वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियालाई झुटो आश्वासन हैन, विकास राजनीतिको खाँचो छ ।

        मणि शर्मा   |   प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३     ::: 5484 पटक पढिएको   |  

राईको सबैभन्दा पिछडिएको जिल्ला हो बर्दिया । पहिला–पहिला बर्दियाभन्दा काठमाडौंका मानिसलाई भारतको कुनै ठाउँ हो कि जस्तो गर्थे। नेपालगन्जसँग जोडिएको जिल्ला भनेपछि ‘ए, बाँके बर्दिया !’ भन्थे । बर्दियाको छुट्टै अस्तित्व स्विकार्दैनथे । वामदेव गौतम पहिलोपटक गृहमन्त्री भएपछि बर्दिया चर्चामा आयो । उनले आफू जितेको १ नम्बर क्षेत्रमा बबई नहर परियोजना ल्याएपछि झन् चर्चामा आयो ।
धनकुटालाई सूर्यबहादुर थापाले चिनाएजस्तो बर्दियालाई चिनाउन वामदेव गौतम चाहियो । प्रत्येक जिल्लामा एउटा शक्तिशाली नेताको अभाव हुँदा त्यो जिल्ला गुमनाम झैं बस्नुपर्छ, यो एउटा उदाहरण हो । त्यसपछि वामदेव दुईपटक चुनाव हारेपछि उनले बर्दियाको विकासमा ध्यान दिएनन् । उनी पनि सम्पूर्ण जिल्लाको नेता नबनेर आफू जितेको क्षेत्रको मात्र नेता बने । चुनावमा जित्ने उद्देश्य मात्र राखेर आफ्नो क्षेत्रको विकास गर्ने नेताले चुनाव हारेपछि त्यो क्षेत्रलाई पनि दूधमा परेको माखा झैं मिल्काउने रहेछन् । माओवादीमा आएको फूटको कारण उनी गत संविधानसभा चुनावमा बर्दियाबाट जित्न सफल भए । उनलाई बर्दियाबाट जित्ने आशा नभएरै प्युठानबाट पनि उठेका थिए । दुवै ठाउँबाट जितेपछि बर्दियालाई उनले छोडे ।
नेतासँग जोडिएको विकास पनि उसको स्वार्थसँग जोडिएको हुन्छ । नेता निस्वार्थ रूपमा देशभक्त भएर जनताको सेवा गरे ऊ कतैबाट पनि हार्दैन, न त वामदेवहरू जस्ताले चुनावमा करोडौं खर्च गर्नुपर्छ । अहिले बर्दियाबाट नौजना सांसद छन्, चारवटा जितेका र पाँचवटा शीर्षनेताको कृपामा परेका अर्थात् समानुपातिकबाट । तर विकासको गति कछुवाको चालमा छ । वामपन्थीहरू नफुट्ने हो भने बर्दिया वामपन्थीहरूको किल्ला हो । पहाडबाट झरेर वाम राजनीति गरेर जमिनदार बन्नेहरूको संख्या धेरै छ यहाँ । मुसो बनेर पसेर शेर बन्नेहरूको कमी छैन । बर्दिया कृषिको लागि उर्वरा भूमि हो । यस जिल्लाको कृषि उत्पादन भारत मात्र नभएर नेपालको पहाडी जिल्लामा समेत निर्यात हुन्छ । तर यहाँको गरिब जनताको लागि दुई छाक टार्न गाह्रो छ । जबकि ०७०/७१ को तथ्यांक हेर्ने हो भने जिल्लाको कुल खाद्यान्न उत्पादन २,९५,४०० मेट्रिक टन र जिल्लाको कुल खाद्यान्न माग ७८,९१८ मेट्रिक टन छ ।
बर्दियाको सरकारी मानव विकास सूचांक हेर्ने हो भने ०.४६६ र गरिबी सूचकांक ३२.३० प्रतिशत छ । २०२५ वर्ग किमिमा फैलिएको बर्दियाको दुईतिहाइ भाग ६८.७६ प्रतिशत तराई ३१.२४ प्रतिशत चुरे पहाड पर्छ । ७५ हजार हेक्टर कृषियोग्य जमिन छ भने ६० हजार १ सय हेक्टरमा मात्र खेती गरिएको छ । त्यस्तै वनको कुल क्षेत्रफल १,२९,२०० हेक्टर छ । प्रकृतिको वरदान पाएको जिल्ला हो बर्दिया । अति दुर्लभ कृष्णसार बर्दियाको सरदरमुकाम गुलरियामा मात्र पाइन्छ । चरन क्षेत्रमा मानव अतिक्रमण र उचित संरक्षणको अभावमा लोप हुने अवस्थामा छ । मानव जातिलाई मन पराउने कृष्णसार आज मानव जातिबाटै अवहेलित हुनुपरेको छ । यहाँबाट भगवान कृष्ण जन्मे र आफ्नो बालककाल बिताएको मथुरा र वृन्दावनको दूरी धेरै टाढा छैन । भनिन्छ– कृष्णजीको बाँसुरीको धुनमा कृष्णसार उनको पछि–पछि लाग्थ्यो । त्यसैले यो जनावरको नाम कृष्णसार रहन गएको हो । यदि अन्वेषकहरूले खोज्दै गए भने भगवान् श्रीकृष्णको सम्बन्ध बर्दियासँग भएको भेटिन सक्छ ।
भगवान् रामको जन्मभूमि अयोध्या पनि यहाँबाट आठ दस घन्टाको गाडीको दूरीमा छ । यस क्षेत्रको पुरानो बृहत् चलनचल्तीको बजार राजापुर हो, जो अहिले ओझेलमा परेको छ । नेपालकै सबैभन्दा लामो पुल कर्णाली गेरुवामा बनेपछि राजापुरको भविष्य उज्यालो बन्ने तरखरमा छ ।भगवान् श्रीरामका पूर्वज राजा दिलीप भृगु ऋषिको श्राप परेपछि राजापुरमा रहेको वशिष्ठ ऋषिको गुरुकुलमा आएर उनको गौशालामा गाई चराउने गरेका थिए । उनको श्रापको समय सकिएपछि उनी अयोध्या फर्किने बेलामा उनी रघुवंशीय राजा दिलीप भएको थाहा भएपछि त्यो ठाउँको नाम राजापुर रहन गएको भन्ने किंवदन्ती छ । योगी नरहरिनाथले त्यसैले राजापुर क्षेत्रमा गुरुकुल स्थापना गर्न जग्गा खोजिरहेका थिए । तर यहाँ कसैले उनलाई जग्गा प्रदान नगरेकोले उनले उठाएको चन्दाको रकमबाट दाङमा संस्कृत महाविद्यालयको वीजारोपण गरेको भनाइ छ ।
शास्त्रमा दिलीप राजा त्यहाँ आएको सम्बन्धमा राजापुर क्षेत्रको वर्णन गर्दा कर्णाली सर्यू किनार भनेर उल्लेख छ । कर्नालबाट उत्पन्न भएको कर्णाली र मानसरोवरबाट उत्पन्न भएको सर्यू नदी पवित्र नदी हो । अयोध्या यही सर्यू नदीको किनारमा अवस्थित छ । संस्कृतमा सरको अर्थ तलाउ र ‘यू’ को अर्थ उत्पन्न भएको हुन्छ । तर केही व्यक्तिहरूले दाङबाट निस्केको बबई नदीलाई सर्यू नामाकरण गरेकोमा विद्वान् वर्गमा असन्तुष्टि छ ।
यस जिल्लास्थित दनुवा तालनजिक प्राकैतिहासिक मानवको अवशेष भेटिएको चर्चा एकपटक शिखरमा थियो । विस्तारै अन्वेषणको अभावमा सेलाएर गयो । यसरी हेर्दा अन्वेषकहरूको लागि बर्दिया खोज तथा अनुसन्धानको उर्वर भूमि हो । तर बर्दियाको विकासमा कसैको चासो भएन । दुहुनो भैंसी मात्र भइरह्यो बर्दिया ।
पञ्चायतका अँधेरा कालखण्ड रह्यो यस जिल्लाको लागि । ०४६ सालपछि राजनीतिक जागरुकता त बढ्यो शिक्षा क्षेत्रमा पनि विस्तार भयो, तर सिंगो मुलुक अदृश्य विदेशी दासताको सिक्रीमा जकडिँदै गयो । चितवन निकुञ्ज आज देश–विदेशका पर्यटकहरूको लागि आकर्षणको केन्द्रबिन्दु भएको छ । तर ९६ हजार आठ सय हेक्टरमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज अहिले पनि अँधेरो कुनामा छ । यो निकुञ्जको सौन्दर्य चितवनको तुलनामा कम छैन । पूर्वाधारको कमीका कारण यो ओझेलमा परेको छ । नेताहरूको खानी भएको बर्दियाका नेताहरू केवल आफ्नो स्वार्थसिद्धिमा लागिपरेका छन् । पैसा नभई चुनाव जितिँदैन र समानुपातिकमा कि त टन्नै पैसा आफ्ना प्रमुख नेतालाई दिनुप¥यो कि त उनको कृपा पात्र हुनुप¥यो । त्यसैले जसरी भए पनि नेताहरूको ध्यान पैसा कमाउनमा मात्र सीमित छ, जनतालाई खोक्रो आश्वासनको भारी बोकाउनुबाहेक ।
जिल्लामा विकास निर्माणका सानातिना काम नभएका होइन । तर त्यसको गुणस्तर न्यून कोटीको छ । कर्मचारीतन्त्रमा भ्रष्टाचार र कमिसनको खेल व्यापक छ । प्रमुख तथा सत्तारुढ दलहरूका स्थानीय नेताहरूलाई खुसी पारिदिए जेजस्तो गरे पनि सदर छ यहाँ । वर्षौंदेखि निर्माणको पर्खाइमा बसेको हुलाकी सडक यही फागुनदेखि निर्माण कार्य सुरु हुनुपर्ने थियो, तर अझै सुरु हुन सकेको छैन । जनता शंकामा छन्– यो सडकको पैसा कतै फिर्ता त जाने होइन । त्यसमाथि राँझा— जमुनहा चौकीसम्मको चार लेन सडक निर्माणको ठेक्का पाएको पप्पु कन्सट्रक्सनले गुलरियादेखि ढोढरीसम्मको सडक निर्माणको ठेक्का पाएको छ ।
नेपालगन्जमा निर्माण गरेको सडक तीन महिना नबित्दै भत्कन सुरु गरेकोमा नगरवासीहरूले विरोध गर्दा पनि केही नभएकोमा बर्दियामा उनले कुन स्तरीय सडक बनाउनेछन् भन्ने बर्दियावासीले शंका गर्न थालेका छन् । उनले बनाएको बबई नदीको बैदीको पुलको नाजुक अवस्था बर्दियावासीले देखिसकेका छन् । सांसदहरूलाई प्रमुख अतिथि बन्न पाए र उद्घाटन गर्न पाए पुग्छ । स्थानीय स्तरबाट कुन विधि प्रयोग गरेर आफूले गरेको निर्माण कार्यलाई पारित गराउनुपर्छ ठेकेदारलाई त्यो रहस्य थाहा छ । भोलि हुलाकी सडक बन्यो भने गुणस्तरहीन भए पनि त्यो पास हुनेछ ।
नागरिक समाज र मिडिया पैसामा बिकेका छन् । नागरिक समाजको अगुवा र मिडियाकर्मीलाई खुसी पारे पुग्छ नेपालमा । मिडियाकर्मीको पनि आफ्नो बाध्यता छ । एकाधबाहेक अरू मिडिया हाउसले तलब दिँदैनन् । बाँच्नको लागि जे पनि गर्नुपर्ने बाध्यता छ । पत्रकारको लोगो तिनीहरूका लागि सफेदपोस भ्रष्टाचारको इजाजत पत्र हो । बर्दिया कृषिकार्य र पशुपालनको उर्वरभूमि भएको यस जिल्लाको नामाकरणले पनि पुष्टि गर्छ । स्थानीय थारू भाषामा गाईगोरुलाई बलिबर्द भनिन्छ । यहाँका गाईगोरु राम्रा, मोटाघाटा र बलिया हुने भएकाले यो ठाउँलाई बलिबद्र भनिएकोमा पछि अपभ्रंश भएर बर्दिया भएको हो । अर्को भनाइअनुसार पदनाहा गाविसमा बारबर्दिया भन्ने गाउँ छ । बारबर्दिया खेतीको लागि उन्नत जमिन भएको ठाउँ भएकाले बाहिरबाट बसाइँसराइ गरी यसै ठाउँमा आउने गरेकाले यो ठाउँको नामबाट बर्दिया रहन गएको भनाइ छ ।
तालैतालको जिल्ला पनि हो बर्दिया । ७० हेक्टरमा फैलिएको बर्दियाको ठूलो ताल बढैया ताल, चार हेक्टर क्षेत्रफलमा फैलिएको लक्ष्मणा ताल, २० हेक्टर क्षेत्रफलमा फैलिएको अनौहवा ताल, कृष्णसार ताल, भग्रैया ताल, दनुवा ताल प्रमुख ताल हुन् । कर्णाली, भेरी, बबई र मान खोला प्रमुख नदी हुन् । एउटै पिलरमा उभिएको कर्णाली पुल एसियाको दोस्रो ठूलो पुल हो । यति ठूलो प्राकृतिक विविधताले परिपूर्ण बर्दियाको विकास नहुनु पहिलो कारण जिल्लाले निस्वार्थ, विकासप्रेमी र त्यागी नेता नपाउनु हो । दोस्रो कारण हो, पहाडबाट बसाइँसराइ गरेर पछि आएका मानिसहरूले बर्दियालाई कमाउने ठाउँभन्दा बेसी ठानेनन् । झन् कथित मधेस आन्दोलनपछि त ती व्यापारिक मनका आउनेहरू यहाँको श्रीसम्पत्ति बेचेर काठमाडौंलगायत सुगम ठाउँमा पलायन गरे । नवनागरिकताधारी भारतीयहरू पनि बर्दियालाई दोहनको थलो बनाउने र कमाएको जति भारतमा लैजाने भएकाले पनि यो जिल्लाको विकास हुन नसकेको हो ।
सुकुमबासी र मुक्तकमैयाको नाममा राजनीति गर्नेहरूले जिल्लाको विकास र गरिब जनताको स्तर उन्नतिमा ध्यान दिनुको सट्टा तिनीहरूलाई नै मोहडा बनाएर राजनीति गरिरहेका छन् । जुनसुकै नेताले चुनावको बेला बर्दियामा कृषि विश्वविद्यालय स्थापना गर्ने, बर्दिया कपास खेतीको उर्वरभूमि भएकाले यहाँ कपडालगायतका फ्याक्ट्रीहरू खोल्ने आश्वासन दिन्छन् तर चुनावपछि सबै सेलाउँछ, भएको कपास विकास समितिको हजारौं बिघा जग्गा सुकुमबासीको नाममा बाँड्ने राजनीतिसिवाय यहाँ केही गर्दैनन् ।
विकास गर्ने ढुकुटी सम्हालेको सरकार र जिल्लाको प्रतिनिधि भएर गएका सांसदहरूले जबसम्म जिल्लाको विकासमा तन मन लगाउँदैनन् तबसम्म जिल्लाको विकास हुन सक्दैन । प्रत्येक निर्वाचनको बेला जनतालाई गुलियो आश्वासन चटाएर भोट माग्ने नेताहरूलाई जनताले धुलो नचटाएसम्म तिनीहरूले शिक्षा पाउने छैनन् । ०४६ सालपछिको राजनीतिक अस्थिरता पनि जिल्लाको विकासमा बाधक भएको छ । सुकुमबासी र मुक्तकमैयाको राजनीतिलाई बन्द गरेर विकासको राजनीति गर्ने नेताको खाँचो छ यस जिल्लालाई । जग्गा बाँडेर जनता आफ्नो हुँदैनन् । हिजो राजा महेन्द्रले पहाडका बाढीपीडितलाई बर्दियामा चार बिघाको दरले जग्गा मात्र दिएनन्, राजा वीरेन्द्रको पालासम्म यो क्रम जारी राख्दै उनीहरूलाई खानेपिउने सबैथोक जुटाइदिए । पछि तिनीहरू नै एमाले र माओवादी बन्दै तिनै राजालाई सराप्न थाले । जग्गा वितरण र झूटो आश्वासनको राजनीति बन्द गरेर विकासको राजनीतिको खाँचो छ यस जिल्लालाई ।
साभार: अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्