वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

उत्कृष्ट पर्यटकिय गन्तव्य बन्दै बर्दियाको सत्खलुवा ताल; खैरेनीमा होमस्टे

::बर्दियाको मुख्य पर्यटकिय क्षेत्र::

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः शुक्रबार, पुस २२, २०७३     ::: 4461 पटक पढिएको   |  


धधवार, बर्दिया ।
नेपालकै बढी अन्न फल्ने अन्न भन्डार, थारु बहुल, जातीय विविधता र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । धान र तोरी मनग्गे फल्ने फाँटहरु, वनजंगल, जीवजन्तु, नदी, तालहरुले जो कोहीलाई लोभ्याउँछ । बर्दियामा बर्हैया ताल लगायतका विभिन्न तालको उचित संरक्षण र प्रचार प्रसार हुन सकेको छैन । धधवार गाविसको वडा नम्बर ६ खैरेनीमा पर्ने सत्खलुवा तालको भने पछिल्लो समय स्थानीय बासिन्दाले संरक्षण र प्रचारप्रसारमा जोड दिन थालेका छन् ।

सत्खलुवा ताल संरक्षणमा युवादेखि बुढापाकासम्म लागी परेका छन् । ८३ वर्षीय धर्मदत्त ढकाल ताल संरक्षण गरे वातावरण जोगिने, जीवजन्तुको संरक्षण हुने र विभिन्न पक्षबाट हेर्दा मानवलाई फाइदा पुग्ने भएकाले संरक्षण अभियानमा लागी परेको बताउनुभयो । त्यस्तै सामाजिक सन्जाल तथा अन्य माध्यमबाट यसको प्रसारप्रसारमा लागीपर्नु भएका धधवारका एक जुझारु युवा महेन्द्र विष्टले यो विभिन्न कोणबाट अतिनै सुन्दर पर्यटकिय ताल भए पनि ओझेलमा परेकोले यसको उचित प्रसारप्रसार र संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

तस्बिर:समिर ज्ञवाली

पूर्वपश्चिम राजमार्गमा पर्ने बैदीचोकदेखी झण्डै ४ किलोमिटर पुर्वी भित्र पर्ने सत्खलुवा ताल ६० बिगाहामा फैलिएको छ । नजिकै सपदुवा र सतन्ची ताल पनि छन् । स्थानीयबासीले माछापालन र सिंचाइका लागि प्रयोग गर्दै आएको यो ताल संरक्षणका लागि उपभोक्ता समिति बनाएर दुई वर्ष यता प्रवर्धनजन्य कामहरु भैरहेका छन ।

यसअघि खुल्ला चरिचरणको रुपमा रहेको वनलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरेर स्थानीय समुदाय संरक्षणमा जुटिरहेको सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिका अध्यक्ष सुनील कुमार चापागाइँले जानकारी दिनुभयो ।

तालको महत्पूर्ण विशेषता भनेको चैत बैशाखको खडेरीका बेला बर्दिया राष्ट्रिय निकुन्जदेखि चुरे क्षेत्रका जीवजन्तुको पानी खाने ठाउँ हो । तर ताल संरक्षणका लागि अन्य सरोकारवाला निकायले खासै चासो नदिएको स्थानियहरुको गुनासो छ ।

सुर्यपटुवाको डल्लामा सामुदायिक वनमा गैँडा, बाघ संरक्षण संगै संचालन भएको यस क्षेत्रकै पहिलो जैविक मार्ग होमस्टे संचालन पछी खैरेनी गाउँमा अहिले १० वटा घरमा होमस्टे संचालन गरेका छन । ताल र पशुपंक्षी हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सजिलो होस भनेर खैरनीमा स्थानियले होमस्टे सञ्चालन गरेका हुन् । स्थानीय युवाको समुहले गाउँमा बाटोघाटो देखि ताल सम्मको सरसफाई गर्ने गरेको छ । लौवा अभियान युवासमुहका अध्यक्ष अरुणा चौधरीले आफुहरुले युवापरिचालन गरी संरक्षण अभियानलाई साथ दिइरहेको बताउनुभयो ।

थारु बाहुल्य क्षेत्र भएपनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक भेषभुषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्यु, खैजडीमा भजनदेखि देउडा सम्ममा गित गाएर मनोरञ्जन दिने गरिन्छ । जिल्लाकै दोस्रो ठूलो जैविक विविधतापुर्ण सत्खलुवा ताल नजिक बस्ने स्थानीयमा सांस्कृतिक र जातीय विविधता पाइन्छ । ताल संरक्षणसँग जोडिएका कामले ताल मात्रै होइन, थारु लगायत अन्य समुदायका संस्कृतिको संरक्षण समेत भैरहेको छ ।

ताल र आसपासमा बाघ, गैंडा, हात्ती, सालक, अजिंगर र विभिन्न जातका चार अवलोकन गर्न सकिन्छ । तर सत्खलुवा ताललाई सरकारी तबरबाट संरक्षित क्षेत्रको रुपमा अझै घोषणा नभएको स्थानिहरुले गुनासो गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष लगायतले सामान्य सहयोग गरेको बताएका छन् ।

बर्दियाको चिनारी दिने बढैया ताल, सत्खलुवा ताल, भगर ताल पश्चिम नेपाल घुम्न आउनेहरुले छुटाउनै नहुने स्थान हो । अहिले यो ताल वरिपरी दैनिक पिकनिक आउनेको घुइँचो छ । पर्यावरणिय र पर्यटकिय हिसाबले अत्यन्तै सुन्दर बर्दिया यस्ता तालको बेलैमा संरक्षण गरी सबै सामु चिनाउन सके विविधताको संरक्षण र स्थानीयको जीवनस्तर पनि माथि उकास्न सकिने संरक्षणकर्मीको जोड छ ।

प्रतिक्रिया दिनुहोस्: