वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

ठाकुरद्धारामा परम्परागत माघी मेला संचालन हुने

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः बुधबार, पुस २०, २०७३     ::: 4015 पटक पढिएको   |  

ठाकुरद्धारा, बर्दिया ।

माघे संक्रान्ति नजिकिँदै गर्दा बर्दियाको ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिर परीसरमा लाग्ने परम्परागत माघि मेलाका लागी मन्दिर व्यवस्थापन समितिले स्टल बुकिङ्ग खुल्ला गरेकोे छ ।


पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुन्ज नजिकको प्रसिद्ध धार्मिक स्थल ठाकुरद्धारामा रहेको ठाकुरबाबा मन्दिर परीसरमा लाग्ने परम्परागत माघी मेलालाई व्यवस्थीत रुपमा संचालन गर्ने उदेश्य सहित बसेको बैठकले स्टल बुकिङ्ग खुल्ला गरेकोे मन्दिर व्यवस्थापन समितीका अध्यक्ष झकप्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्टल बुकिङ्ग खुल्ला संगैँ यस वर्ष मेलामा आएका सम्पुर्ण व्यापारीका लागि जेनेरेटरको सहायताबाट रातीमा बत्तीको सुबिधा समेत प्रदान गर्ने तयारी भएको स्टल बुकिङ्ग उपसमितीका संयोजक गणेश प्रसाद आचार्यले बताउनुभयो । परम्परागत माघि मेलाका लागि ठाकुरबाबा मन्दिरलाई विभिन्न तरिकाबाट सजाउने तयारी गरीँदैछ ।

माघे संक्रान्तिको परम्परागत माघी मेला यस वर्ष पुस २८ गते वेलुका देखि माघ ६ गते सम्म संचालन हुने भएकाले मेलाका लागि मन्दिर परिसर नजिक झण्डै ३५० स्टलहरु रेखाङ्कन गर्ने तयारी गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थिका लागी बिगतका वर्षको भन्दा यस बर्ष केहि फरक अनि सहज हुने व्यवस्था गरीएको छ । स्थानिय खोलामा पानी नभएकाले मन्दिर परीसर भित्रै रहेको कुण्डमा भक्तजनहरुका लागि नुहाउने व्यवस्था मिलाउन तयारी भईरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आचार्यले बताउनुभएको छ ।

मन्दिर रहेको स्थान वरपर बस्तीको विकाससँगै धेरै पहिले देखि प्रत्येक वर्ष माघे संक्रान्ती का दिन मन्दिरमा विशेष पूजाआजा गरीने र परम्परागत माघि मेला लगाईने गरीएको पाइन्छ । प्रत्येक वर्ष माघे संक्रान्तिको अघिल्लो दिन देखि माघ ६ गते सम्म लाग्ने परम्परागत माघी मेलामा बर्दिया सहित दाङ, बांके, कैलाली, कञ्चनपुर, सुर्खेत र नजिकैको छिमेकी राष्ट्र भारतबाट समेत ठाकुरबाबा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौ श्रदालु भक्तजनहरु आउने गरेका छन ।

मन्दिरको स्थापना अभिलेख केहि नभेटीए पनी करिब ३ सय वर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मुर्ति फेला परेको र सो ठाउँबाट उचाल्न नसकेपछि सोहि ठाँउमा राखिएको धार्मिक किम्बदन्ती रहेको छ । थारु जातीको पुजारी रहेको एक मात्र यस मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती छ । थारु जातीले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको बताईन्छ ।

लामो समय सम्म सानो झुपडीको रुपमा रहेको यस मन्दिर संरक्षणको अभावले गर्दा बेलाबेलामा भत्कने र मूर्ती चोरी हुन सक्ने खतराबाट जोगाउन ४५ वर्ष अघि पन्चायतकालमा स्थानीयवासीको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुन निमार्ण गरिएको बताईन्छ ।

माघे संक्रान्तीका दिन ठाकुरबाबाको दर्शन र पुजाआजा गर्नाले मनोकामना पुरा हुने र विषेश गरी जो कोही पनि निसन्तान दम्पतिका जोडी यस मन्दिरमा आई पुजाआजा र दर्शन गरेमा वर पाईने धार्मिक जनविश्वास रहेको छ ।

माघे संक्रान्तीको बिहान १ बजे देखि नै नजिकैको खोला या तालमा नुहाई ठाकुरबाबाको दर्शन गर्न जाने र आगोको धुनीबाट बनेको खरानीको टिका लाउने प्रचलन रहीआएको छ । थारु जातिको बाहूल्यता रहेको यस क्षेत्रमा माघे संक्रान्तिका दिनलाई बिशेष गरी थारुहरुले ठुलो चार्डका रुपमा मनाउने गर्दछन भने नयां बर्षको रुपमा समेत लिने गरेको पाईन्छ ।

यो पर्वसंगै थारु जातीमा खेतबारी अधिया बटैँया लगाउने, गाँउको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनीबुजनी (पक्कापक्की) गर्ने परम्परागत चलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्