वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

ठाकुरद्वारामा परम्परागत माघी मेला शुरु; दर्शनार्थीको बाक्लो घुईचो

        भावुक योगी   |   प्रकाशित मितिः शनिबार, माघ १, २०७३     ::: 2163 पटक पढिएको   |  

ठाकुरद्वारा,बर्दिया ।
माघी पर्वको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज नजिक ठाकुरद्वारामा रहेको ऐतिहासिक ठाकुरबाबा मन्दिर परिसरमा ५ दिनसम्म लाग्ने परम्परागत माघि मेला आजदेखी सुरु भएको छ । ठाकुरद्वाराको मन्दिर परिसरमा ५ दिनसम्म लाग्ने परम्परागत माघी मेलाका लागि मन्दिरलाई झकिझकाउ सजाईएको छ ।


चार वर्ष अघिदेखि मन्दिर परिसर भित्रै नुहाउने कुण्डको समेत व्यवस्था मिलाईएको छ । माघे संक्रान्तिको अघिल्लो दिनदेखि पाँच दिनसम्म लाग्ने परम्परागत माघी मेलामा दाङ्ग, बांके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ भक्तजन आउने गर्छन् ।
ठाकुरबाबा मन्दिर ३ सय बर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मूर्ति फेला परेको र उचाल्न नसकेपछि त्यहीँ राखिएको धार्मिक किम्बदन्ती रहेको छ । थारु समुदायका महन्त पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती छ । थारु समुदायले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताइन्छ ।

धेरै वर्षसम्म सानो झुपडीके रुपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुने खतराबाट जोगाउन झण्डै ४५ वर्ष अघि पञ्चायतकालमा स्थानीय बासिन्दाको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुनर्निर्माण गरिएको बताइन्छ ।

भुरीगाँउ बजार नजिक पुर्व पश्चिम राजमार्गको अम्रेनी देखि १३ किलोमिटर दक्षिण तफ, भुरीगाँउ देखि नेउलापुर गोदाना गाँउ हुँदै ९ किलोमिटर दक्षिण तर्फ र सदरमुकाम गुलरिया देखि ४० किलोमिटर पश्चिम तर्फ ऐतिहासिक ठाकुरबाबा मन्दिर रहेको छ ।

थारु समुदायको परम्परागत चलन

‘माघ लहाईली सुरीक सिकार खैलि रे हाँ, सखिय हो माघक पिली गुरी गुरी जाँड’ अर्थात माघमा नुहाउने संगुरको मासुका परिकार खाने, साथी हो, माघमा पिउँला मिठो मिठो जाँड । यस्तै मघौटा, हुरदंगवा, सखिया गीतमा नाचगान गर्ने, माघे संक्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिका खाने र माघी नुहाउने थारु समुदायमा परम्परागत चलन छ ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायको माघी पर्व सुरु भइसकेको छ । यो पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा समेत लिने गर्दछन् । तर पछिल्लो समय माघे संक्रान्तिमा नाचगान गर्ने परम्परा हराउँदै गएको छ ।
थारु समुदायमा मनाईने माघी पर्वमा खोला र नदीमा माछा मार्ने, जिता मार्ने (सुँगुर बंगुर मार्ने), नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाईने ढिक्री लगायतका परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन हुन्छ । माघे संक्रान्तिका दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन छ ।
थारु जातिको बाहुल्यता रहेको पश्चिम तराईका दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत भेगमा माघे संक्रान्तिका दिनलाई थारु समुदायहरुले ठूलो चाडका रुपमा मनाउने गर्दछन् । उनीहरुले माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा पनि लिने गर्छन ।
माघी पर्वसँगै खेतबारी अधिया बटैँया लगाउने, गाउँको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि अझै कायमै छ । माघे संक्रान्तिसँगै अर्काको घरमा कमलर, कमलरी, कमैया राख्ने परम्परा भने हटिसकेको छ ।
दैलेख, कालिकोट, मुगु, जुम्ला लगायतका जिल्लाबाट आएर बर्दियाका विभिन्न गाउँमा बसोबास गर्नेहरुले पहाडी क्षेत्रको मेलामा गाईने देउडा गीत गाएर पनि माघी मेलालाई थप रमाईलो बनाउन थालेका छन् । माघी मेला परिसरमा यस वर्ष २ गते देउडा कार्यक्रम रहेको डेउडा संयोजक शंकर बहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: