वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

अबस्ट्रयाक्ट याद [कथा]

          |   प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३     ::: 446 पटक पढिएको   |  

“पहाड कस्तो हुन्छ जीवन ? मलाई पहाड लाँदैनौं ?’

दिव्याका यस्ता प्रश्नले म आजित भइसकेको छु । पहाड कस्तो हुन्छ भनेर भन्दिउँ, म उसलाई । पहाडको रंग सोधेकी हो या पहाडिया जीवनको ? म बडो कन्फ्युज छु । पहाडको रंग त बताउन सकूला अरे । तर, पहाडिया जीवन र जीवनशैलीको रङ म उसलाई कसरी बताउन सक्थे ऊ स्वयम्ले महशुस नगरि । पहाड कुनै मुर्त चित्र पनि त होइन । लाग्छ पहाड एउटा अव्स्ट्रयाक्ट चित्र जस्तै हो । जसको म कुनै चित्रण गर्नै सक्दिन ।
मैले उसको प्रश्नलाई धेरैचोटी वेवास्ता गर्ने गरेको छु । यद्यपी उसको दोस्रो प्रश्नको उत्तर भने दिएथें कुनै दिन, ‘नआत्तेउ न दिव्या । समय आएपछि जरुर लिन्छु ।’
म आफैलाई थाहा थिएन त्यो समय कैले आउँछ । 
म पहाडको खोँचमा जन्मिएको मान्छे । पहाडका गल्छेडा छिचोल्दै गोठालो गएको मान्छे । र, पहाडकै धुलो लडीबुडी खेल्दै हुर्केको मान्छे । पहाडबाट एक थान जिन्दगी, एक थान सपना र एक थान उद्देश्य बोकेर शहर पसेको मान्छे । 
ऊ नेपालगंज शहरमा जन्मिएकी । हुन त उसका बाजे उतै सल्यानतिरबाट बसाई सरेर यता आएका रे । मलाई उसैले भनेकी । तर, ऊचाँही पहाडको भूगोल, पहाडको जीवनशैलीबाट विलकुल टाढा छ  । त्यसैले मलाई घरीघरी भनिरहन्छे –
‘पहाड कस्तो हुन्छ जीवन ?’

***
‘पहाड जान्छ्यौ दिव्या ।’ कलेजमा गर्मी विदा भएको भोलीपल्ट उसलाई सोधें । 
लामो मेहनत र प्रतिक्षापछि ठूलै सफलता हात पारेझैं निकै उत्साहित हुँदै उसले भनेकी थिई –‘वाओ रियल्ली ! कैले जान लाछौ र ?’
एक महिना लामो विदालाई उपयोग गर्न आफ्नै घरभन्दा उपयुक्त ठाउँ अन्त छदै थिएन । कमसेकम आमा र बैनीसँग सँगै हुन पाईन्थ्यो । घरायसी काममा थोरै भएपनि सहयोग हुने । सोँचे, यता बस्नुभन्दा गाउँ जानु नै ठीक !
‘उम्…. तिमी जैले तयार हुन्छौ तैले ।’ दिव्यालाई भने । 
‘उसो भए भोली नै जाम ।’
म पनि यहि चाहान्थे । जतिसक्यो छिटो छोड्नु थियो नेपालगंज । र, जतिसक्यो छिटो छोडनुथियो यहाँको उखरमाउलो गर्मी । यहाँको धुलो । यहाँको मच्छड आतंक ।
‘बाबा ममीले मान्नहुन्छ त ?’ थोरै शंका मिसाएँ । 
‘अरे यार ! उहाँहरुको चिन्ता नमान । स्योर कन्भिन्स भईसिन्छ ।’ उ ढुक्क थिई । र, भन्दै थिई, ‘बाबाममीलाई यो विषयमा मैले पहिल्यै भनिसक्या छु ।’  
‘ओके डोन !’
‘डोन !’
…..

‘दाई चारबाहिनी जाउँ न ।’ पुष्पलाल चोकबाट रिक्सा चढियो । 
खाल्टाखुल्टी र धुलैधुलो भएको बाटोमा रिक्सा बेला बेला धर्मराउँथ्यो । टाउकोमा छिर्केमिर्के गम्छा बाँधेको रिक्सावाला पसिना पुछ्थ्यो बेलाबेला । र, गुटखा चपाएर निक्लेको रातो थुक प्याच्च थुक्थ्यो सडकको बाँया किनारतिर ।  
‘ओई रिक्सा ! साला मर्न मन छ मु..?’ हामीलाई किचौंला झैं गरि हुँईकिएको गाडीको खलासीले कर्कस आवाजमा गाली गर्यो  । मन चस्स भयो । 
उसको गालीजस्तै कर्कस लाग्ने धुलो अनुहारभरी पोतियो । गाली गर्ने गाडी, गाडीकै भीडमा हरायो । सायद खलासीको गालीले रिक्सावालाको पनि रिस उठेको हुँदो हो । रिस त मेरो पनि उठेको थ्यो । तर, देखाउनु कस्लाई ? र, देखाउनु केका लागि ? 
रिक्सावाला मसिनो आवाजमा बर्बराउँदै थ्यो– ‘साला ! रिक्सावालालाई मान्छे नै लाउँदैन । मादर……!
छेउमै आएको गाडीले बजाएको ठूलो हर्नले बाँकी सुन्नै दिएन ।
‘कति रुपैयाँ भयो दाई ?’ चारवाहिनी चोकको बाँया किनारमा रिक्सा रोकिएपछि मैले सोधे । 
‘तीस रुपैयाँ दिनुस ।’

चारबाहिनी चोकबाट पश्चिम फर्किएर सडकमा कुदिरहेका गाडीबाट छेलिदै सानो सडकको मुखैमा पुगियो । सडक छेउको रुखका टुप्पा नजिकैबाट आकाशको पश्चिम किनारै किनार घाम हिँडेको बाटो बाहेक अरु देखिन्नथ्यो । 
दायाँबाँया उभिएका अग्ला रुखको बीचमा रहेको सानो कच्ची बाटो हुँदै हामी घाम हिडेको बाटोतर्फ लाग्यौं । परीक्षा नियन्त्रण कार्यालयलाई बाँया पार्दै साँघुरो बाटैबाटो आठ मिनेट पश्चिम हिडेर पाँच मिनेट दक्षिण हिडेपछि हामी हरियो रङ लगाएको एउटा दुई तले घरको अगाडी आइपुग्यौं । 
घरको अगाडीपट्टी ईट्टाले बनाएको पर्खालबीचमा एउटा गेट उभिएको थियो । थोरै निहुँरिएर हामी गेटभित्र पस्यौं । मसँग गाउँकै दीपक दाई थिए । मामा पर्नेको छोरा । दीपक दाईले नै हो मेरो नेपालगंज बसाईको चाँजोपाँचो  मिलाएको । कोठा खोज्नेदेखि कोठामा आवश्यक पर्ने सामान सबैको व्यवस्था उनले नै गरेका । 
पल्लो कोठामा टिभी बजेको आवाज आइरहेको थियो । हामी कोठाभित्र पस्यौं । कोठाको बाँयातिर उत्तर सिरान गरेको एउटा खाट । दक्षिणतिरको झ्याल नजिकै अडेस लागेको एउटा बुढो टेबुल । पश्चिमतिर ग्याँस चुल्हो राखिएको ख्याउटे टेबुल र छेउमा थचक्क बसेको भेरी ग्याँसको सिडिन्डर । अनि, चारै भित्तामा थरीथरी पोजमा टाँसिएका हिरोहिरोइनका पोष्टर । 
यो त्यही कोठा हो जहाँ, दीपक दाईले तीन वर्ष बिताएका थिए । बिएड् सकेर गाउँ गएका उनी गाउँमै भर्खर मास्टरी गर्न थालेका छन । र, यही कोठामा अब मैले बिताउनुछ, जीवनका केही वर्ष । तर, कति वर्ष भन्नेचाहीं म आफैलाई यकिन छैन । 
‘ल जीवन राम्रोसँग पढेस् ।’ मलाई नेपालगंज बसाई र पढाईको सबै चाँजोपाँजो मिलाएर दीपक दाई तीन दिनपछि घर फर्के । 
बा बिरामी हुँदा पोहोर साल एकपटक आएथे नेपालगंज । पाँच दिन भेरी हस्पिटल बसेर फर्किनु र नेपालगंजका विषयमा सुनेका सामान्य कुराबाहेक म पूरै अनभिज्ञ छु । सीधा कलेज गयो, फर्कियो । दिनभरी कोठामा बसेर पढ्यो बस् ! 
कलेज भर्ना भएको यस्तै हप्तादिनपछि ‘वेलकम प्रोग्राम’ भयो । कसैले गीत गाए । कसैले चुट्किला भने । कसैले नाँचेर देखाए । कसैले कविता सुनाए । सबैले आ–आफ्ना रचना सुनाए । मैले पनि ‘फूलजस्तै तिमी’ शिर्षकको एउटा सानो कविता सुनाएँ । स्कूल पढ्दा कविता लेख्ने कोशिस जो गरेको थें । र, यो कविता मैले स्कूलको प्रतियोगितामा भाग लिँदा प्रथम समेत भएको थ्यो ।
‘तपाईको कविता दाम्मी थ्यो ।’ नलको पानी तानेर भाँडा माझिरहेको बेला पछाडीबाट नारी आवाज आयो । 
पछाडी फर्किएँ । ‘अरे ! यो त यही घरकी छोरी हैन भन्या ? कसरी थाहा पाई आज मैले कलेजमा कविता सुनाको ?’ 
‘हो र ?’ हल्का लाज मान्दै जवाफ फर्काएँ । कसम, अपरिचत केटीसँग बोल्दा किनकिन लाज लाउदो रैछ । 
‘भाँडा माझेर मेरो कोठामा आउनु है ।’ यत्ति भनेर उ भित्र गई । 
                
‘कसरी थाहा पाउनुभो मैले कविता सुनाको ?’ कोठामा पसेको केहीबेरपछि साहस बटुलेर बडो औपचारिकतापूवर्क उसलाई सोधे । 
‘म पनि त्यै कलेजमा त हो पढ्ने ।’ आत्मविश्वासपूर्ण मधुर मुस्कान उनको अधरबाट मुहारभरी फैलियो ।
उसकोे जवाफले मलाई एकछिन सोच्न बाध्य बनायो । एउटै कलेजमा हुँदापनि मैले यादै गरेको रैनछु । कुरा हुँदै जाँदा थाहा पाएँ, हामी त एउटै कक्षामा पो पढ्दा रैछौ । तैट ! कस्तो बुद्धु म । एउटै कक्षामा पढ्नेलाई पनि याद गरेनछु । केटीतिर हेरे पो याद हुनु ! विद्यानाश् मैले केटीतिर सिधा नजरले हेर्नै सकेको थिईनँ । म त लगाम लगाको घोडा झैं थिएँ । नयाँ ठाउँ । नयाँ कलेज । नयाँ परिवेश र नयाँ मान्छेहरु । त्यसै त्यसै नर्भस भईदो रैछ ।
‘ल आजबाट हामी साथी बनुम है ?’ उसले भनि, ‘एउटै घरमा बस्ने, एउटै कलेज र एउटै कक्षामा पढ्ने हामी साथी–साथी ।’
मैले हुन्छको सहमति जनाएँ । उसले दायाँ हात अगाडी बढाई र मेरो हातलाई दह्रोसँग समाउँदै भनि ‘म दिव्या ।’
‘म जीवन ।’  यही थियो हाम्रो औपचारिक मित्रताको शुरुवात । र, सोले फिलिमको गीत मनमनै गुनगुनाएँ, ऐ दोस्ती हम नही तोडेगें….
दिनहरु वित्दै गए । समय बुढो हुँदै गयो । हाम्रो मित्रता पनि मित्रता मात्र रहेन । मित्रता प्रेमको रुपमा मौलाउन थालेको पनि धेरै भइसकेको थियो । हामी कलेज सँगै जाने, आउने मात्र होइन नोट पनि संगै बनाउन थालिसकेका थियौं । म हिसाबका अलि तगडा थिएँ, उनलाई बेलाबेला हिसाब सिकाउँथे । लाग्थ्यो, जिन्दगीको हिसाब पनि सिकाउन पाए !?
बेलाबेला दिव्यालाई जिस्काउँथे–‘ससुरालीमा पनि भाडा तिरेर बस्नु परेको छ यार !’
शनिबार छतमा बसेर नोट बनाउँदै थिएँ । एक्कासी कसैले पछाडीबाट मेरा दुवै आँखा छोपिदियो । बिस्तारै हात छामे । नरम थिए । नाडीमा छामे घडी रैछ । पक्का पनि दिव्या नै हो । यस्तो काम अरु कसैको हुन्थेन । र, मलाई दिव्याको हातको सुगन्ध थाहा हुन्थ्यो । म अभ्यस्त भैसकेको थिएँ उसको स्पर्शबाट ।
‘दिव्या ! छोडन ।’ 
आँखाबाट हात हटेपछि पछि फर्किएँ । ऊ मन्द मुस्कानसहित हाजिर थिई । उसको चिसो कपाल छातीभरी छरिएको थियो । उसको कपालबाट झरेका पानीका दुई थोपा मेरो अनुहारमै घोप्टिए । उनको रेशमी कपालबाट तप्केका पानीका केही थोपाह ओरालो झरेका  थिए छातीतर्फ । लाग्यो, म पनि यही पानीको थोपा हुन पाए !
घरमा बाआमा नभएको दिन अलि बेसी नै चल्थि ऊ मसँग । र, केही न केही उट्पाट्याङ र विठ्याई गरिरहन्थी । कहिलेकाँही नुहाएर घाममा सुकाएको अन्डरवेयर समेत लुकाइदिन्थी । कोठामा हुँदा पनि पल्लो कोठाबाट मिस्डकल गरेर हैरान पार्थी । उसका प्रत्येक हर्कतहरु मलाई प्रिय लाग्न थालिसकेका थिए । प्रिय लाग्थे ।

                                                  …..
आम्मा ! कति धेरै मिस्डकल ? 
कजेबाट फर्किदा मेरो मोबाइलमा १९ वटा मिसकल देखियो । १७ पटक त आमाको नम्बरबाट आएको रहेछ । आज बिहान अबेर उठेको हुनाले हतार हतार कलेज गएँ । मोबाइल कोठामै छुटेको थियो । यति धेरै फोन पनि आजै आउनुपर्ने ? 
‘हेलो आमा ? कता हुनुहुन्छ ?’ फोन लाग्ने बित्तिकै एकै सासमा आमालाई सोधें । 
‘यत्रो फोन गर्दा पनि नउठाउने काँ गाथिस ?’ आमाले निकै चिन्तित र हतास आवाजमा भन्नुभयो, ‘ह्याँ भेरी हस्पिटल आइज, बालाई भर्ना गरेको छ ।’
बालाई भर्ना गरेको छ ???
म कलेल ड्रेसमै हस्पिटल पुगे । 
बा ईमरजेन्सी वार्डको बेडमा आफ्नो बुढो शरीर सुस्ताइरहनुभएको थियो । बेडको छेउमा आमा झोक्राइरहनुभएको थियो । निकै थकितजस्ती देखिनुहुन्थ्यो । रोइ रोइ थाकेका जस्ता देखिन्थे आमाका आँखा । कपाल पनि अस्तव्यस्त थ्यो । 
‘ए आइपुगिस !’, आमाले बातिर हेर्दै भन्नुभयो, ‘छोरो आइपुग्यो ।’ 
बाले विस्तारै आँखा खोलेर मतिर हेर्नुभो । आँखाको कापमा पानीजस्तो केही चिज देखियो । र, विस्तारै कान भएतिर ओरालो लाग्यो । बाले आँखाको ढकनी बन्द गर्नुभो । 
आमाले पूरानो पछ्यौरीको छेउले आफ्ना आँखा पुछ्नुभो । उहाँका आँखामा पनि बाको आँखामा देखिएजस्तै पानी देखियो । बाथरुम गएर आफूलाई सम्हाले । मुख धोएँ ।  आमाको छेउमा बसेको भए मेरो हालत पनि कम हुन्थेन होला । 
परार पनि यही हस्पिटल सात दिन भर्ना गरेर बाको उपचार भएको थियो । परार बा बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो । तर, यसपाली बा बोल्न सक्ने अवस्थामा हुनुहुन्थेन । बाको चेहरा बदलिएको थियो । बिरामी भएर आएका बा हाँस्दै फर्किनुभएको थियो उबेला । 
डाक्टरले चुरोट, खैनी, सुर्ति केही पनि नखानु भनेर पठाएको थियो । तर, बाले छोड्न सक्नुभएन । जति भन्दा नि मान्नुभएन । कतिदिन भनियो यो कूलत छोड्नुस भनेर ।  
‘हेर बरु तँलाई छोडछु तर, यो चुरोट खैनी छोडदिन ।’ आमाले गाली गर्दा यस्तो हुन्थ्यो बाको जवाफ । 
बालाई हस्पिटल भर्ना गरेको पर्सिपल्टको बिहान मेरो जीवनको घाम उदाउन पाएन । र, अब चाहेर पनि कहिल्यै उदाउनेवाला थिएन । ‘सरी भाई हामीले तपाइको बुवालाई बचाउन सकेनौं ।’, डाक्टर निराजनले मलिन अनुहारमा भने, ‘फोक्सो र कलेजो नै ड्यामेज भैसक्या रैछ ।’
 मन खङग्रङ भयो । भाउन्न भएर आयो । चक्कर लाग्यो । आफ्नो वरीपरी भएका हरेर चिजहरु घुमीरहे झैं लाग्न थाल्यो । थचक्क भुईंमा बसे । चारैतिर अँध्यारो मात्र देखिन थाल्यो । आमाको हालत पनि उस्तै थियो । आमाको अनुहार हेर्न सकिन । 
अन्य बिरामीका कुरुवा र डाक्टरहरुले सम्झाउन थाले । दिव्या पनि गएकी थिई । उसले पनि सम्झाउन थाली । आमाको अगाडी कमजोर बन्नुहुन्न भन्ने लाग्यो । अब आमाको सहारा भनेको आखिर म नै थिएँ । कसो कसो मन सम्हाल्ने कोशिस गरे । मन बलियो बनाउने कोशिस गरेँं । ‘आँशुले कमजोर बनाउन छ जीवन’, दिव्या भन्थि, नरोउ केटा मान्छे त स्ट्रङ हुनुपर्छ ।’ 
सपाट अनुहारमा बा विस्तारै हाँसिरहे जस्तो देखिनुहुन्थ्यो । मान्छे मरेपछि हास्दो रहेछ । साँच्ची के सम्झेर हाँस्छन होला मरेका मान्छे ? सुर्ती र चुरोटले सखाप बनाएका ओठ र गिजाले बाको हाँसोलाई गिज्याइरहे जस्तो देखिन्थे । हस्पिटलको कोठाबाट बालाई बाहिर ल्यायौं । शव बोक्ने गाडी आइसकेको थियो । गाडीसँगै हुँइकियौं हामी पनि राप्तीकिनारतिर । 
जिन्दगीमा सोचेका सबै कुरा नहुने रहेछन । सोचेको थिइनँ, यति छिट्टै बा हामीलाई छोडेर जानुहुन्छ होला । आज मलाई उभ्भिन सिकाउने, हिड्न सिकाउने र दौडिन सिकाउने मेरा बालाई म सदाको लागि विदा गर्दै थिएँ । लागेको थिएन यति छिट्टै बाको विदा गर्नुपर्ला भनेर । उहाँको यो अस्तित्वलाई खरानीमा बदल्दै थिएँ । र, अब मसँग बाको केही बाँकी थिएन शिवाय उहाँको आर्शिवाद, फोटो र याद । 
सन्चो भएर हाँस्दै गरेका बालाई घर लिने सपना बोकेर आएकी आमा रित्तै फर्किदै हुनुहुन्थ्यो । र, रित्तै फर्किदै थिएँ म पनि । बा आउने बाटो हेरेर बसेकी बैनीको पर्खाइ व्यर्थ भयो यसपाली । 
के गर्दैछस् ? पढाई कस्तो छ ? 
आमा बेलाबेला गाउँबाट फोन गरेर मेरो स्थितीको विषयमा सोधिरहनुहुन्थ्यो । बा खसेपछि गाउँमा आमा र बहिनी मात्रै छन् । अब हाम्री आमा भनेपनि बा भनेपनि उहाँ नै त हो । बा खस्दा तीन महिना गाउँ बसेर म नेपालगंज फर्किएको हुँ । पढाई पनि बिग्रिएको थियो त्यो बेला । अहिले त राम्रै छ । अब फेरि मेरो पढाई नबिग्रियोस भनेर आमा चिन्तित हुनुहुन्छ । 
‘त्याँ शहराँ दाँया, बाँया गर्ने होइन । खुरुखुरु पढ्ने ।’, आमा भन्नुहुन्थ्यो ‘लप्पनछप्पनमा नलागेस् । झ्याम् झ्याम् बाजा ठोकेर तेरो बे गर्दिन मन छ । तेरा बाको ईच्छा पनि त्यही थियो ।’
म हस् मात्र भनिरहन्थे । तर, दिव्यासँगको सम्बन्धको विषयमा कहिल्यै केही पनि भन्दिनथे । भन्ने आँटै आउदैनथ्यो । हामीबीच हुर्किदै गरेको प्रेमको मुना र बाँचुन्जेल नछुट्टिने कसमका विषयमा मैले कहिल्यै पनि केही भन्न सकिन । मलाई विश्वास छ, कुनै न कुनै दिन आमाले मेरो कुरालाई सही मान्नुहुनेछ । मेरो खुशीलाई सही मान्नुहुनेछ । र, स्वीकार्नुहुनेछ मेरो प्रेमलाई । आखिर हरेक बाउआमाको खुशी भनेको सन्तानको खुशी त हो । सन्तानको खुशी बाहेक बाउआमाको अर्काे छुट्टै खुशी हुन्छ भन्ने मलाई लाग्दै लाग्दैन ।

                                               …..
‘तिम्लाई लाग्दैन भनेर हुन्छ ? मेरो बिचारको कुरा हो नि ।’ हपारी हाली मोरीले । ‘र, तिमी यो भ्रममा नपर कि म तिम्रो आमालाई इप्रेस गर्न यो सब गर्दैछु ।’ 
बहिनीको लागि दुई जोर कुर्ता सुरुवाल, एउटा ह्याण्ड ब्याग । आमाको लागि साडी र चोलो किनिसकेकी रैछ । अनि चार केजीजति मीठाई पनि पोको पारिछ । गाउँ जाने दिनको अघिल्लो दिनै उसले सबै तयार पारसकिछ । मलाई नै नभनेर सुटुक्क काम गरिहालिछ ।
यत्रो धेरै चिज देखेपछि मैले उसलाई जिस्काएथें, ‘के हो दिव्या आमासँग मेरो हात माग्न जान ला झैं ग¥या छौ त ? मेरो हात माग्न यो सबै गर्नुपर्छ भन्ने मलाई लाग्दैन !
बिहान साढे पाँच बजे नेपालगंजबाट गाउँको लागि बस चढियो । बच्चा जस्तो चंचल भएकी थिई दिव्या । बाटोमा अनेक कुरा सोधीरही । 
सल्लीबजार पुगुन्जेल त बाटो खासै खराब थिएन । जब सल्लीबजार छोडेर उकालो लागियो, बाटोको हविगत शुरु भो । बच्चामा वन तरुल खनेर आउँदा पनि यस्तो भएको मलाई सम्झना छैन । धुलाम्य बाटोमा गाडीजस्तै हामीपनि धुलाम्य बनिरहेका थियौं ।
गाडी नेटामा उक्लिएपछि केहीबेर सुस्तियो । सुस्तियौं हामीपनि । साँझ झमम्क परिसकेको थियो । पारी जाजरकोट सदरमुकाम खलंगामा बलेको बत्ति बाहेक अरु देखिदैनथ्यो । 
‘त्यो बत्ती बलेको कुन ठाउँ हो जीवन ?’ दिव्याले सोधी ।
‘जाजरकोट खलंगा ।’ मेरो जवाफले आश्चार्य मानेझैं भनि, ‘ओ ! त्यहाँ हो जाजरकोट भनेको ?’
गाडी हिड्न थाल्यो । मेरो मन दौडिन थाल्यो । कतिखेर घर पुगम्ला झैं भईरहेथ्यो । 
‘थाहा छ दिव्या, अबको सवा घण्टा जतिमा हाम्रो घर पुगिन्छ ।’ 
‘वाउ ! हो र ?’ ऊ निकै उत्साहित देखिई ।
बाटोभरी उसले यहाँको धुलाम्य बाटोको विषयमा गुनासो गरिरही । बत्ति नपुगेको विषयमा गुनासो गरिरही । नेता र सरकारलाई गाली गरिरही । 
‘ओहो ! तिमी त नेता नै हुने खालको मान्छे रहेछौं !’, जिस्काएँ उसलाई । 
‘चुप लाग ।’, अलि थर्काउने शैलीमा भनि, ‘कैले पुग्ला है यो ठाउँमा बत्ती ?’ 
‘पुग्नु र नपुग्नुमा के नै फरक छ र दिव्या ? बत्ती पुगेको ठाउँ पनि १८ घण्टा लोडसेडिङ हुन्छ ।’ 
‘त्यैपनि विद्युत पुग्यो भने धेरै कुराको विकास गर्न सजिलो हुन्छ नि लाटा ! जहाँ बाटो पुग्दैन, जहाँ विद्युत पुग्दैन त्यहाँका जनताको जीवनस्तर कहिल्यै माथि उठ्दैन ।’ उसको तर्क ।
‘त्यो त हो !’ मेरो समर्थन भाव ।
घ्याच्च गाडी रोकियो । अगाडी कसैले ठूलो ढुङगा राख्या रैछ । गाडीको सहयोगी रिसले मुर्मुरिदै झ¥यो । ढुङगा पन्छायो । 
मलाई मेरो विगतले सम्झियो । मैले केही वर्ष पहिले यही बाटोमा आफ्ना पसिना बगाएको थिएँ । रगत बगेको थियो यही बाटोमा । यहाँ बाटो खन्ने काम हुँदैछ भनेर गाउँका धेरै मान्छे आएका थिए । र, आएका थियौं बा र मपनि । मलाई बाको झल्झली याद आयो । 
‘बाटो त खनियो ठेक्दारसाब ! यही बाटोमा गाडी चढ्न पाइने हो कि नाई ?’ बाले उबेला ठेकेदारसँग गरेको संवाद सम्झिएँ । 
बाटो खन्नेबेला गैटीले मेरो खुट्टामा चोट लाग्दा बाले झूलो टाँसेर लगाइदिएको सम्झिएँ । जुन बाटो बन्नुमा मेरा बाको पनि रगत र पसिना बगेको छ । त्यही बाटोमा बाले गाडी चढ्न पाउनु भएन । आज सर्र यही बाटोमा गाडी चढ्न पाको भए कस्तो आनन्द लाग्दो हो बालाई ! बिरामी हुँदा पनि जाजरकोटको बाटो लिएका थियौं । किनकी बर्षातमा यो बाटो चल्दैनथ्यो । 
‘थाहा छ दिव्या यो बाटो खन्दा मैले पनि काम गरेको छु नि ?’ केहीबेरको मौनतापछि उसलाई भने । 
उसले अचम्म मान्दै हेरी, ‘यहाँ आएको तिमी बाटो बनाउन ?’ 
‘हो, दिनभर काम गरेको एक सय १० रुपैयाँ पाउँथे । कहाँ कहाँ पुगिएन बाटो बनाउन । तर, आफ्नै जीवनको बाटो भने कहाँ गएर बन्ने हो थाहा छैन । र, यस्तै धुलाम्य हुने हो या सफा ? केही थाहा छैन दिव्या ।’ थोरै साहित्य मिसाउने टोपलिएँ । 
कसोकसो म भावुक बनिसक्या रैछु । किन भनेर दिव्याले सोध्दा मैले माथीको कुरा भनिदिएँ । 
ऊ मौन रही निकैबेरसम्म ।

                                                      …..
केही त बोल दिव्या ! निकैबेरदेखि मौन रहेकी उसलाई बोलाएँ । 
हाम्रो घरमा आएदेखि ऊ निकै चंगा भएकी थिई । आमा र बहिनीको प्रिय मान्छे भैसकेकि थिई ऊ । यस्तो लाग्थ्यो ऊ हराएर वर्षाैंपछि भेटिएकी हाम्रै घरकी सदस्य थिई । मेरो घरलाई पृष्ठभूमीमा पारेर सेल्फी खिचेको फोटो फेसबुकमा राखेको त आएको भोलीपल्टैको बिहान हो । यो पाँच दिने बसाईमा ऊ निकै रमाएकी थिई । मैले ऊ यति धेरै चंगा र चञ्चल भएको यसभन्दा अघि कहिल्यै देखेको थिईन । निकै फरासिली देखिएकी थिई ऊ ।
‘म जिन्दगीभर यहीँ बस्न चाहान्छु जीवन’, उसले हिजोमात्र भनेकी थिई । 
‘तथास्तु !’ मैले जिस्काएथें, ‘यसपालीबाटै शुरु गर्नेकी ?’ 
आखिर केही समयपछि उसको यो चाहाना पूरा हुनेवाला थियो । यो चाहाना उसको मात्र थिएन, मेरो पनि थियो । उसको खुशीमा मेरो पनि खुशी मिसिएको थियो, एकअर्कालाई प्रेम गरिरहेका थियौं जो । साँच्चै दिव्याले मेरो घर उज्यालो बनाउनेवाला थिइ । यो संकेत पाँच दिनमै देखियो । जस्तो नाम, उस्तै व्यवहार ! 
तर, आज बिहानैदेखि किन मौन छे दिव्या । किन वर्षातको बादलजस्तो धुम्म परेर बसेकी छ ? कुनचाँही कुरा चित्त बुझेन उसलाई ? आखिर भयो के ?
‘बाबाममीले भोली नै फर्कि भन्स्याछ’, बल्ल उसले रहस्य खोली, ‘निपर्सी काठमाण्डौं जाने रे !’ 
‘ठीकै छ नि त । कामै त्यस्तो अर्जेन्ट भएसी भोली नै जाम ।’
‘सायद मलाई यो घरमा धेरै बस्न भाग्यमै लेख्या छै….!
बाँकी बोल्दै थिई उसको ओठमा चोर औंला राखिदिएँ, ‘धत् लाटी ! के भन्या त्यस्तो ? भाग्य अरुले हैन आफैले लेख्नुपर्छ भन्ने थाहा छैन ? तिमी र म नै हाम्रो सम्बन्धको विधाता हो भने कसले रोक्छ हामीलाई ? रोक्दैन कोही भगवान–सगवानले ।’
भोलीपल्ट बिहानै हामी नेपालगंजतर्फ लाग्यौं । विदाको अवधिभर घर बस्ने भनेर आएको मान्छे केही दिनमा फर्किनुप¥यो । दिव्यालाई एक्लै पठाउने कुरा पनि भएन । 
आमा र बहिनीले विदाई गरे । दिव्याले आमालाई ढोगि । बहिनीलाई अंगालो मारी । मैलेपनि आमालाई ढोग गरे । आमालाई ढोग गर्दै गर्दा बाको याद आयो । मनमा केही छुटेजस्तो, केही हराएजस्तो महसुस भयो । त्यतिबेलै बहिनीले दर्शन गरि । उसको खुट्टा ढोग्न निहुँरिदैथे, मेरो कानैमा फुसफुसाई, ‘दाई ! दिव्या दिदीलाई भाउजु बनाउन मिल्दैन ?’ 
म हाँसे मात्र । विचरा ! बहिनीले सोचेको कुरा मैले यो भन्दा दुई वर्षअघि नै सोचिसकेको उसलाई के थाहा ? यसपालीको घर बसाइमा प्रसंग मिलेसम्म दिव्यासँगको प्रेम सम्बन्धका विषयमा आमा र बहिनीलाई भन्ने मन थ्यो । तर, त्यस्तो मौका नै आएन । मेरो जीवनको एउटा गम्भीर रहस्य लुकाएर शहर फर्किदै थिएँ म । 
घरभन्दा केही तल आएर दिव्या पछि फर्किई । आँगनको डिलमा उभ्भेका आमा र बहिनीको आँखाले हामीले छोड्दै गरेको बाटो पछ्याइरहेका थिए । 
दिव्याले हात हल्लाई । प्रतिउत्तरमा बहिनीले पनि । 
सलले आँखा पुच्छदै थिई दिव्या । घिक्क ! गरेको मसिनो आवाज सुनियो । 
मसँग बोल्नलाई शब्दै थिएन ।

                                                       …..
शब्द पनि आओस कहाँबाट ? मन भक्कानिएर बोल्नै सक्ने अवस्थामा छुइन । जमिन भासिएको झैं लाग्छ । सिंगो आकाश मेरै थाप्लोमा खसैझैं लाग्छ । संसारकै सबभन्दा ठुलो म्याग्न्च्यिुडको भूकम्पको कम्पन महशुस भएको छ मनमा । कति निष्ठूर छ यो समय ? कति निष्ठुरी छन् भगवान ? जीवनमा यस्तो होला भनेर सोचिएकै थिएन । कति सपना थिए जिन्दगीमा । ती सब अधुरा रहे । सब व्यर्थ भए । खुशी यसरी लुटिएला भनेर कहिल्यै सोचिएन ।
‘जीवन ! समयको कुनै भर हुँदैन । भोली तिमी नहुन सक्छौ, म नहुन सक्छु’, दिव्या भन्थि, ‘त्यसैले तिमी मलाई त्यति माया नगर, केही गरि म तिम्रो भइन भने बाँच्न नसकौला !’
किन लुकाई यत्रो रहस्य ? किन भ्रममा बाँच्न सिकाई मलाई ? आज मलाई बाँच्नै नसक्ने बनाएर किन एक्लै गई ऊ । के उसले प्रेमको नाममा मसँग नाटक गरेकी थिई ? के उसको मप्रतिको फिलिङस सबै झुटो थियो ? कुनै दिन भेट भए सोध्ने मन छ । 
गाउँबाट फोन गरेर आमा मेरो भन्दा पहिले दिव्याको खबर सोध्नुहुन्छ, ‘कस्तो छे ? के गर्दैछे ? यस्तै यस्तै ।’ 
दुई÷चार दिनको सामीप्यताले आमा र बहिनीको मन जितेकी थिई । मसँगको सामीप्यता झन झण्डै दुई वर्षको थियो । मेरो मन नजित्ने कुरै भएन । तर, उभित्र यति गहिरो रहस्य लुकेको छ भनेर मैले कहिल्यै भेउ पाउन सकिन । कहिल्यै शंका गरिन उसको प्रेममा । शंका गर्ने ठाउँ नै कहाँ दिएकी थिई र ? सम्पूर्ण रुपले समर्पित भईसकेकी थिई दिव्या ।
म के भनेर जवाफ दिउँ आमालाई ? म कसरी भनुँ दिव्यालाई मैले प्रेम गरेको थिएँ भनेर । अनि कसरी भनुँ ऊ अब जीवनभर मेरो हुँदिन भनेर मलाई नै छोडेर गई भनेर ? कसरी भनुँ काठमाण्डौं गएको पर्सिपल्ट मलाई अन्तिम मेसेज गरेर ऊ अस्टे«लिया उडी भनेर ? कसरी भनुँ ऊ आफूमात्र होइन मेरा हज्जार सपना र विश्वास समेत उडाएर गई भनेर ? म कसरी भनुँ आमालाई दिव्याले एनआरएन केटाको सिन्दुर पहिरिई भनेर ? कसरी भनूँ मलाई मर्नु न बाँच्नुको दोसाँधमा छोडीदिई भनेर ? 
किन उसले एकपटक पनि मलाई यो रहस्य बताइन भनेर म कसलाई सोधौं ? कसलाई सोधौं म, उसले मलाई किन यत्रो धोका दिई भनेर ? किन एकपटक पनि सोचिन उसले म ऊबिना बाँच्न सक्दिन भनेर ? के अब उसले मसँग बिताएका एक÷एक पल फिर्ता लिन सक्छे ? माकसम म त सक्दिन । मलाई लाग्छ, ऊ पनि सक्दिन होला । यदि, सक्छे भने चाँडै आओस र लैजाओस उसले मलाई दिएका हरेक चिजहरु । मसँग बिताएका हरेक पलहरु । मलाई सुम्पेका प्रेमका हरेक नमुनाहरु । लैजाओस उसको र मेरो नामको प्लस चिन्ह गरेका सिसाजडित गिफ्टहरु । र, लैजाओस सिंगै यो यादको संग्रह ! यो आँशुको महासागर !
लेखकलाई फेसबुक र ट्वीटरमा भेट्न सकिन्छ । 
ईमेल : fmradio.kshitij@gmail.com

News &Views
प्रतिक्रिया दिनुहोस्: