वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

विकासप्रेमी युवा समुहले संचालन गर्‍यो स्वास्थ्य शिविर

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६ ।    

बर्दिया- ठाकुरबाबा नगरपालिका क्षेत्रका युवाहरु हिजोआज सामाजिक तथा विकास कार्यमा निकै सक्रिय भएर लागेका छन् । समाजसेवा तथा विकास कार्यमा युवाहरु गोलवद्ध भएर अघि बढनका लागि युवाहरुले जिल्ला एवं नगरस्तरमा विकास प्रेमी युवा समूह गठन गरेका छन् ।
यही समूहमार्फत यहाँका युवाहरुले विभिन्न समाजसेवाका कामहरु गर्दै आएका छन् । युवाहरुले रक्तदान कार्यक्रम, नगर सरसफाइ, लागूपदार्थ विरुद्ध सचेतना कार्यक्रम, स्वास्थ्य शिविरलगाएतका सामाजिक कार्यहरु गर्दै आएको विकास प्रेमी युवा समूहका जिल्ला अध्यक्ष गोपाल निरौलाले बताए ।
सामाजिक कार्य अन्र्तगत शनिबार यहाँको युवा समूहले ठाकुरबाबा नगरपालिकाको भुरिगाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्यो । ग्रामिण भेगका जनतालाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य शिविर संचालन गरिएको युवा समूहले जनाएको छ । शिविरमा ५ सय बढीले विशेषज्ञ स्वास्थ्य सेवा पाएको युवासमूहका नारायण गौतमले जानकारी दिए ।
हाड जोर्नीको समस्याबाट पिडित ठाकुरबाबा नगरपालिका २ का रामदैनु थारुले शिविरमा टिकापुर अस्पतालका हाड जोर्नी विशेषज्ञ डा. लक्ष्मण सिग्देलसँग स्वास्थ्य जाँच गराए । डाक्टरले जाँच गरेर औषधी दिएपछि आफु निकै खुशी भएको थारुले प्रतिक्रिया दिए । ‘ धेरैदिन देखि हात खट्टा दुख्ने समस्या थियो । टाढा गएर जाँच गर्ने अवस्था थिएन । घरमै शिविर आयो । रुपौँया पनि खर्च भएन । जाँच गराउन पाइयो । खुशी छु,’ शिविरमा भेटिएका रामदैनु थारुले खुशी व्यक्त गरे ।
जिल्ला अस्पताल बर्दियामा कार्यरत जनरल सर्जन विजय उपाध्याय पनि शिविरमा थिए । उनले पायल्स, फिस्टुलाजस्ता रोगको जाँच तथा परामर्श दिएका थिए । शिविरमा विरामीहरुलाई औषधी पनि वितरण गरिएको थियो । शिविरमा भेरी प्रादेशिक अस्पताल नेपालगंजका कन्सल्टेन्ट फिजिशियन डा. अल्तवान राहीले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा पत्नीको स्वास्थ्य जाँच गरेका तप्त सावदले निशुल्क स्वास्थ्य जाँच र औषधी पाउँदा निकै खुशी भएको बताए । खुशी हुँदै उनले भने, ‘ विशेषज्ञ सेवाका लागि यहाँबाट कोहपुर मेडिकल कलेज वा नेपालगंज नै जानु पथ्र्यो । गाउँमै विशेषज्ञ सेवा पाइयो । खुशी लागेको छ । ’ गाउँमै स्वास्थ्य विशेषज्ञ सेवा पाएपछि उनी जस्तै शिविरमा सयौँ स्थानियबासी निकै खुशी देखिन्थे ।

जिल्ला अस्पताल बर्दियाका मेडिकल अफिसर डा. मनोजकुमार तिमिल्सेनाले पनि विरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा अशिम पोलिक्लिनिक प्रा.लि र शुलभ मेडिकलले प्राविधिक सहयोग गरेका थिए । शिविरमा स्वयमसेवकका रुपमा जुनियर रेडक्रस सर्कल त्रिभुवन मावि भुरिगाउँका विद्यार्थीहरु सहभागी भएका थिए । शिविरमा सबै भन्दा बढी हाड जोर्नी तथा नशा सम्बन्धी विरामीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा धेरैले आँखा जाँच पनि गराएका थिए ।
सर्बसाधारण जनताहरुले गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँन भन्ने उदेश्यका साथ स्वास्थ्य शिविर आयोजना गरिएको लायन्स क्लब अफ बर्दियाका अध्यक्ष गोपाल निरौलाले बताए । ‘गाउँघरका मानिसलाई विशेषज्ञ सेवा लिन धेरै खर्च गरेर टाँढा जानु पर्ने बाध्यता छ । पैसा अभावमा लोमो समयसम्म रोग लुकाएर बस्ने गर्छन । गाउँघरमै स्वास्थ्य विशेषज्ञ ल्याएर जाँच गराउँदा सबैको भलो हुने देखेर शिविर संचालन गरेका हौँ,’ क्लबका अध्यक्ष निरौलाले भने ।
शिविरमा स्वास्थ्य परिक्षण गरि सामान्य रोग छ भने शिविरमै औषधी दिने र रोग जटिल प्रकृती भेटिएमा अन्यत्र रेफर गर्ने गरि शिविर संचालन गरिएको आयोजकले जनाएको छ । विशेषज्ञ सेवा गाउँमै पाउँदा आफुहरुलाई निकै सजिलो भएको स्थानियबासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...