वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

बाँके र बर्दियामा ८५ जना नयाँ कुष्ठ रोगी भेटिए, कुष्टरोग निवारण अभियान चल्दै

        भावुक योगी   |   प्रकाशित मितिः बिहिबार, माघ १३, २०७३     ::: 562 पटक पढिएको   |  

बर्दिया ।
बाँके र बर्दियामा ८५ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । कुष्ठ रोग निवारणका लागि संचालित अभियान अन्तर्गत बाँकेमा मंगलवार सम्म ३० र बर्दियामा बुधवार सम्म ५५ गरी ८५ जना नयाँ कुष्ठरोगी फेला परेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले जानकारी दिनुभयो ।
कुष्ठरोगीको सङ्ख्या बढेपछि निवारणका लागि बाँके र बर्दियामा माघ १० देखि पाँच दिने अभियान सुरु भएको छ । बाँके सबै भन्दा धेरै कुष्ठरोगी भएको जिल्ला हो । धनुषा र बर्दिया जिल्ला पनि धेरै कुष्ठरोगी छन् ।
बाँके र बर्दियामा संचालित विशेष कार्यक्रम अन्तर्गत झण्डै तीनसय नयाँ बिरामी फेला पर्ने अनुमान गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशक जोशीले बताउनुभयो ।
नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि अहिले पनि बाँके, बर्दिया लगायतका १८ जिल्लामा धेरै कुष्ठरोगी पाइएको छ ।
कुष्ठरोग निवारण अभियान अन्तर्गत घरदैलो र विद्यालय केन्द्रीत कार्यक्रम गरी नयाँ बिरामी खोज्ने कार्यलाई प्राथमिकता दिइएको जानकारी दिँदै क्षेत्रीय स्वास्थ्य निर्देशक डा. जोशीले भन्नुभयो, ‘निवारणका लागि सरकारीस्तरबाट पनि धेरै काम तीब्र गतिमा गर्नुपर्ने छ । मध्यपश्चिममा गएको आर्थिक वर्षमा ४६८ जना कुष्ठरोगका नयाँ बिरामी भेटिएका थिए ।
सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठ रोगी खोज्न सुरू गरेको छ ।
कुष्ठरोगी सबैभन्दा बढी भएको बाँके र तेस्रो नम्बरमा रहेको बर्दियाबाट उपचारमा नआएका कुष्ठरोगीको खोजी सोमवारदेखि सुरू गरेको हो । माघ १० गतेदेखि १४ गतेसम्म खोजी अभियान जारी रहने छ ।
महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र कुष्ठ प्रभावितको समूहले बाँके र बर्दियाका गाविस सहित नगरपालिकाको हरेक घरमा गएर कुष्ठरोगी खोजी सुरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: