वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा; आन्दोलनका कारण राष्ट्रिय खोप कार्यक्रम प्रभावित

        यज्ञ नेपाल   |   प्रकाशित मितिः सोमवार, फाल्गुन २, २०७३     ::: 1809 पटक पढिएको   |  

संयोजक बिष्णु प्रसाद ज्ञवाली बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बिरोध पत्र बुझाउदै ।

गुलरिया, बर्दिया ।
स्वास्थ्य सेवा ऐनमा रहेको धारा ९(ख) को कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिए पछि बालबालिकालाई खुवाउने राष्ट्रिय खोप कार्यक्रम प्रभावित भएको छ ।
स्वास्थ्य सेवा अन्तरगतको सि.अहेव छैठौं तहमा विशेष पदस्थापन भएका स्वास्थ्यकर्मीहरुको पदस्थापनका लागि स्वास्थ्य सेवा ऐनको धारा ९ ख कार्यान्वयन गर्नका लागि केन्द्रिय स्तरका ट्रेड युनियन र स्वास्थ्य मन्त्रालयविच पटक पटक भएका सम्झौता कार्यान्वयन नभएपछि वाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल स्वास्थ्यकर्मी संघ, बर्दियाका अध्यक्ष एवम संघर्ष समितिका संयोजक विष्णु प्रसाद ज्ञवालीले बताउनु भयो ।
आन्दोेलनका कार्यक्रम अन्र्तगत हिजो आन्दोलनमा सहभागी बर्दिया जिल्लामा क्रियाशिल पेशागत संगठनका पदाधिकारी एवम् सदस्यहरुको उपस्थितीमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मार्फत नेपाल सरकार समक्ष माग तथा विरोध पत्र पेश गरिएको संयोजक ज्ञवालीले बताउनु भयो ।
साथै बर्दिया जिल्लामा क्रियाशिल ४ वटै पेशागत संगठनका प्रमुखहरुले संयुक्त प्रेश विज्ञप्ती प्रकाशित गरि माग सम्वोधन नभएसम्म सरकारले संचालन गर्ने स्वास्थ्य सम्वन्धि राष्ट्रिय अभियान तथा तालिम गोष्ठीमा सहभागी नहुने,प्रतिवेदन पेश नगर्ने र आन्दोलनका थप कार्यक्रम अगाडी वढाउने चेतावनी दिएका छन् ।
यसरी बर्दिया जिल्ला सहित देशभरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिए पछि देशवाट पोलियो रोग उन्मुलन गर्ने लक्ष्यका साथ यहि फागुन ७ र ८ गतेका तय गरिएको पोलियो खुवाउने कार्यक्रम प्रभावित हुने भएको छ ।
स्वास्थ्य सेवा विभागले यहि फागुन ७ र ८ गते वांके, बर्दिया, कैलाली सहित तराईका १२ जिल्ला र उपत्यकाका ३ जिल्लाका ५ वर्ष मूनिका १६ लाख ९२ हजार ३ सय १५ वालवालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम तय गरेकोमा प्राविधिक कारणले उक्त कार्यक्रम स्थगित गरिएको र नयां मिति पछि सार्वजनिक हुने वालस्वास्थ्य महाशाखाका निर्देशक डा.विकास लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: