वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

तिमीले देखेजस्तै मैले पनि देख्नुपर्छ भन्ने छैन [कविता]

        लक्ष्मण सापकोटा   |   प्रकाशित मितिः शुक्रबार, फाल्गुन २७, २०७३     ::: 506 पटक पढिएको   |  

अब-
तिम्रो झूठो आश्वासनले,
मेरो आँगनमा फूल फूलाऊन सक्दैन,
न्यानो किरण छर्न सक्दैन,
घरको भित्ताका ईटा बन्न पनि सक्दैन ।
अब,
तिम्रो सपनाले-
मलाई सपना देखाउन सक्दैन,
सप्तरंगी इन्द्रधनुष देखाउन सक्दैन,
स्वप्नलोक घुमाउन पनि सक्दैन ।

अब,
तिम्रो प्रहारले-
मलाई कॉंचको मूर्तिजस्तै,
फुटाउन सक्दैन,
लाक्षागृह जस्तै जलाउन पनि सक्दैन ।

अब,
भेद पाईसकें मैले-
तिमी भित्रको कालो मन,
अनि बुझिसकें सत्य,
आफ्नो सार्थकता,
आफ्नो निजत्व र आफ्नो अर्थ पनि ।

अब,
देखीसकें मैले-
तिम्रो भागको सूर्य,
मेरो भागको पनि,
नापीसकें मैले,
तिम्रो कदको छायॉं र मेरो पनि,
हेर्दै छु मैले यो जगत,
आफ्नै आँखाले,
मेरै आफ्नो चस्माले ।।

भर्जिनिया, अमेरिका

प्रतिक्रिया दिनुहोस्: