुनसान रहने यहाँको राजी बस्तीमा पनि अहिले चुनावको खासखुस सुरु भएको छ । बस्तीका बुढापाका र महिलाहरु दिउँसो एक ठाउमा जम्मा भएर भोट कसलाई हाल्ने भनेर सरसल्लाह गर्ने गर्छन् ।
स्थानिय तहको चुनावमा यो त्यो पार्टी होइन अब आफनो समुदाय र बस्तीको विकास गर्नेलाई चुन्ने राजी समुदायको बिचार छ । स्थानिय तहबाट पाइने सुविधाको बारेमा सबै जानकारी नभएपनि पहिलेको गाविस भन्दा अब बढी सुविधा पाइन्छ भन्ने राजी समुदायका अगुवाले बुझेका छन् । राजी सुमदायकी अगुवा पार्वती राजी भन्छिन्, ‘सबै कुरा थाहा छैन । तर पहिले भन्दा धेरै सुविधा र अधिकार स्थानिय तहमा छ भन्ने सुनेकी छु । त्यसैले अब समुदायको विकास गर्ने सक्ने योग्य व्यक्ति चुन्ने सोचमा छौ ।’

आफुहरुको समस्या सुनाउँदै राजीहरु

जिल्लाको बाराबर्दिया नगरपालिकाको वडा नं ३ को खुरखुरे फाँटामा राजी समुदायको बस्ती छ । मुक्तकमैया तथा सुकुम्बासीलाई सरकारले ठाउँ हेरी ३ देखि ५ कट्ठा जमिन दिएको छ । तर, जिल्लाका राजी समुदायले एक धुर पनि जग्गा पाएका छैनन् । राजी समुदायका ५५ घरपरिवार सामुदायिक वनको करिव ५ कट्ठा जमिनमा गुचुमुच्च झुपडी बनार गुजारा गर्दे आएका छन् । यहाँ अहिले ४० राजी परिवार, १० दलित र अन्य ५ गरी ५५ भुमिहिन घर परिवार बस्दै आएका छन् ।
गुजमुज्ज परेका स–साना झुपडीमा २०६३ सालदेखि राजीहरुले गुजारा गर्दै आएका छन् । करिव ३ वर्ग मिटर क्षेत्रफलमा एक परिवारको झुप्रो छ । राम्रोसँग उभिन पनि नमिल्ने र मुस्किलले एउटा खटिया अट्ने सानो झुप्रोमा ६÷७ जनाको परिवार कोचिएर बस्न बाध्य छन् ।
‘ वरपर सबै सरकारले बाडेको जमिनमा बसेका छन् । वषौँ बित्यो तर सरकारले हामी भुमिहिनलाई अझै देखेको छैन, ’ राजी बस्तीकी अगुवा पार्वती राजीले दुखेसो सुनाइन् । यहाँ बसेयता आफुहरुले सुरक्षित आवासका लागि पटकपटक आवाज उठाएपनि स्थानिय तहमा जनप्रतिनिधी नहुँदा आफुहरुको आवाज कसैले नसुनेको उनीहरुको ठहर छ । बस्तीका काशीराज राजी भन्छन्, ‘धेरै दुख पाइएको छ । आफनो दुख व्यथा सुन्ने जन प्रतिनिधी छैनन् । अब चुन्न पाइने भयो । हाम्रा दुख व्यथा बुझनेलाई भोट हाल्छै ।’
दुइ पटकको संविधान सभामा नेता चुनेर पठाएपनि आफुहरुको समस्या कसैले नबुझेको राजी समुदायको गुनासो छ । अब स्थानिय तहमा चुनिने जनप्रतिनिधीले आफुहरुको समस्या सुनिदिन्छन्की भन्ने राजी समुदायको आशा छ । अघिपछि टाउको उठाएर नर्हेने नेताहरु हिजोआज भने भोट माग्न बस्तीमा आउने गरेको शशी राजीले बताइन् । ‘अघिपछि वास्ता नै गर्देनन् । अब चुनाव आयो नेताहरु यसो गर्दिन्छौ, उसो गर्दिन्छौ भन्दै धाउन थालेका छन्, शशी राजीले सुनाइन् । नेताहरुले जे भनेपनि आफुहरुलाई बासको व्यवस्था गरिदिन सक्ने राम्रो नेतालाई भोट हाल्ने राजीहरुको सोचाइ छ ।
अब चुनिने जन प्रतिनिधीले सुरक्षित बसोबासको व्यवस्था गरिदिए ठुलो राहत हुने राजीहरुको भनाई छ । स्थानिय तहमा महिलाको पनि अनिवार्य उपस्थिती हुनु पर्ने बुझेका राजीहरुले यो स्थानिय तहमा एक जना राजी महिलालाई प्रतिनिधी उठाउँने उनीहरुको सोच छ । ‘ हामीलाई धेरै पछि पारिएको छ । यस पटकको स्थानिय तहमा मिल्यो भने हाम्रो समुदायबाट पनि महिला प्रतिनिधी उठाउने सोचमा छौ,’ राजी अगुवा पार्वती राजीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्: