वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

आफ्नो गाउँठाउँ बिकासका लागि आफै किन नजुट्ने ?

        प्रकाश श्रेष्ठ   |   प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३     ::: 612 पटक पढिएको   |  

सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । नागरिकहरु व्यक्तीगतरुपमा यस्तो चाहना पुरा गर्न सक्दैनन् । हुनत: राज्य संयन्त्रबाट यस विषयमा चासो राख्नु पर्ने हो तापनि हाम्रो जस्तो अन्योल ग्रस्त राजनितीबाट गुज्रेको मुलुकमा यस किसिमको चाहना तत्काल पुरा हुने देखिदैन । राज्यले चाहे परिवर्तन हुन सक्छ भन्ने हाम्रै जस्तो भुपरिवेस्ठित छिमेकी मुलुक भुटानले शिक्षा र स्वास्थ्य जस्तो जनसरोकार राख्ने सामाजिक सेवाको क्षेत्रमा जनताको समान पहुँच हुने गरि दुवै क्षेत्र निःशुल्क गरेको छ, त्यस्तै ग्रामिण स्तरमा कृषि कार्यमा संलग्न किसानहरुलाई विद्युत सुविधा समेत निःशुल्क गरेको छ त्यस्तै पर्यावरणीय सन्तुलन कायम गर्न कुल भुभागको ७२% बनजंगल क्षेत्र विस्तार गरेको छ । त्यस्तै आफ्नो भाषा र परम्परागत भेषभुषालाई जिवन्त बनाएको छ । यस्ता गतिविधीमा हाम्रो राज्य पनि जिम्मेवार बन्नु पर्ने हो विडम्बना हुन सकिरहेको छैन । हामी आपसमै टिकाटिप्पणीहरु गर्न अव्यस्त छौ । यसैले अव नागरिक तहबाटै केही गर्न जुट्नु पर्छ । स्वदेशमा बस्ने र रोजीरोटीको लागी विदेशिएका तमाम नागरिकले कम्तीमा आफु जन्मेको जन्मभुमीलाई सकेको सहयोग तन, मन र वचनले गर्नको लागी तयार हुनु पर्छ । अव सरकारको भर मात्र नपरि आफ्नो गाउँ, शहरमा सबै निश्चित रुपमा जुटेर सरकारी क्षेत्र र अन्य सामाजिक संस्थाहरु सँग सहकार्य गरि समाजका हरेक सामाजिक सेवाहरुमा सबैको समान पहुँच दिलाउनको लागी अघि बढ्नु पर्दछ । यो कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सानो विचार र धारणा प्रस्तुत गर्ने जमर्को यो छोटो आलेखमा मोटामोटीरुपमा गर्न खोजिएको छ ।
मुलत कुनै न कुनै कामको शुरुवात गर्नको लागी भित्री ईच्छा शक्ती र चाहना हुनु जरुरी छ । त्यस पश्चात त्यसलाई नेतृत्व गर्न सक्ने आँट र विश्वास पनि हुनु अर्को पक्ष हुन आउँछ । तत्पश्चात सबैलाई समेटेर समान लक्ष्य प्राप्तीमा डोराउन सक्ने र अरुलाई विश्वास दिलाउन सक्ने क्षमता र कलाको जरुरत पनि आवस्यक छ । कुनै काम सफल हुनको लागी उपयुक्त सपना देख्नै पर्छ । सपनालाई साहाकार पार्नको लागी भरपर्दो योजना र योजना पुरा गर्ने उपायहरु वा बाटोहरु उपयुक्त छान्नु पर्ने हुन्छ । त्यसपछि योजनाको सफल कार्यान्वयन भए पछि बल्ल तोकिएको लक्ष्य प्राप्त हुन सक्छ । अव कुरा गरौ कसरी सामाजिक सेवाहरुको लागी जनस्तरबाट सहयोग जुटाउन सकिन्छ र सहयोग जुटाउन सकिने आधार के के हुन सक्छन् ।
सबै भन्दा पहिला त अहिलेको आधुनिक संचारको विस्तार र पहुँचलाई ध्यानमा राख्दै संसारभरी छरिएका सबै जानपहिचान भएका साथीहरु र सबै व्यक्तीहरु सँग सामाजिक संजाल मार्फत आपसमा कुराकानीलाई अगाडी बढाउने , यसरी कुराकानी र कामको लक्ष्य व्यापक भौगोलिक क्षेत्रलाई लक्ष्यीत गरेर भन्दा पनि आफु जन्मेको सानो गाउँ र शहरमा जन्मेकोले वडा तहमै भएको क्षेत्र छनौट गरेर कुराकानीलाई अगाडी बढाएर समाज सेवाको बारे आफ्ना विचार र धारणाहरु प्रस्तुत गर्ने , यस किसिमको भावनामा साथीहरुको सहमती देखिएमा धेरै साथीहरु र आफ्नो नेराघेराका सबै व्यक्तीहरुलाई गुरुप च्याटमा जोडेर संसारभरीका सबै गाउँले वा शहरी वडाको सबै व्यक्तीहरु वीच बहस अगाडी बढाउने । जुन बहसमा आफ्नो ठाउँमा के कसरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा कसरी सहयोग जुटाएर संस्थागतरुपमा काम गर्ने त्यस तर्फ व्यापक छलफल गरी प्राथमिकता निर्धारण गरि काम गर्नको लागी आपसी सहमति जुटाउने र दीर्घकालीन रुपमा कसरी आर्थिक स्रोत जुटाउन सकिन्छ त्यसबारे पनि छलफल गर्ने साथै कस्तो संस्था खोल्ने , के कस्तो संरचना तयार गर्ने , व्यवस्थापन कसरी गर्ने , स्वदेश र विदेशमा बस्ने वीच कसरी सम्बन्ध स्थापित गर्ने , संस्थाको कार्यक्षेत्र के कस्तो निर्धारण गर्ने , दीर्घकाल सम्म अविच्छिन्न रुपमा संस्था कसरी अगाडी बढाउन सकिन्छ आदी बारे व्यापक छलफल गर्ने र निश्चितरुपमा सबै कुरामा सहमती भए पछि संस्था दर्ता र विधी- विधान बनाउन स्वदेश र विदेशमा बस्नेहरु सबैको प्रतिनिधित्व हुने गरि कार्यसमिति गठन गरि आवस्यक प्रकृया अगाडी बढाउने गर्नु पर्छ ।
यो प्रयासबाट यस्तो संस्था निर्माण हुन सकोस् कम्तीमा पनि संस्थामा आवद्ध सदस्यहरुले प्रत्येक बर्ष कमसेकम एकपटक एक दिन को कमाई र अरु बढी सहयोग गर्न चाहेमा अरु थप सहयोग पनि गर्न सकिने हुनु पर्यो । त्यस्तै संस्था विशुद्ध राजनिती प्रभावबाट मुक्त संस्था बन्नु पर्यो जसले मुख्यरुपमा सामाजिक सेवामा काम गर्न सदस्यबाट संकलित आर्थिक सहयोगको साथै अन्य दातृ संस्था , सरकारी निकाय र व्यक्तीहरु बाट प्राप्त आर्थिक एवं भौतिक सहयोगको उपयोग गर्दै समाजमा पुर्याउनु पर्ने अत्यावश्यक सामाजिक सेवाहरु शिक्षा, स्वास्थ्य , खानेपानी, सरसफाई , सडक, खेलकुद लगायत क्षेत्रमा सहयोग गर्ने र त्यस्तो सहयोग गर्दा निश्चित लक्ष्य सहित परियोजना निर्माण गरि प्रत्यक्ष संस्थाको निगरानीमा काम गर्नु पर्ने हुन्छ । त्यस्तै संकलित कोषको केही प्रतिशत अक्षय कोष स्थापना गरि उक्त कोषको रकमलाई भरपर्दो बैक-विक्तिय संस्था वा सहकारी संस्थामा खाता खोली निश्चित ब्याज आउने गरि लगानी गर्नुपर्छ । त्यस्तै आवस्यकता अनुसार सामाजिक चेतना फैलाउने कामका अतिरिक्त व्यवसायीक अल्पकालीन सिपमुलक तालीम , स्वरोज़गार सृजना गर्ने तालीम र वर्कसप तथा अभिमुखीकरण कक्षा संचालन गर्ने समेत गर्नु पर्दछ । त्यस्तै संस्था आर्थिक रुपमा सबल हुँदै गएमा थप आर्थिक आय आर्जन र कोषको विस्तार गर्नको लागी अन्य आय-आर्जन हुने कामहरु जस्तै बैक तथा विक्तिय संस्था, व्यवसायिक संस्था , आयआर्जन सम्बन्धी व्यवसायीक कृषि कार्य समेत गर्न सकिन्छ जसबाट थप हुन आएको आम्दानीलाई पुन सामाजिक सेवाको क्षेत्रमै प्रवाहित गर्न सकिन्छ ।
यसै सन्दर्भमा यस्तै प्रयास स्वरुप छलफलमा जुटिएको एक संस्थाको भविश्यमा गरिने कामको मार्गचित्र र प्राम्भिक कार्य जुन संस्था स्थापनार्थ गर्नु पर्ने हुन्छ त्यसबारे मोटामोटी तय गरिएको खाँका यहाँ प्रस्तुत गरिएको छ । जुन उदाहरणको रुपमा व्यक्त गरिएको छ, जसलाई अन्य क्षेत्र वा स्थानका व्यक्तीहरुले पनि अनुसरण गर्न सक्ने छन् ।
यस नारायणस्थान, बलेवा बाग्लुङ मा बस्ने स्वदेश तथा विदेशमा रहनु हुने आम महानुभावहरुलाई यस गाउँको हरेक सामाजिक सेवाहरुलाई सुविधायुक्त र स्तरिय बनाउनको लागी सबैलाई एक शुत्रमा बाँधेर अगाडी बढ्नको लागी एउटा अविच्छिन्न उत्तराधिकारी गैर सरकारी समाजिक संस्था स्थापना गर्ने खोजिएको छ । जसले मुलत शैक्षिक क्षेत्रको आधुनिक विकासलाई प्राथामिकता दिने साथै जनस्तरमा भरपर्दो स्वास्थ्य सेवा पुर्याउन र अन्य सामाजिक सेवाहरुलाई पनि सबै गाउँबासीहरुको पहुँच र सर्वसुलभता कायम गराउन ठोस प्रयास गर्ने, जुन कामलाई सबैले देख्ने गरि परिमाण र परिणाममुखी बनाउनको लागी प्रयत्नशील रहने ।
यसरी निर्माण हुने संस्थामा सकभर सबै नारायणस्थानवासीको घरधुरी र व्यक्तीहरु नछुटाई सबैलाई साधारण सदस्य वितरण गरेर निश्चित संजालमा आवद्ध गर्दै संस्थामा समाहित गर्ने र सबैलाई सामाजिक उत्तरदायित्व र आपनत्तोको भावना अभिवृद्धी गर्ने । यसलाई मुलरुपमा आफैमा समर्थवान संस्था बनाएर यही संस्थाको मातहतमा र अनुगमनमा सामाजिक सेवाहरुमा सहयोग र परियोजनाहरु संचालन गर्ने( यहाँ कुनै पनि निश्चित कार्य पक्षलाई परियोजना भन्ने बुझिनेछ) यस्तो काम गर्दा सदस्यहरुबाट उठाईने बार्षिक सहयोग र सरकारी अनुदान, अन्य दातृसंस्थाहरु , सामाजिक संस्थाहरु र व्यक्तीहरुबाट प्राप्त हुन आउने सहयोगलाई समेत परिचालन गरिने छ । संस्थाको आर्थिक आम्दानी र अार्थिक गतिविधीलाई दिगो राख्न बार्षिक रुपमा कम्तीमा पनि एक दिनको कमाईलाई अनिवार्य गरिनेछ र थप सहयोग गर्न चाहनेहरुबाट प्राप्त थप रकम सहर्ष स्वीकार गरिनेछ । यसरी जम्मा हुन आएको आर्थिक सहयोगको रकमबाट बनेको कोष ( Cash Fund) मध्ये निश्चित प्रतिशत अक्षयकोष को रुपमा विकास गरिदै लगिने छ ।
मुलभुत रुपमा यस संस्थाबाट यस प्रकार कार्य अगाडी बढाउने सोच बनाईएको छ :
१) स्वदेश तथा विदेशमा रहने सबै व्यक्तीहरु -स्वरोजगार वा रोजगारमा संलग्न व्यक्तीहरु, व्यवसायीहरु, व्यापारीहरु, किसानहरु, मजदुरहरु, विभिन्न पेशामा आवद्ध व्यक्तीहरु लगायत सबै व्यक्तीहरुलाई शुरुमा निश्चित संजालमा जोडिने वा समुहमा आवद्ध गरिनेछ ।
२) यसरी सहभागी व्यक्तीहरु मध्ये निश्चित व्यक्तिहरुलाई सबैलाई समेट्न गरि संस्था स्थापना र संचालानार्थ कार्यसमिति गठन गरिने छ जसमा स्वदेश तथा विदेशमा रहनु हुनेहरुको संलग्नता रहनेछ र त्यस मध्ये पनि स्वदेशमा रहनु हुनेलाई संस्था दर्ता लगायतका काम गर्न विधान बनाउने देखि कानुनी प्रकृया पुरा गरी संस्थाको दर्ता गराउने जिम्मा दिईनेछ ।
३) यस संस्थामा सबैलाई शुरुमा सहभागी बनाउन सदस्यता शुल्क सहित संस्थाको साधारण सदस्य बनाईने र आवस्यकता अनुसार विधानले तोके अनुसार सदस्यहरुका प्रकारहरु पनि तय गरिने छ ।
४) यो संस्था विशुद्ध सामाजिक संस्था र राजनीतिबाट कुनै प्रभाव नपर्ने संस्थाको रुपमा विकसित गरिने छ ।
५) यो संस्थामा आबद्द सदस्यहरुले जीवनकाल र आयआर्जन गर्न सक्ने वेला सम्म कम्तीमा बर्षको एकपटक कम्तीमा पनि एकदिनको आम्दानी संस्थाको कोषमा जम्मा गर्ने प्रतिबद्धता जाहेर गर्नु पर्ने छ ।
६) यो संस्थाले शैक्षिक विकास विना समाज परिवर्तन गर्न सकिदैन भन्ने मान्यता राखी पहिलो प्राथमिकतामा शिक्षालाई जोड दिएर काम गर्ने छ जस अन्तर्गत गाउँमा रहेको सबै स्कुलहरुलाई समान हैसियतको शिक्षाको स्तर र भौतिक सुविधाहरु एवं शैक्षिक गुणस्तर कायम गर्न निश्चित योजना बनाएर कार्यान्वयन गर्ने छ र यसै संस्थाको पुर्ण निगरानीमा काम संचालन गरि आवस्यक काम सम्पादन पश्चात स्कुललाई हस्तान्तरण गरिनेछ र स्कुलले उपलब्ध सेवा-सुविधालाई उचितरुपमा संचालन नगरेको ठहर गरिएमा आउँदा दिनहरुमा त्यस्तै कामका लागी आवस्यक आर्थिक सहयोग पाउनबाट वंचित गरिनेछ । साथै उच्च शिक्षा र कलेज तहको शिक्षालाई समेत विकास गर्न आवस्यक सहयोग गरिनेछ । त्यस्तै एउटा सार्वजनिक पुस्तकालय गाविस मा पायक पर्ने स्थानमा स्थापना गर्न सक्दो पहल गर्ने र त्यसलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्न सकिनेछ यसका लागी दातृसंस्थाहरु को सहयोग र स्वयं संस्थाको पनि लगानी बाट निर्माण गरिनेछ ।
७) शैक्षिक क्षेत्र पछि अर्को महत्वपुर्ण क्षेत्र स्वास्थ्य सेवालाई भरपर्दो र सबैको सर्वसुलभता र सामान्य स्वास्थ्य सेवा गाउँमै उपलव्ध हुने वातावरण सृजना गर्न अस्पतालको निर्माण र एम्बुलेन्स सेवाहरु साथै सामान्य चिरफार , एक्स रे र हात-खुट्टा फ्याक्चर हुँदा प्लास्टर सम्म गर्ने सुविधा गाउँकै स्वास्थ्य केन्द्रमा उपलब्ध गराउन आवस्यक बजेट विनियोजन गरि सरकारी निकाय र अन्य सहयोगी संस्था र व्यक्तीको सहयोग जुटाउन सकृयरुपमा लागिने छ र कार्यान्वयन गरिने छ ।
८) अन्य सामाजिक सेवाहरु जस्तै -खानेपानी , सरसफाई , पोषण कार्यक्रम , सडक, विद्युत-टेलिफोनसेवा साथै खेलकुद विकास , असहाय बालबालिका, असहाय वृद्धहरुको संरक्षणमा सहयोग गरिने छ । त्यस्तै स्वरोजगार र व्यवसायिक आयआर्जन सम्बन्धी तालीमहरु संचालन गरि युवाहरुलाई मुलुक भित्रै जिविका उपार्जनको बाटो देखाउन सहयोग पुर्याईने छ ।
९) समग्र गाउँको गुरुयोजना बनाएर काम गर्न पहल गरिने छ जसको लागी गाविस कार्यालय वा गाउँ परिषदमा उक्त योजना पास गराएर आपसमा समन्वय गरेर कार्यक्रम गरिने छ । आपसमा कार्यक्रमहरु नजुधाई सम्पादन गर्न समन्वयकारी भुमिका खेलिने छ ।
१०) गुरुयोजना अन्तर्गत नै सबै क्षेत्रका क्षेत्रगत योजना तर्जुमा गरेर कार्यान्वयन गरिने छ ।
११) यस संस्थालाई यस्तो सामाजिक संस्थाको रुपमा विकास गरिने छ जसलाई सरकारी निकाय , योजना आयोग, अन्य ग़ैरसरकारी संस्था, दातृसंस्थाहरु , व्यक्तीगत दाताहरुले समेत सहयोग गर्न सकुन र सहयोग माग्न सकियोस् । यस किसिमको सामाजिक अभियान्ता संस्थाको रुपमा विकास गरिने छ ।
१२ ) धवलागिरी अंचलको पर्यटन प्रवर्धन गर्न महत्वपुर्ण टेवा पुर्याउने बर्षौ देखि वेवारिसे बलेवा एर्पोर्टलाई पुन संचालन गर्ने सम्बन्धमा सम्बन्धीत निकायमा आवाज पुर्याउन र आवस्यक प्रकृया थालनीमा यो संस्थाले अगुवाको काम गर्ने छ ।
१३ ) यो संस्थाको कार्यक्रम र आम्दानी , खर्च र योजना कार्यान्वयन र उपलवधीलाई सबैले हेर्न मिल्ने गरि सामाजिक संजालको पेज वा वेबसाईट मा राख्ने व्यवस्था गरिनेछ ।
१४) विदेशमा बस्नेहरुको सहयोगलाई छिटो-छरितो र कम खर्चमा नेपाल गाउँमा पुर्याउन अर्थात् संस्थाको खातामा जम्मा गर्न सजिलो बनाउन आवस्यक विद्युतिय माध्यम जस्तै PayPal लगायत सुविधा उपलब्ध गराउने व्यवस्थालाई समेत लागु गरिने छ ।
१५) व्यापाकरुपमा काम गर्न सकिने र व्यापक सहभागिता गराउन मिल्ने विधान तर्जुमा गरेर , संस्थालाई स्थापना र संचालन गरिने छ ।
१६) तत्कालै संस्था स्थापनाको लागी कार्यसमिति गठन गर्ने र सोही कार्यसमितिले तोकिएको समय सम्म संस्थालाई व्यवस्थापनको काम गर्ने जिम्मेवारी तोकिने छ ।
१७) संस्थाको दैनिक कागजी कामकार्वाही र लेखा सम्बन्धी काम गर्न कार्यालय स्थापना गरेर कर्मचारीहरुको व्यवस्था समेत गर्न सकिने छ ।
१८) यदी भविस्यमा कोषको प्रचुर विकास हुनसकेमा कुनै आर्थिक लाभ गर्न सकिने बैक विक्तिय संस्था, सहकारी लगायत संस्थाहरु स्थापना गरि नियमित आम्दानी गरि उक्त आम्दानीलाई समेत सामाजिक सेवाकै काममा लगाउन सकिने छ ।
१९) कार्य समितीले नै आवस्यक काम -कार्वाही अगाडी बढाएर काम गर्ने छ ।
यो माथी उल्लेखित बुँदागत कुराहरु एउटा सामाजिक अभियान संचालन गर्ने सन्दर्भमा संचालन गरिएको गुरुप च्याटमा प्रस्तुत ड्राफ्ट हो र यो कुराकानीले संस्थागतरुप छिट्टै लिदै पनि छ । यस्तै किसिमबाट र अरु तरिकाहरुबाट समेत सबैलाई आपसमा सम्बन्ध स्थापित गरेर जनस्तरबाट सामाजिक सेवा सम्बन्धी काम गर्न सकिन्छ । आफु जहाँ जस्तो अवस्थामा रहेपनि आफु जन्मेको माटोलाई संझनु पर्दछ भन्ने अभिप्रायबाट नै यस्ता सामाजिक कामहरु गर्न सकिन्छ । सानै तहबाटै आ-आफ्नो ठाउँमा यस किसिमको अभियान चलाउन सके समग्ररुपमा गाउँ, शहरहरुमा सामाजिक सेवाहरुको विकास गर्न सरकारकै पुरा मुख ताक्नु पर्दैन ।
अन्तमा यस्ता सामाजिक क्षेत्रको विकास गर्न सबैले आफ्नो स्तरबाट अभियान चलाउनु अवस्यक छ । जन्मभुमिको विकासलाई टेवा नपुर्याई आफ्नो व्यक्तिगत विकासलाई मात्र ध्यान दिनु पनि कति हद सम्म ठिक बेठीक आफै मुल्यांकन गरौ तर एउटा कुरा याद राखौ आफ्नो माटोको सुगन्ध सधै उत्तम हुन्छ । यसको संरक्षण र विकासमा सबै जुटौ ।

हाल:बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका

प्रतिक्रिया दिनुहोस्