वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

सानोश्रीतारातालमा दुर्लभ सालक फेला, सुरक्षित उद्दार गरी निकुञ्जमा छोडियो

        भावुक योगी   |   प्रकाशित मितिः बिहिबार, पुस ७, २०७३     ::: 3646 पटक पढिएको   |  

सानोश्री,बर्दिया । 
बर्दियाको सानोश्रीताराताल नगरपालिका ७ गंगावस्ती गाउँमा संरक्षित वन्यजन्तुमा सुचिकृत सालक फेला परेको छ । सालक देखेपछि स्थानीयले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएका थिए ।
सालकलाई सुरक्षित उद्दार गरी बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाएपछी निकुञ्जको टोलीले सालकलाई निकुञ्ज भित्र छाडीएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।
नेपाल सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रे सँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचीमा राखेको छ ।
वन तथा भूसंरक्षण मन्त्रालयको सर्वेक्षणमा पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ । नेपालमा कालो सालक र तामे सालक मात्र पाइन्छ । सालकलाई संकटापन्न सूचीमा राखेपनि अहिले सम्म सालकको यकिन संख्याको तथ्याङ्क छैन ।
सालक विषेशगरी भारत, चीन लगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्ण भूभागमा पाइन्छ । सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु खाएर नियन्त्रण गर्दछ । सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ ।
सालक विश्वमै बढी चोरीशिकार हुने प्रजाती मध्येको एक हो । सालकको अवैध रुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवाना सहित दण्ड सजाय हुने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्