वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

खजुरा महोत्सबमा दर्शकको मुख्य आकर्षण- थारु परिकार

        भगतराम थारु   |   प्रकाशित मिति: बिहिबार, माघ २०, २०७३ ।    

नेपालगन्ज | 
बाँकेको खजुरामा जारी महोत्सवमा दर्शकहरुको मुख्य आकर्षणको केन्द्र विन्दुका रुपमा थारु गाउँ र थारु खाने कुराका परिकार बनेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेपनि थारु गाउँमा दर्शकहरुको आकर्षण बढेको प्रत्यक्षदर्शीहरु बताउछन् ।
माघ १० गतेदेखि जारी रहेको प्रथम खजुरा महोत्सवमा थारु गाउँमा रहेको थारु परिकारको स्वाद लिन दर्शकको भरिभराउ छ । महोत्सवको मुख्य कार्यक्रम स्थलको उत्तरतिर रहेको थारु गाउँमा ७ वटा थारु गाउँका स्टल रहेका छन् । ७ वटा स्टलमै थारु परिकारका स्वाद लिन ग्राहकले भरिभराउ छ ।
महोत्सवमा थारु गाउँ समेत रहेको सुनेपछि बर्दियादेखि महोत्सव हेर्न बाँकेको खजुरा आएका बर्दिया बबई नगरपालिका ७ मिचैयाका हरिप्रसाद थारुले बताए । थारु परिकारको स्वाद लिन बेग्लै मजा हुने भएको कारण बर्दियादेखि आएको उनले बताए । थारु परिकारका स्वाद लिन चार्ड पर्व धाउन पर्ने हुन्छ ।


चार्डपर्व पनि सकियो र महोत्सवमा थारु गाउँ सुनेपछि थारु परिकारको स्वाद लिन यहाँसम्म आएको उनको भनाई थियो । थारुसंग ३ जना साथीहरु समेत रहेका छन् । एक्लै जानुभन्दा साथीहरुसंग रमाइलो समेत गर्ने हिसावले महोत्सव आएको उनीहरुको भनाई छ । महोत्सवमा थारु परिकारको स्वाद लिन बर्दिया, बाँके, सुर्खेत, दाङ, कैलाली सम्मको ग्राहक आउने गरेको जिवन युना रिसोर्ट एण्ड कटेजका संचालक रिमा चौधरीले बताइन ।
पसलको अगाडि उभिने वित्तिकै रिसोर्ट भित्र पस्न मन लाग्ने खाले थारु परिकार राखिएको छ एक प्रत्यक्षदर्शीले बताए । मुखै रसाउने गरि राखिएको परिकार भित्र पसेर खाना पाए कस्तो होला भन्न समेत भन्दै हिडने गरेको कटेजका संचालकले बताए । परिकार चाखाउन भ्याइ नभ्याई भएको संचालक चौधरीले बताइन । ५ जना स्टाप रहेको रिसोर्टमा ५ जनाकै हात खाली हुन्न उनले भनिन । दैनिक १० हजार सम्मको विक्री हुने गरेको छ ।


महोत्सवकै आकर्षणको रुपमा रहेको थारु गाउँमा बंगुरको मासु , घोघी, माछा, लोकल कुखुराको मासु, परेवा, गगता, झिगा माछा, विभिन्न प्रकारका छ्याङ लगायतका परिकारको स्वाद लिन दर्शकहरुको घुइचो लाग्ने गरेको अर्का सपना होटलका संचालक विक्की चौधरीले बताए । बोल्ने समेत फुर्सद हुदैन सवैलाई खान हतार भएकै हुन्छ उनले भने, ‘कति जनाको त हिसाव समेत गर्न पाउदैनौ यस्तो भिड हुन्छ ।’
कति मेहनतका साथ थारु परिकारको जोहो गरेर परिकार बनाएका हुन्छांै त्यसमा पनि भीडले को कति के खायो भन्ने थाहै हुदैन उनले भने । हरेक थारु परिकारको स्वाद लिन हाप प्लेटको ८० रुपैयामा विक्री गरिरहेका छौं संचालक चौधरीले बताए । ढिक्री पीसको ५ रुपैया लिएका छौं । पसल अगाडि आउने वित्तिकै दर्शकको परिकार देखेर मुखै रसाउने गर्छन ।
थारु समुदायको परिकार समेत लोप हुदै गएको भन्दै कैलालीबाट महोत्सवमा थारु परिकारको स्वाद दिलाउन प्रेमकुमारी चौधरी खजुरा आएको बताइन । बर्दियाको गुलरियामा थारु महोत्सव लगाएर खजुरा आएको र अव बाँकेकै कोहलपुरमा पुग्ने उनको भनाई छ । खजुरा महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने गरेको छ । महोत्सवमा बोटिङग, पिङ, मौतका कुवा लगायत विभिन्न स्टलहरु समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: