वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

हरायो विश्वकै ठूलो एसियन ‘राजागज’ हात्ती

        यादब आचार्य   |   प्रकाशित मितिः बुधबार, चैत्र १६, २०७३     ::: 543 पटक पढिएको   |  

राजागजको सम्झनामा निर्माण गरिएको स्तम्भ ।

बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको विश्वकै ठूलो एसियन हात्ती राजागज हराएको छ । ०४९ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक देखिएको राजागज देखिन छाडेपछि हराएको अनुमान गरिएको हो । अन्तिम पटक ०६४ सालमा मधुवन नगरपालिका (साविक सूर्यपटुवा गाविस)को कैलाशीमा देखिएको ११ फिट ३ इन्च उचाइको सबैभन्दा ठूलो भाले एसियन हात्ती ९ वर्षदेखि निकुञ्जमा देखिएको छैन । साढे दुई दशक अघि बेलायती वैज्ञानिक जोन ब्लम्सफोर स्नेलको नेतृत्वमा आएको टोलीले एसियामा पाइने घरेलु र जंगली गरी ६५ हजार हात्तीमध्येकै ठूलो राजागज भएको प्रमाणित गरेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्जमा राजागज देखिन छाडेको करिब दशक हुन थालेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । उनले भने, ‘राजागज जीवित भइदिएको भए भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष वा बर्दिया निकुञ्जमा देखिनुपथ्र्यो तर अचेल देखिँदैन । लामो समयदेखि नदेखिएकाले हराएको हुन सक्छ ।
उनले थपे, ‘विश्वकै ठूलो एसियन हात्ती राजागजको भारतमा रेलले किचेर मृत्यु भइसकेको पनि कोही भन्ने गर्छन् तर त्यसको आधिकारिक पुष्टि भएको छैन । यतिका वर्ष बितिसक्दा पनि विश्वमै ऐतिहासिक नाम कमाएको हात्तीको खोजतलास नहुँदा नेपालको हात्ती संरक्षणमा करोडौं खर्च गर्ने अन्तर्राष्ट्रिय स्तरका गैरसरकारी संस्था असफल सावित भएको स्थानीयको आरोप छ ।
राजागजको त के कुरा बर्दियामा पाइने अरू रैथाने हात्तीको समेत अनुगमन नभएको अधिकृत थापाको भनाइ छ । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक ३ वटा हात्ती देखिएका थिए । अहिले सय रैथाने र २५ आगन्तुक गरी करिब १ सय २५ वटा जंगली हात्ती निकुञ्जमा छन् । यतिखेर बर्दियामा धेरै हात्ती भइसकेकाले अध्ययन तथा अनुगमन गर्नुपर्ने जरुरी रहेको बताए ।
उनले भने, ‘मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्व कायम गर्न पनि हात्तीको अध्ययन नितान्त आवश्यक छ ।ु हात्तीको अध्ययनमा कसैले ध्यान दिन नसकेकोमा उनले आपत्ति जनाए । हात्तीको अध्ययन अनुगमन नगर्दा बर्सेनि धनजनको क्षति बर्दियावासीले व्यहोर्नुपरेको छ ।
अफ्रिकन तथा एसियन हात्तीबारे अध्ययनरत ब्रिटिस महिला सेरा ब्याम्फिल बर्दिया राष्ट्रिय निकुञ्जमा साढे दुई दशकअघि अध्ययनका लागि आएका बेला उनले भिन्नै पहिचान भएको हात्ती देखेपछि युकेबाट वैज्ञानिक टोली झिकाएको प्रकृति पथप्रर्दशक राजन चौधरीले बताए । उनले वैज्ञानिकको टोली आइसकेपछि अनुसन्धानका क्रममा सबैभन्दा ठूलो, टाउको डबल डोमको भेटिएपछि राजागज सबैभन्दा ठूलो प्रमाणित भएको बताए ।
पछि एनिमल प्लानेटले डकुमेन्ट्री बनाउने क्रममा राजागज नभेटिएपछि बर्दिया राष्ट्रिय निकुञ्जमै रहेको राजागजभन्दा केही सानो राजागजको भाइ भीमगज, अजिंगर तथा निकुञ्जको सबैभन्दा ठूलो बहादुर भाले पाटेबाघको नामबाट बिगेस्ट एन्ड ब्याडेस्ट नामक डकुमेन्ट्री निर्माण भएको चौधरीले स्मरण गराए ।
बर्दियाबाट देशकै गौरव बोकेको प्राणी राजागज हराएपछि संरक्षणप्रेमीलगायत स्थानीय चिन्तित बनेका छन् । तर, देशकै संरक्षणको जिम्मेवारी लिएको निकुञ्ज विभाग भने कानमा तेल हालेर बसेको छ । राजागजको सम्झनामा स्थानीय चोरी–सिकार नियन्त्रण युवा परिचालन अभियानका युवाले हात्ती बाँध्ने खमारी (स्तम्भ) निर्माण गरेका छन् ।
‘विश्वकै ठूलो एसियन हात्ती राजागज हराएकाले सम्झनामा राजागज स्तम्भ निर्माण गरेका हौुं, चोरी(सिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले भने । उनका अनुसार एउटै सालको काठबाट बनाइएको स्तम्भ गाडिएको छ जसले राजागजको नाम जीवन्त राख्न मद्दत पुग्छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि अनुकूल वासस्थान सावित हुँदै गएको छ । विश्वमै दुर्लभ पाटेबाघ मात्र होइन, विश्वमै ठूला मानिने एसियन हात्तीका लागि पनि उत्तिकै महत्वपूर्ण स्थान बनेको छ । संरक्षणका नाममा अर्बौं बगाउने निकायले वास्तविकता पहिचान गरी त्यसतर्फ लगानी बढाउन सके प्रभावकारी हुने आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्